छात्रावासका छात्रालाई दैनिक छाक टार्न समस्या 

शिवराज खनाल
दाङ, २९ भदौ । कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर ७ की लक्ष्मी चौधरी ब्याचलरमा अध्ययनरत छात्रा हुन् । उनी लमही नगरपालिका वडा नं. १ नर्तीको लावाजुनी छात्रावासमा बस्न थालेको १० वर्ष भएको छ ।
अहिले उनीलगायत २३ जना छात्रा सो छात्रावासमा बस्ने गरेका छन् । ती छात्राहरूलाई भने दैनिक छाक टार्नै मुस्किल परेको छ । ‘एक महिना जति त हामी बिना नून, तेल नै खाना खायौँ, कुनै दिन त भोकभोकै पनि बस्नु प¥यो, अहिले भने वडाले केही दिनलाई पुग्ने दिएको छ’, चौधरीले भनिन् ।
नेपाल सरकारले कक्षा १२ सम्म अध्यनरत मुक्त कम्लहरी विद्यार्थीका लागि छात्रवृत्ति भनेर मासिक रूपमा एकजना छात्रा बराबर ४ हजार रुपैयाँका दरले दिने गरेको छ । उनीसँगै अन्य २२ जना छात्राले त्यही रकमबाट दैनिक गुजारा गर्दै आएका थिए । तर अहिले १२ पास भइसकेकाले सरकारबाट पाउने उक्त सेवा नपाउने भएपछि उनीहरूलाई समस्या भएको हो । छात्रावासमा बसेर अध्ययन गर्नेलाई धेरै समस्या भएको उनले बताइन । ‘यहाँ धेरै समस्या छ ।
खानको लागि समेत खाद्यान्न हुन्न । कहिले भोकै समेत बस्नु पर्ने बाध्यता छ’, उनले भनिन् । आफूहरूको समस्या तीनै तहका सरकारबिच राख्दै आएको समेत उनको भनाइ छ । ‘केही सहयोग आउँछ, त्यही सहयोगले खान्छौँ । वडाले दिएको केही खाद्यन्न छ । त्यही खाने गरेका छौँ । त्यो पनि सकिँदैछ’, उनले भनिन् ।
छात्रावासमा बसेर अध्ययन गर्ने छात्राहरूलाई खानको समस्या भएपछि लमही नगरपालिका वडा नं. १ ले खाद्यान्न सहयोग गरेको छ । वडा नं. १ मा पर्ने लावाजुनी छात्रावासमा बस्ने २५ जना मुक्त कम्लहरी छात्रालाई खाद्यान्न सहयोग गरेको हो । लावाजुनी छात्रावासमा बस्ने छात्रा खानलाई समस्या भएको भन्दै वडा कार्यलयमा सहयोग माग्न आएपछि वडा कार्यलयबाट सहयोग गरेको लमही १ का वडाध्यक्ष दामोदर पौडेलले बताए ।
‘अहिले हामीले केही दिनलाई पुग्ने गरी थोरै सहयोग गरेका छौँ, बाँकी थप गर्दै जाने छौँ’, पौडेलले भने । वडा कार्यलयले एक क्विन्टल २५ किलो चामल, १० केजी दाल, ५ लिटर खाने तेल, एक केजी खुर्सानी, ५ केजी नून सहयोग गरेको छ ।