Goraksha

National Daily

तोकेको क्षेत्रमा काम गर्न आग्रह

गोरक्ष समाचारदाता
देउखुरी, १६ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा काम गर्ने सहयोगी निकायले मन्त्रालयले निर्धारण गरेको क्षेत्रमा काम गर्नु पर्ने बताएका छन् । प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि प्रदेश सरकारले तय गरेको रोडम्यापमा रहेर मन्त्रालयले भनेको क्षेत्रमा सहयोगी निकायले काम गर्नु पर्ने बताएका हुन् ।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका कर्मचारी बिचको छलफलमा मन्त्री खनालले सहयोगी निकायका कार्यक्रम केही जिल्लामा मात्रै केन्द्रित रहेको भन्दै अब मन्त्रालयले भनेको क्षेत्रमा पु¥याउनु पर्ने बताए । मन्त्री खनालले परिणाम देखिने गरी काम गर्न स्वास्थ्य निर्देशनालयका कर्मचारीलाई निर्देशन दिए । सबैसँग समन्वय गर्ने प्रणाली स्थापित गरेर परिणाम देखिने गरी काम गर्न आवश्यक रहेको समेत बताए ।

काम गर्दा आउने समस्या समाधानका लागि आफूले नीतिगत रूपमा सहजीकरण गर्ने भन्दै स्वास्थ्य मन्त्री खनालले मन्त्रालय, निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्रलगायतका निकायका कर्मचारी बिच पनि समन्वय हुन आवश्यक रहेको बताएका थिए । स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले मन्त्रालय अन्तर्गतका निकाय बिच एक आपसमा समन्वय हुन नसकेको देखिएकाले त्यसलाई सुधार्न आवश्यक रहेको बताए । स्वास्थ्य निर्देशक डा. विनोद गिरीले निर्देशनालयले गरेका कामको बारेमा जानकारी गराएका थिए ।