मन्त्रालय नथप्न कांग्रेसको निर्देशन 

गोरक्ष समाचारदाता
दाङ, २९ भदौ । नेपाली कांग्रेसले लुम्बिनीले आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारले मन्त्रालय थप गर्ने गरेको तयारीमा खबरदारी गरेको छ । अनावश्यक मन्त्रालय थप गर्दा आर्थिक भार थप हुन जाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाइ यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई निर्देशन दिएको छ ।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनीति दलसँग समन्वय गर्दै सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सङ्घीय सरकारलाई नेपालको संविधान अनुसार अधिकार दिन अनुरोध पनि गरेको छ ।
बैठकले प्रदेश पोलिसी ह्याकथुन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मुख्य सचिव मोहनराज शर्माले बताए । लुम्बिनीमा कांग्रेस संस्थापन समूहमा रहेका चौधरीले सरकारको नेतृत्व गरेका छन् भने पार्टी प्रदेशको नेतृत्वमा रहेका अमरसिंह पुनसहितको बहुमत सदस्य संस्थापन इतर समूहका छन् । ८ दलको सरकारमा सहभागी दलले भागबण्डा मिलाउन तयारी गरेपछि नेपाली कांग्रेसले सचेत गराएको हो ।
चौधरी बैशाख १४ मा मुख्यमन्त्री नियुक्त भएका थिए तर लामो समयसम्म पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री चौधरीले अझै केही मन्त्रालय आफूसँगै राखेका छन् । पार्टीभित्र मन्त्री बन्ने धेरै आकाङ्क्षी र माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या भएको हो ।
माओवादीले यस अघि नै निर्णय गरेर सरकारमा तीनजनाको नाम सिफारिस गरेको छ । सिफारिस गरेकोमा रोल्पाका दीपेन्द्र पुन समेत छन् । पुनले पार्टीबाट विद्रोह गरेर साझा उम्मेदवार कांग्रेसका नेता अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका थिए । उनले कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनलाई चुनावमा हराएका थिए । चुनाव जितेसँगै दीपेन्द्र पुन माओवादीमा फर्केका थिए ।
माओवादीले मन्त्री गराउने वचन दिएर पार्टीमा ल्याएको त्यो बेला चर्चा भएको थियो । त्यही चर्चालाई पुष्टि गर्ने गरेर उनको नाम मन्त्रिपरिषद्मा माओवादीले सिफारिस गरेको छ । सिफारिस गरेको लामो समय भइसक्दा पनि कार्यान्वयन भएको छैन । आफूलाई हराउने पुनलाई रोक्न कांग्रेस सभापति अमरसिंह लागेका छन् । सो अनुसार नै उनले मुख्यमन्त्री चौधरीलाई मन्त्रालय नथप्न दबाब दिँदै आएका छन् । कांग्रेसको यो निर्णय पनि त्यही भएको कांग्रेस नेता बताउँछन् ।