शंख जस्तै बज्ने ढुङ्गा !
शिवराज खनाल
देउखुरी, १५ असोज । ढुङ्गा पनि शंख जस्तै बज्छभन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर राजपुर गाउपालिका– १ सुकौली नाकामा रहेको ढुङ्गा बजाउने र सुन्नेहरूको यतिबेला चहलपहल बढ्न थालेको छ ।
ढुङ्गाको आकृति शंख जस्तै देखिने र बज्ने भएका कारण स्थानीय उक्त ढुङ्गालाई शंखे ढुङ्गा भन्ने गरेका छन् । ठुलो ढुङ्गा भएको शंख जस्तै बज्ने भएका कारण पछिल्लो समय उक्त ढुङ्गालाई हेर्ने मानिसहरूको चहलपहल समेत बढ्न थालेको छ । लमही बजारबाट करिब २५ किलोमिटर दक्षिण नेपाल–भारत सिमा नाकाका रूपमा रहेको सुकौली नाकामा रहेको उक्त ढुङ्गालाई संरक्षण गरेर राखिएको छ ।
सुकौली नाकाका स्थानीय ओमबहादुर सुनारका अनुसार पहिले उक्त ढुङ्गामा सोही गाउँका एक व्यक्तिले दैनिक पूजापाठ गरी बजाउने गर्दै आएका थिए । उनको मृत्युु पश्चात अलपत्र अवस्थामा रहेको बताउँछन । उनका अनुसार विशेष गरेर नव दुर्गा र चैते दशँैमा गाउँलेहरूले उक्त ढुङ्गामा पुजापाठ गर्दै आएका छन् ।
स्थानीयका अनुसार उक्त ढुङ्गालाई लामो समयदेखि स्थानीय जैया विश्वकर्माले पूजापाठ गर्दै आएका थिए । सुकौली नाका क्षेत्रमा रहेको उक्त ढुङ्गालाई स्थानीयले धार्मिक महत्वसँग जोडर पूजापाठ गर्ने गरेको राजपुर गाउपालिका अध्यक्ष शरदकुमार बुढाथोकी बताउँछन् ।
राजपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष सूर्यप्रसाद चौधरी शंखे ढुङ्गाको संरक्षणसँगै प्रचार–प्रसारमा लागेको समेत बताउँछन् । सिमा नाका क्षेत्रमा रहेको उक्त ढुङ्गाको धार्मिक महत्व पनि रहेको र प्रचार–प्रसार गर्न सके भारतीय हिन्दु धर्मालम्वीहरूलाई उक्त स्थानसम्म ल्याउन सकिने बताउँछन् ।
