लिलाधर वली
दाङ,५ बैशाख। सिमा क्षेत्रमा सुरक्षासंगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षामा कडाई गरिएको छ । लकडाउनको समयमा सिमा क्षेत्रमा मानिसहरुको आउने-जाने क्रमलाई रोक्न र लकडाउनका क्रममा हुने आपराधीक गतिविधि रोक्ने उद्देश्यले जिल्ला सुरक्षा समिति दाङले आजदेखी जिल्लाका थप ३ नाकामा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट स्थापना गरेको हो ।
आजदेखी दाङका खवरी, डगमारा र भैसाही नाकामा सशस्त्र प्रहरीको अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । आज स्थापना गरिएका तीन सुरक्षा पोस्टसंगै अव दाङको नेपाल-भारत सिमा क्षेत्रका १० ठूला नाकाहरुमा सुरक्षा पोस्ट पुगेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनका अनुसार करिब एक महिना अघि सालभौरी, गुरुङ, पटौली, खङ्गा नाकामा सशस्त्र प्रहरीको सिमा सुरक्षा पोस्ट स्थापना गरिएको थियो । यी स्थापना गर्नुअघी प्रमुख नाका कोइलावास र सुनपथरी नाका सिमा सुरक्षा पोस्ट रहेको थियो । स्थापना गरिएका अस्थायी सुरक्षा पोस्टमा ३० देखि ४० जनासम्म सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
उनका अनुसार भारतसँग सिमा जोडिएको प्रमुख नाका रुपमा रहेका कोइलावास नाकासहित साना ठूला गरी ३१ नाकाहरु अनिश्चितकालका लागि बन्द भएको छ । जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ ।