नारायणप्रसाद श्रेष्ठ
‘मन सफा त कठौतीमा गङ्गा’ यो उखान त्यसै आएको होइन । यसभित्र गहिरो रहस्य लुकेको छ । जीवनको गोरेटोमा आउने उतारचढाव, अप्ठेरो–सप्ठेरो, लाभ, हानी, राम्रो, नराम्रो गतिलाई जीवन र जगतसँग एकाकार गर्दै अघि बढ्ने क्रममा मनमा उठ्ने विविध विचार शृङ्खलालाई अनुभूतिको पानामा सजाउँदै आफूले आफैलाई कसरी निष्कर्षमा पु¥याउन सकिन्छ ?
धैर्य र लगनशील भइ व्यावहारिक जीवनमा कसरी सफलता हासिल गर्न सकिन्छ ? त्यसको समाधान गर्ने माध्यम के बन्न सक्छ ? यिनै अवस्था र परिस्थितिका कारण यो उखान बनेको हो । यसको उद्देश्य, विचार र कर्म मानवीय मूल्य र मान्यतासँग गाँसिँदै प्रत्यक्ष मनसँग जोडिएको छ ।
जहाँ स्वच्छ र पवित्र विचार प्रवाहित भएको हुन्छ । त्यहाँको वातावरण र मानवीय आचरण सफा र शुद्ध भएको पाइन्छ भन्ने साश्वत सत्यसँग जोडिएको छ । मन सफा छ भने उसको कर्म र व्यवहार पवित्र हुनुका साथै सामाजिक पर्यावरण समेत आदर्शउन्मुख गतिमा निरन्तर अगाडि बढेको हुन्छ ।
परिस्थिति जतिसुकै नाजुक भए पनि यदि मन सफा छ भने मानिस सफलताको चोटीमा पुग्न सक्षम हुन्छ । मानव अन्तरनिहित सिर्जनाका भावहरु सामाजिक आदर्श भएर गतिशील हुने वातावरण बन्न सक्छ । तसर्थ, अन्तरनिहित मानव शुद्धतालाई समयको गतिसँगै मिहिनेत र पसिनाको माध्यम प्रस्तुत गर्दै अगाडि बढ्ने सङ्कल्प गर्न सक्नु पर्दछ । मनमा उब्जने हजारौँ चिन्तनलाई छटनी गर्दै सबैप्रति समान र आदर भाव प्रकट गर्न सक्नु पर्दछ । समय सधैँ एकैनासको हुँदैन । कहिले कठिन कहिले सहज र कहिले मध्यम, यो प्रकृतिको नियम हो । जसरी बिहान, दिउँसो र रातिको अवस्था हामीले भोग्दै आएका छौँ, त्यसरी नै समय पनि परिवर्तन हुँदै अघि बढेको हुन्छ ।
त्यसरी नै जीवनको गति पनि सरल, सामान्य, कठिन र झन कठिन भएर पनि गुज्रनु पर्ने स्थिति आउने हुँदा यी सबैको निदान गर्न मनलाई शुद्ध र सफा गर्न सक्नु नै बुद्धिमानी ठहरिन्छ । मन सफा छ भने सर्वत्र सफा र शुद्ध हुन सक्छ । यो प्रकृतिको नियम हो । जुन सत्यमा आधारित छ । भनिन्छ– मानिसको सोच चिन्तन, व्यवहार र कर्म तब सक्षम बन्न सक्छ जब उसले आफूलाई कठिन अवस्थामा धैर्य र शाहसी बनी कर्म क्षेत्रमा सफलता चुम्ने अवस्थामा पुग्छ । जब मानिस बलियो र सिर्जनशील हुन्छ तब उसले आफूलाई कसरी सरल बनाउने, त्यसतर्फ उसको ध्यान आकर्षण भइ सजिलो परिस्थिति सिर्जना गर्न पुग्दछ ।
जब परिस्थिति सहज र सजिलो बन्न पुग्छ, त्यसबेला झरीमा च्याउ उम्रेझैँ झोले र कमजोर मानिसको बाहुल्यता हुन पुग्छ र त्यसबेला त्यस्ता कमजोर मनस्थिति भएकाको लागि ५०० मिटर अग्लो पहाड पनि हिमालझैँ उच्चमान हुन पुग्दछ । ऊ यति कमजोर र निरह हुन्छ कि उसले न त दिन न त रात नै छुट्याउन सक्ने अवस्था हुन्छ । ऊ केवल अरुको इसारामा चल्ने रोबर्टझै बन्न पुग्दछ । विचार शून्य भइ आफूले आफैलाई म को हुँ भनेर पहिचान गर्न सक्दैन ।
