हेमन्त केसी
जाजरकोट, ५ वैशाख (रासस) : डोल्पामा पाइने यार्सागुम्बा सङ्कलनका लागि चाहिने आवश्यक खाद्यान्न, लत्ता कपडाका लागि स्थानीय बजारहरू भरिभराउ देखिने यो समय बन्दाबन्दीका कारण सबै ठप्प भएको छ । स्थानीय बजारमा व्यापारदेखि आवतजावतसम्म ठप्प भएको छ । यार्सागुम्बा सङ्कलन गर्ने योजना अलपत्र छ । भारतमा कमाइ गरी चैतमा फर्कने यहाँका स्थानीयवासीहरू अर्को खेत कमाइका लागि उपयुक्त ठाउँ डोल्पाको यार्सागुम्बलाई रोज्थे ।
वैशाखको पहिलो हप्तासम्म सबै आवश्यक सामग्री तयार गरी गाउँका सबै स्थानीयवासीहरू वैशाख १२ गतेसम्म डोल्पातर्फ जाने गर्थे । केही स्थानीय व्यापारीहरू प्रवेश पुर्जीको चाँजोपाँजो मिलाउन अगाडि नै जान्थे । अहिले न स्थानीय बजारमा आवश्यक सामग्री पाइन्छ न त प्रहरीले नै सडकमा हिँड्न दिने गरेको छ ।
जाजरकोट–डोल्पा सडकखण्डको बीचमा रहेको भेरी नदीमाथि रहेका झोलुङ्गे पुलमा प्रहरीले नियमित गस्ती गर्नुका साथै पुलमा जाली राखेर बाटो थुनिएको छ । यार्सागुम्बा सङ्कलनकै लागि सबै स्थानीयवासी डोल्पा जाँदा स्थानीय तहमा विकास निर्माण कामसमेत वैशाखदेखि अवरुद्ध हुने गर्दथ्यो ।
निम्न माध्यमिक तह, मावि तह र क्याम्पसमा पढ्ने सबै विद्यार्थी पढाई खर्च जुटाउन कापी किताब एक महिनाका लागि झोलामा थन्क्याएर डोल्पा जाने गरेका थिए । अहिले आधारभूत तहको परीक्षा भई परीक्षाफल प्रकाशित भइसकेको छैन । त्यस्तै मावि तहको माध्यमिक शिक्षा परीक्षासमेत कहिले हुने भन्ने अन्याल नै छ । कक्षा ११ र १२ को परीक्षाको कुनै टुङ्गो छैन । यसरी परीक्षाको टुङ्गो नहुँदा विद्यार्थीहरू अन्यालमा पर्नुका साथै यार्सागुम्बासमेत टिप्न जान नपाउने भएका छन् ।
अभिभावकहरूले समेत कमाइका लागि यार्सागुम्बा सङ्कलनलाई एउटा गतिलो माध्यम बनाउँदै आएका थिए । रुकुम पश्चिम आठविसकोट नगरपालिका बटालागाउँका धनवीर बटाला भन्नुहुन्छ, “ छोराछोरी लिएर डोल्पा जाने यो पटक नहुने भयो, उनीहरूको परीक्षा भएको छैन, यो बर्खामा कसरी खर्च चलाउने हो, मुस्किल पो हुने भयो ।” गाउँमा रोजगारीको कुनै अवसर नभएकाले भारत र डोल्पा नै हातमुख जोड्नका लागि उपयुक्त ठाउँ भएको उहाँले बताउनुभयो । “घरभित्र बसेर बसेर कहाँ कमाइ हुन्छ रु गाउँमा विकास निर्माणका कामसमेत ठप्प छन्, हुनेखानेलाई त के फरक पर्छ र रु हामी जस्तो गरीबलाई सबैभन्दा बढी दुःख छ”, उहाँले भन्नुभयो ।
वैशाख १ गतेदेखि विद्यालयमा भर्ना अभियान सञ्चालनसँगै भर्ना भएर डोल्पा जाने विद्यार्थीहरू घरमै बन्दी भएका छन् । नलगाड नगरपालिका, आठविसकोट नगरपालिका र भेरी नगरपालिकाका अधिकांश ठाउँमा गहुँ पाकेका कारण अभिभावकहरू छोराछोरी साथमा लिएर गहुँ काट्ने अभियानमा जुटेका छन् । डोल्पाका स्थानीय तहहरूले समेत कोरोना भाइरसकै महामारीमा जोगिन र जोगाउनमा ध्यान गएका कारण यार्सातर्फ खास ध्यान नगएको बताउँदै आएका छन् । सबैभन्दा बढी पुर्जी दिने शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले यो पटक चोरी, निकासी नियन्त्रणमा मात्र ध्यान केन्द्रित गरेको छ । सबैभन्दा बढी यार्सागुम्बा पाइने उपल्लो डोल्पाका अधिकांश स्थानीयवासीहरू बाहिर जिल्लामा रहेका छन् । जनप्रतिनिधिहरूसमेत काठमाडौँमा रहेको पाइएको छ ।
राससको बुलेटिनवाट सम्पादीत अंश