व्यावसायिक हकहितसँगै आर्थिक अवस्था सुधार : उम्मेदवार जोशी
दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि उम्मेदवार मतदाता भेट्न घरदैलोमा छन् । व्यावसायिक एजेण्डा बोकेर मतदाता रिझाउने गरेका छन् । असोेज १३ मा हुने दाङ उवासङ्घको नयाँ नेतृत्व चयनको लागि दुईवटा व्यवसायी समूह चुनावी मैदानमा छन् । आफूले जितेपछि गर्ने कामको प्रतिबद्धतासहित मतदाता भेट्ने गरेको उम्मेदवारले बताउने गरेका छन् ।
निर्वाचनका लागि ३ हजार ३ सय ५८ जना मतदाता छन् । निर्वाचनमा २ प्यानल छन् । बसन्त जोशी र रामप्रसाद पोख्रेलले छुट्टा–छुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । संयुक्त व्यावसायिक प्यानलको नेतृत्व जोशीले गरेका छन् भने पोख्रेलले साझा समावेशी व्यावासायिक प्यानलको नेतृत्व गरेका छन् । उम्मेदवार जोशीसँग गरिएको कुराकानीको सार संक्षेप ।
चुनावी अभियान कसरी चलिरहेको छ ?
पक्कै पनि दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि असोज १३ गते निर्वाचन हुँदैछ । म अध्यक्ष पदको उम्मेदवारका रूपमा अहिले चुनावी मैदानमा होमिएको छु । असोज १३ गतेको मतलाई कसरी आफू केन्द्रित गर्ने भन्ने लक्ष्यमा साथ हाम्रो समूह चुनावी अभियानमा केन्द्रित छ । यस अभियान अन्तर्गत म लगाए हाम्रो संयुक्त व्यावसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय बनिरहेका छौँ ।
मतदाताको अपेक्षा, उहाँहरूले भोग्नु परेका चुनौती समस्याका बारेमा जानकारी लिने र व्यावसायिक हकहितका लागि लड्ने प्रण गर्दै उहाँहरूबाट मत माग्ने काम गरिरहेका छौँ । मतदाताबाट पनि राम्रो रेस्पोन्स पाइरहेका छौँ । यसैगरी व्यवसायिक अग्रज व्यक्तित्वसँगको भेटघाट र उहाँहरूबाट सरसल्लाह लिएर अगाडि बढ्ने रणनीति पनि बनाइरहेका छौँ ।
तपाईको उम्मेदवारी किन ?
लामो समयदेखि व्यावसायिक क्षेत्रमा आवद्ध रहँदै गर्दा यस क्षेत्रमा देखिँदै आएका चुनौतीदेखि म बर्षौँदेखि जानकार छु । व्यावसायिक क्षेत्रको उन्नयनका लागि र व्यवसायीहरूको हकहित प्राप्तिका लागि मेरो उम्मेदवारी हो । २०७१ सालदेखि उद्योग वाणिज्य सङ्घमा सदस्यका रूपमा भित्रिएको म उद्योग वाणिज्य सङ्घको उद्योग उपाध्यक्षमा रहेर काम पनि गरिसकेको व्यक्ति भएकाले अब नेतृत्व तहमा रहेर व्यावसायिक हकहितका लागि अभियानको थालनी गर्ने योजना बनाएको छु ।
आर्थिक मन्दीले थलिएका व्यावसायिका हकमा कस्ता योजना बनाउनुभएको छ ?
अहिले व्यावसायिक कारोबार बढाउने भन्दा गम्भीर कुरा आर्थिक सङ्कट गुज्रिरहँदा बैंकको ऋण होस् या व्यक्तिको ऋणबाट दिन प्रतिदिन व्यवसायबाट पलायन हुने क्रम जारी छ । यसबाट रोक्न र व्यवसायीलाई बचाउन संस्था नै अगाडि लागेर कानुनी र व्यवहारिक उपाय खोज्ने काम हुन्छ । आर्थिक मन्दीले थलिएका व्यवसायीका पक्षमा सहज वातावरण कायम गर्न लाग्नुपर्छ भन्ने मान्यताका साथ योजना बनाएको छु ।
तपाईले जित्ने आधारहरू के–के हुन् ?
मैले अघि पनि भनेँ म व्यवसायिक क्षेत्रमा देखिएका चुनौती समाधानका लागि हिँजोदेखि भूमिका निर्वाह गर्दै आएको व्यक्ति हुँ । म हिँजोका दिनमा पनि व्यावसायिक साथीहरूसँग निकटस्थ रहेर काम गर्दै आएँ र अहिले पनि व्यावसायिक क्षेत्रका व्यक्तिहरू सँगको समन्वय निकटस्थ छ । यसर्थ एउटा कुरा के हो भने म व्यावसायिक क्षेत्रमा आवद्ध साथीहरू सँगको सम्बन्धबाट कहिल्यै टाढा रहेन । मलाई साथीहरूले गर्नु भएको सहयोग जहिल्यै मेरा लागि अतुलनीय रहँदै आयो । त्यही सहयोग, त्यही प्रेम, त्यही सद्भावले मलाई उद्योग वाणिज्य सङ्घमा निर्वाचित गर्ने छ, म यसमा बिश्वस्त छु ।
अर्को कुरा मलाई व्यावसायिक क्षेत्रमा आवद्ध साथीहरूले सक्षम, काम गर्न सक्ने व्यक्तिका रूपमा हेर्दै आउनु भएको छ । यसले केही गर्न सक्छ है भन्ने आम व्यवसायीहरूको मप्रतिको आशा मेरो जीतको अर्को आधार हो । समग्र व्यावसायिक क्षेत्र र व्यवसायी साथीहरूको मनोभावलाई बुझेर यो क्षेत्रमा देखिएका चुनौती समाधानका लागि लड्न सक्ने मेरो ल्याकत र आम व्यवसायी साथीहरूले म प्रति गर्नुभएको आशा र विश्वास नै मेरो जीतको आधार हो ।