Goraksha

National Daily

पर्यटक लोभ्याउने स्यार्पुताल

राजु लामिछाने
रुकुम पश्चिम, १६ असोज । असोज ११ गतेदेखि रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ मा ‘स्यार्पु, पर्यटन तथा व्यापार महोत्सव’ चलिरहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको स्यार्पुतालको छेउमै महोत्सव गरिनुको मुख्य कारण यही ‘स्यार्पुताल’ हो ।

यतिबेला यो ताल टम्म भरिएको छ । सिमैछरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई यतिबेला थप सुन्दर बनाएको छ । स्पार्पुगाउँ र दहगाउँको काखमा रहेको सुन्दर यो तालले यहाँको शोभा बढाएको छ । बाँफीकोट गाउँपालिकाको वडा नम्बर ३ र ५ मा फैलिएको यो ताल विशेष गरी बर्खा याममा हेर्नलायक हुन्छ । २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पुतालको आकार भने वर्षा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा वर्षामा तालको आकार झन्डै दोब्बर बढी हुन्छ ।

असार पहिलो साताबाट भरिन सुरु गरेको ताल साउनको मध्यतिर आइपुग्दा पूरा भरिन्छ । भरिभराउ ताल भदौदेखि असोज महिनाभरि अवलोकनका लागि उपयुक्त मानिने पर्यटन प्रवर्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव गोपाल केसी बताउँछन् । उनका अनुसार तालको आकार विस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल रमणीय देखिन्छ । बजारको कोलाहल, हिलो, धुलो र धुवाँको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ उपयुक्त छ ।

तालको सुन्दरता अवलोकन गरेर दुःखलाई भुलाउन सकिन्छ भने आफैले बोटिङ गरेर मजा लिन सकिन्छ । परम्परागत काठका डुङ्गा विस्थापित गरेर ताल अवलोकनका लागि आउनेका लागि आधुनिक डुङ्गाको व्यवस्था छ । धितमरुञ्जेल बोटिङको मजा लिन सकिन्छ । विशेष गरी तालबाट काठका डुङ्गा विस्थापित गरेर आधुनिक डुङ्गा राखिनु तथा खान र बस्नका लागि होमस्टेहरू सञ्चालन गरिनुले यहाँ घुम्न आउँनेको सङ्ख्यामा वृद्धि भएको डुङ्गा सञ्चालक बताउँछन् । मान्छे छुट्टी मनाउनका लागि समेत आउने गरेका छन् । ताल हेर्न आएकाहरू डुङ्गा नचढी फर्किँदैनन् ।

पहाडको टुप्पोबाट बगेर आउने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको पनि स्थानीयको विश्वास छ । जडिबुटी सहितको पानी तालमा मिसिने स्थानीय बताउँछन् । आवश्यक प्रचार तथा ठोस योजनाको अभावमा अहिले पनि धेरै मानिस स्यार्पुतालका बारेमा अनभिज्ञ छन् । पर्यटनको प्रचुर सम्भावना भएपनि यहाँको पर्यटन प्रवर्धनमा सरोकारवाला मौन बस्दा स्यार्पुताल गुमनाम छ ।

पर्यटनको क्षेत्रमा काम गर्ने पर्यटन प्रवर्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव गोपाल केसी स्यार्पुको पर्यटन प्रवर्धनका गुरुयोजना निर्माण, स्यार्पुतालका लागि आएको बजेटलाई पारदर्शी बनाउने र उक्त बजेटलाई उत्पादनमूलक कार्यक्रममा खर्च गर्नु पर्ने बताउँछन् । गुरुयोजना निर्माण गरेर विकास निर्माण गर्न सकेमा स्यार्पुको पर्यटन प्रवर्धनमा टेवा पुग्ने उनी बताउँछन् ।
अहिले गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमको व्यवस्थापनमा महोत्सव सञ्चालन भएको छ । महोत्सवसँगै स्यार्पुको अवलोकनका लागि अहिले दैनिक सयौँ पर्यटक आउने गरेको प्रतिष्ठानका अध्यक्ष तुल देवकोटा बताउँछन् ।