तसर्थ, जीवनलाई यो म र मेरो जीवन विलासी मात्रको लागि होइन, सङ्घर्ष र कठिन परिस्थितिको मुकाबिला गर्न आएको सृष्टिको रचना हो भन्ने ठानी मनलाई पवित्र गङ्गा सरी सलल बगाउन सक्ने परिस्थितिमा आफूलाई लैजाने दृढता गर्न सक्नु पर्दछ । तब मात्र जीवनको आधार तथा समाजको मूल्य मान्यतामा आदर्श प्रतिविम्ब हुने अवस्था सिर्जना हुन पुग्दछ ।
वर्तमान अवस्थालाई हेर्ने हो भने मानिसको दौड शुद्ध र पवित्र विचारमा केन्द्रित भएर होइन, ऊभन्दा म के कम, उसले धेरै लुटिसक्यो मैले लुट्न पाइनँ, त्यो आलिसान भवनमा ऐसआराम साथ जीवन बिताइरहेछ, म यस्तो अवस्थामा भनी आफू र आफ्नो नैतिक धरातललाई बिर्सी तछाडमछाड गर्दै दौडिरहेको स्थिति छ । समाज हाम्रो कर्मको कारण कसरी कुनै गतिमा दौडिरहेको छ, त्यसको प्रवाह नगरी केवल आफ्नो निहित स्वार्थको लागि व्यक्ति रस्साकस्सी गरिरहेको छ ।
म मानव हुँ, मैले मानवतालाई बिर्सनु हुँदैन भनी मनलाई निश्चित र दृढ बनाइ शुभभाव जागृत गर्नुको साटो सामाजिक कर्तव्य बोक्दै समाजका अगुवादेखि नेता र नेतृत्व तहसमेत आफै भुँडी भर्नेतर्फ केन्द्रित भइरहेको अवस्था छ । राष्ट्र रहे राष्ट्रियता, धर्म, संस्कृति र संस्कार रहे हामी र हाम्रो भविष्य, नीति र नैतिकता रहे राष्ट्रिय स्वाभिमान, म र मेरो सदासयता र उदारता मेरो समाज र राष्ट्रको आदर्शता हो । सुख–दुःख मानिस आफूले आफैलाई आफ्नो स्वार्थको लागि बनाएको भौतिक मान्यता हुन् भन्ने कुरालाई चट्क्कै बिर्सेर मानवीय चरित्र अहिले केवल परिवारवाद, व्यक्तिवाद र स्वार्थवादतर्फ आकर्षित भइरहेको छ ।
सत्य खोज्न आफै त्यसमा दौड्न जान्नु पर्दछ । भनिएला यो कुरा लेख्ने र भन्ने गरिएका मात्र हुन्, यसमा वास्तविकता छैन । चित्त नबुझाउनु र अरुको आलोचना गर्न र निन्दा गर्न जति सजिलो हुन्छ त्यति अरुको दृष्टिकोणबाट आफूलाई बुझ्न सजिलो हुँदैन । असल कुराभन्दा खोट देखाउन धेरै सजिलो हुन्छ । त्यो पनि भन्ने गरिन्छ तर के बिर्सनु हुँदैन भने विचारले जे देखिन्छ त्यो गर्न जति सजिलो हुन्छ अरुको चाहना र इच्छा बुझ्न त्यति सजिलो हुँदैन ।
त्यसैले अरुले गरेको कामको भन्दा पहिले आफूले गरेको काम र व्यवहार के राम्रा थिए वा थिएनन् ? त्यो फर्केर हेर्न सक्नु पर्दछ । यो कुरा पनि भन्ने गरिन्छ– वास्तवमा समाज र राष्ट्रमा देखिएका यस्ता अमानवीय र आदरर्शी चिन्तन बोकी स्वार्थ केन्द्रित नीति र नेतृत्वले देखिएको चरित्रप्रति सजग गर्ने गराउँछ । आँैला ठड्याउनु सबैको कर्तव्य र दायित्व मानिन्छ । झण्डै ९०, ९५ प्रतिशत मानिस आफूले गरेको काम अरुको दृष्टिमा गल्ती भए पनि ऊ आफूलाई दोषी ठान्दैन । कसैलाई निन्दा, आलोचना गर्नु हुँदैन भनी जान्दाजान्दै पनि उसको आत्मसम्मानमा ठेस पुग्ने गरी कुरा काट्न थाल्दछन् ।
आफूलाई रक्षात्मक अवस्थामा धकेल्दै स्वार्थ पूर्तितिर तल्लीन भएका पनि हुन्छन् । अधिकार प्राप्त छ भन्दैमा जे मन लाग्यो त्यही गर्ने, विगत, वर्तमान र भविष्य कुन परिवेशमा कसरी अघि बढेको छ ? स्वाभिमान र प्रतिष्ठा कुन किसिमले मुखारित भइरहेको छ ? त्यसको वास्ता नगरी मनपरीतन्त्र गरिरहेको पनि देखिन्छ । वास्तवमा यस्ता प्रकृति मौलाउनु भनेको आफू समाज र राष्ट्रलाई नै दाउँमा राखी स्वार्थ पूर्ति गर्नु हो । यस्ता स्वार्थ प्रवृत्ति भएका चाहे जोसुकै होस्, ती सबै पानी माथि ओभानो बन्न सके छद्मभेषी तत्व भएकोले यिनीहरुको वंशै नाश गर्न सधैँ लागिपर्नु पर्ने हुन्छ ।
जसरी व्यवहारले परिस्थितिको घडीले समयको तथा पृथ्वीले सहनशीलता र वृक्षले परोपकारीको भाव जागृत गरिरहेको हुन्छ, त्यस्तै समुद्रले विशाल मनको सूर्यले नियमितताको, कुकुरले वफादारिता र दियोको (बत्ती) ले स्वयम् जलेर अरुको लागि उज्यालो देखाइरहेको हुन्छ, त्यसरी नै प्रत्यक्ष इमानदार नेतृत्वले आफूलाई यसैगरी प्रदर्शन गर्न सक्नु पर्दछ । कुरा र व्यवहारमा फरक देखाउनु भनेको स्वार्थमा अल्झिनु हो । जुन कुरा वर्तमानमा देखिँदै गरेको छ ।
तसर्थ, अरुबाट होइन आफूले आफैलाई परिवर्तन गरी परिवर्तनको सम्वाहक म आफै बन्छु भनी प्रतीक्षा गर्न सक्नु पर्दछ । मनलाई सफा गतिमा गतिशील बनाउने क्षमता राख्नु पर्दछ । त्यसैले समय र परिस्थितिको आँकलन गर्ने अभ्यास गर्न सिकौँ । एक दिन यस्तो समय पनि आउन सक्छ जुनबेला आफ्नो कर्मले आफैलाई झन कठिन अवस्था सिर्जना गरी जीवनको महत्व सदाको लागि बिर्सनु पर्ने अवस्था आउन सक्छ ।
मानिसको सोच र चिन्तन क्षण–क्षणमा परिवर्तन हुने जुन सङ्कल्प मानिस स्वयम्ले गरिरहेको छ । जसको मूल कारण उसभित्रको स्वार्थले उसलाई सधैँ बन्धक बनाएको परिस्थिति हो । यसले दूराचार, पापचार, व्यभिचार, भ्रष्टाचारप्रति मानिसको चिन्तन बढाउँछ । अहिलेको वर्तमान हेर्ने हो भने यस्तै प्रवृत्तिको नीति र नेतृत्व जताततै फिजिँदै गरेको छ । अहिले मानिस (नेता) जे बोल्छ त्यो गर्दैन, जे गर्दैन भन्छ त्यही नीति बनाउँछ । पीठ पछाडि छुरा हान्ने मेरो÷हाम्रो प्रवृत्ति होइन भनी जसले आफूलाई इमानदार हुँ भन्छ वास्तवमा उनै समाज र राष्ट्रको कलङ्क बन्ने प्रवृत्ति जागृत गर्दै गरेको भन्छ, त्यही स्थिति देखिन्छ ।
मैले के बोल्ने, के गरेँ त्यतातिर नेता र नेतृत्वको ध्यान पटक्कै गएको छैन । केवल निहित स्वार्थ र अहङ्कार प्रदर्शन गरी घमण्डले परिपोषित विचार प्रदर्शन गरी म स्वयम् मालिक र सर्वज्ञ हुँ भन्ने अहङ्कार देखाउँदै गरेको स्थिति छ । पीठ पछाडि तथानाम गाली गरी उसको चरित्रमाथि धावा बोली उ त नैतिक पतन हो भनी भन्न नहिच्किचाउने जब उसको प्रत्यक्ष भेट हुन्छ, त्यसपछि उसप्रतिको नरमपन र देखावटी मस्ती प्रदर्शन गर्न पछि नपरेको पनि अवस्था छ ।
मैले के बोलेँ ? के बोल्दै छु ? त्यतातिर ध्यान नदिइ आफ्नो नैतिक धरातललाई प्रदर्शन गर्न अहिले नेता, नेतृत्व तह तछाडमछाड गरी आफूले आफैलाई नङ्ग्याइरहेको अवस्था छ । राष्ट्र र राष्ट्रियताभन्दा व्यक्तिवाद, परिवारवाद, नातागोतावाद, पार्टीवाद यस्तो प्रवृत्ति नेता र नेतृत्वमा देखापरेको छ । जुन कुरा राष्ट्र र राष्ट्रियताको लागि खतरा हो ।