खाद्य सामग्रीको मूल्यबृद्धि

बालाराम खड्का
तुलसीपुर, २९ भदौ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । दैनिक दङालीको भान्सामा प्रयोग हुने चामल, चिनी, जिरालयातका सबै खाद्यवस्तुमा मूल्य बढेको हो । खाद्यवस्तुको मुल्य बढेसँगै भान्सा पनि महँगो भएको छ । पछिल्लो एक महिनामा चामलको मूल्य आकासिएको छ । त्यस्तै एकसातामा चिनीको मूल्य पनि बढेको व्यवसायी बताउँदै आएका छन् ।

नेपालीको महान चाड सुरु हुन लाग्दा खाद्यवस्तुको मूल्य बढेपछि उपभोक्ता चिन्तित छन् । भारतबाट आयात गर्नु पर्ने खाद्यानको मूल्य पछिल्लो समयमा बढेको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसीले बताए । उनले नेपालमा उत्पादन नभएको र भारतबाट आयात रोकिएकाले पनि मूल्य बढेको बताए । नेपाललाई आयात कोटा नदिँदा चामल, चिनीको मूल्य बढेको हो ।

नेपालमा अन्य खाद्यान्न, दाल, चिनी, तेलजस्ता चामल मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा बढेको बताएको छ । पछिल्लो एक महिनामा चामलमा प्रतिबोरा ३ सयसम्म बढेको छ । यस अघि १३ सय प्रतिवोरा बिक्री गर्दै आएको चामल अहिले १६ सय पुगेको छ । त्यस्तै १५ सय पर्ने चामल २ हजारसम्म पुगेको छ ।

व्यवसायी खुसलराम शर्माले प्रतिबोरामा २ सय ५० देखि ३ सयसम्म बढेको बताए । ‘भारतबाट आउने सबै चामलको मूल्य बढेको छ, सबैमा २ सय ५० देखि ३ सयसम्म वृद्धि भएको छ’, शर्माले भने । त्यस्तै चामलसँगै पछिल्लो समयमा चिनी पनि बढेको छ । यसअघि प्रतिकिलो ९० देखि एक सय पर्ने चिनीको फुटकर भाउ एक सय १५ रुपैयाँ पुगेको छ । प्रतिकिलो २५ रुपैयाँले चिनी बढेको हो । ‘एक साता पहिले मैले एक सय ५ रुपैयाँमा चिनी बिक्री आएकोमा अहिले एक सय १५ पुग्यो ।

मसँग चिनी छैन’, व्यवसायी शान्ति चौधरीले भनिन् । उनले मूल्य बढेको आफूले थाहा नपाएको र सस्तोमा बिक्री गरेपछि सबै चिनी एकै दिनमा सकिएको बताइन् । अहिले बजारमा चिनी प्रतिकिलो एक सय १५ मा बिक्री हुँदै आएको छ । त्यस्तै भारतले पनि चिनी निर्यात रोकेकाले बजारमा मूल्य बढेको व्यवसायी बताउँछन् । समयमै आयात भएन भने यो वर्ष चाडपर्वमा समस्या हुने बताइएको छ । अहिले भारतमा मूल्य बढ्यो भनेर सजिलोसँग बजारमा पनि मूल्य वृद्धि हुने गरेको केही उपभोक्ता बताउँछन् ।

यसैगरी चामल, चिनीजस्तै जिराको मूल्य पनि छोइ नसक्नु छ । अहिलो बजारमा जिरा प्रतिकिलो एक हजार ३ सय रुपैयाँसम्म पुगेको छ । यस अघि करिब ६, ७ सय पर्ने जिरा अहिले महँगिएको हो । ‘दैनिक भान्सा निकै महँगो भएको छ, चामल, चिनी, जिरा सबै महँगो छ । कसरी दैनिक गुजारा चलाउने हो ?’, गृहिणी कमला वलीले भनिन् । उनले १५ दिन पहिले १५ सय बोरा चामल किनेको र अहिले सो चामल २ हजार पुगेको बताइन् ।

‘भारतबाट चामल निर्यात रोकिएको भनेर यहाँ बढेको भन्ने सुनिन्छ’, उनले भनिन् । दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिएकाले आफूहरूलाई दैनिक जीविका चलाउन समेत समस्या भएको ज्याला मजदुरी गरी खानेहरू बताउँछन् । ‘बजारमा हरेक खाद्यवस्तु बढेको छ, हाम्रो ज्याला बढ्दैन’, डकर्मी यमप्रसाद दमाईले भने । पसलमा चामल किन्न आएका उनले एक महिनामै चामलमा धेरै मूल्य वृद्धि भएको भन्दै दैनिक जीविका चालाउन मुस्किल भएको बताए ।