गौमाता संरक्षणका लागि महापुराण हुने

गोरक्ष समाचारदाता
दाङ, ५ असोज । गौमाताको संरक्षणका लागि दाङमा महापुराण सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहागरपालिका वडा नम्बर १८ मा रहेको योगी आदित्यनाथ फाउण्डेसनको आयोजनामा गौमाताको संरक्षणका लागि महापुराण सञ्चालन हुने भएको हो ।

असोज २८ देखि कार्तिक ५ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत पितृमुक्ति पञ्च आरती गौदान तथा दसैँ महोत्सवका लागि घोराहीमा भएको भेलाले आयोजक मूल समिति एवम् विभिन्न उपसमिति गठन गरिएको छ । फाउण्डेसनका अध्यक्षतामा घोराहीमा भएको भेलाले मूल समिति एवम् उपसमिति गठन गरेको हो । भेलाले भरतनाथ योगी संयोजक रहेको आयोजक मूल समिति गठन गरेको छ ।

यस्तै रूपा वली संयोजक रहेको मातृ शक्ति परिचालन मूल समिति गठन गरिएको छ । जसको सहसंयोजकमा बिमला योगी, उपसंयोजकमा गोमा रावत रहेकी छन् । यसैगरी सुरेश हमाल संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति, शारदा पोख्रेल संयोजक र यज्ञश्वरी चन्द सहसंयोजक रहेको रहेको पूजा व्यवस्थापन उपसमिति, निर्मला गौतम संयोजक र कल्पना न्यौपाने सहसंयोजक रहेको संघसंस्था समन्वय तथा परिचालन उपसमिति, लीला शाह संयोजक र आरके शीतल सहसंयोजक रहेको मिडिया समन्वय उपसमिति गठन गरिएको छ ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने महापुराणका लागि थप समिति तथा उपसमिति आवश्यकता अनुसार गठन गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।