नेपालको विकास कसले गर्लान् ?

युवराज शर्मा
नेपालमा शिक्षा र स्वास्थ्य पछि परेका छन् । सरकार भने विश्वविद्यालयहरुले संख्यात्मक वृद्धि गरिरहेको छ । जहाँ पढ्ने विद्यार्थीहरु घटिरहेका छन्, भएका शिक्षण संस्थाहरुमा आवश्यक शिक्षकहरुको विषयगत व्यवस्था गर्न सकेको सरकारी अवस्था छैन । त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि छ । डाक्टर, नर्सको अभाव छ भने हेल्थ असिष्टेण्टहरु संख्या घटिरहेको छ । उपचार नपाएर गाउँघरमा मृत्युवरण गरेका छन् ।

नागरिकले महँगो कर तिरेका छन् । उनीहरुले पाउने आधारभूत सेवा मध्येको शिक्षा र स्वास्थ्य पाउन सकेका छैनन् । के उनीहरुले तिरेको करले जनप्रतिनिधिलाई तलब खुवाएर पाल्नु पर्ने हो ? नागरिकले तिरेको करले शिक्षा र स्वास्थ्यमा विकास कसले गर्लान् ? सोचाई गर्छन्– नागरिक तर सरकारले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क भन्छन् । कोरा नारा र भाषणले विकास हुँदैन । देशको विकास गर्न शिक्षाको महत्व गणतन्त्रमा भएन । यदि भएको भए डाक्टर र नर्स शिक्षा पढ्न विद्यार्थीहरु विदेशीने थिएनन् ।

शिक्षाले असल र गुणवान विद्यार्थीहरु विभिन्न विषयमा तयार गर्छ । तिनै विद्यार्थीहरु शिक्षण संस्थाहरुमा पढाउन जान्छन् । कतिपय विद्यार्थीहर स्वास्थ्य क्षेत्रमा उपचारार्थ जान्छन् । नेपालको विकास गर्ने जनशक्तिको उत्पादन शिक्षाबाट प्राप्त हुन्छ । स्वास्थ्यमा पनि सुधार हुन्छ । विकासका लागि शिक्षा र स्वास्थ्य आवश्यक छ ।

नेपालमा राजनीतिक दलले विकासमा संलग्न हुनुभन्दा नीति नियम बनाएर परिचालन गर्ने हो । आफै कमजोर भएपछि विषयगत ज्ञानको अभावमा गर्ने भाषणहरु कोरा नाराको भनाइ भयो । त्यसैले होला नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु जतिपटक सत्तामा पुगे पनि शिक्षा र स्वास्थ्यमा विकास गर्न सकेनन् । स्कुल, क्याप्स र विश्वविद्यालयहरु खोल्ने र अनुमति दिने काममा सीमित भए । प्रधानमन्त्री, मन्त्री र विभिन्न पदका जनप्रतिनिधि बनेर पट्के मात्र भए । आफ्नो टाङ्ने इतिहास मात्र रचेका छन् ।

धनपैसा कमाएका छन् । आफ्नो भविष्य बनायौँ भन्छन्– सहरबजारमा घर उभ्याउन सफल भएका छन् । यसैलाई विकास भन्छन् । सहरबजारमा बस्नेहरु ६४ प्रतिशत र गाउँमा बस्नेहरु ३६ प्रतिशत नागरिक छन् । गाउँलेहरुमा २० प्रतिशत वैदेशिक रोजगारमा भारतलगायत अन्य मुलुकहरुमा छन् । अन्दाजी भनाइ छ– करिब २ करोड नेपालीहरु विदेशीएका छन् । उनीहरु विदेशीनुको कारण देशमा रोजगार नपाएर बाध्य भएर विदेशतर्फ गएका हुन् ।

जसमा कक्षा १० र कक्षा १२ पास गरेकाहरु पनि गएका छन् । के नेपालको शिक्षा विदेशीको नोकर बन्नुपर्ने भएको हो ? राजनीतिका दलीय नेताहरुलाई लाजसर्य पनि छैन । तैपनि विदेश भ्रमणमा जान्छन् । उनीहरुलाई विदेशीहरुको नजरमा नेपालको पाहुना मान्दैनन् । शिक्षाले नै मानिसलाई महान मानव जनाउँछ ।

राज्य सञ्चालन गर्ने दलहरुका नेताहरु नै हुन् । उनीहरुमा देश प्रेमको भावना भएन भने लुटपाटको वातावरण बनाउछन् । दलहरुका नेता, कार्यकर्ता, झोले, चम्चेहरुको ध्यान लुट्ने, कमाउने धन्धामा हुन्छन् । यस्ता कार्यमा बाबुछोरा, पत्नि, सालासाली, नातागोताहरुको संलग्नता हुन्छ भन्ने घटनाहरुले देखाएको छ । के नेपालका नेताहरुले गरेको विकास यस्तै हो ? नागरिकले प्रशन गर्छन् । ठगी, सुन तस्करी, नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने, जग्गा हडप्ने जस्ता काण्डहरुमा बाबुछोरा पत्निहरु भएको अवस्था बाहिरियो तर दलको नेतृत्वमा र जिम्मेवार पदका व्यक्तिहरुको नैतिकता र चरित्र उजागर भयो ।

यस्तो अवस्थालाई नैतिक पतन भएको मान्छेभन्दा फरक पर्दैन भन्छन् नागरिकले हिजोका दिनमा गाउँघरमा चप्पल पड्काएर हिडेकाहरुले पदमा भएपछि पाउने तलबले कसरी पुगेछ ? दरबार जस्तो घर बनाउन । अनपढले पनि भ्रष्टाचारी भन्नु पर्ने भएको छ । मजदुरी काम गरेकाहरु घर फर्कदा साथमा ल्याएका सामानहरु रु १००।– भन्दा बढी भएमा शुल्क तिर्नुपर्ने बाध्यता छ तर विदेश भ्रमण गरेर स्वदेश आएका नेता कार्यकर्ता र झोलेहरुका लागि कुनै शुल्क वा कर भंसारमा लाग्दैन ।

अब राष्ट्रको हित कसले गर्ने ? स्वदेशमा रोजगार गर्न नपाएर मुगलान पसेका युवाहरुले भोग्नु परेको कथा र व्यथा धेरै छ । उनीहरुको समस्यालाई बुझ्ने सरकार बन्न सकेन । किसान, मजदुर, विद्यार्थी, शिक्षक प्रधानाध्यापक, प्रशिक्षक, वौद्धिक वर्ग, महिला र किशोरीहरु पनि प्रताडित छन् । राज्य भएको सम्झना छैन । जनउत्तरदायी सरकार भएको अनुभूति भएन । शान्ति, सुरक्षा र आवाणमनको सेवामा अस्तव्यस्त छ भने सुरक्षाको वातावरण बन्न सकेको छैन । जंगली जनावरहरुको डरभन्दा मानिस देखेर डराउनु पर्ने समय भएको अनुभूति नागरिकको छ ।

राष्ट्रको हित गर्ने दलहरुमा पार्टी सङ्गठनहरु भएनन् ।व्यक्तिगत स्वार्थमा मात्र सीमित भए । राज्यलाई दुहुनो गाई बनाए । राजाले बनाएका उद्योग व्यवसाय तहस नहस बनाए । पद र प्रतिष्ठामा रमाए । देशमा औद्योगिक व्यवस्था बढ्ने भएन । कृषि व्यवसाय पनि हरायो । वैदेशिक रोजगारको मोह बनायो । राष्ट्र, राष्ट्रियता र सार्वभौम सत्ता पनि धरापमा प¥यो । यस्तो अवस्थामा देश भएपछि राष्ट्रको हित गर्ने को ?

यो प्रश्न पनि सदाका लागि अनुत्तरीत बनेको छ । नागरिकले कुन दलका नेताहरुले राष्ट्रको हित गर्लान् भन्न पनि सक्दैनन् । सबै दलहरुका नेताहरुमा एकले अर्कोलाई गाली गर्ने, प्रतिशोधी व्यवहार गर्ने, नागरिकलाई झुठो आश्वासन दिने जस्ता कामकार्यहरु बाहेक अरु देख्न पाइएन भन्छन्– नेपाली राष्ट्रवादी नागरिले ।