गोरक्ष समाचारदाता
दाङ, २८ भदौ ।नेकपा माओवादी केन्द्रले सुरु गरेको जिल्लामा सञ्चालन भइराखेको छ । माओवादीका नेताले अभियान प्रभावकारी बन्दै गएको दाबी गरेका छन् । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत जिल्लाका १० वटै पालिका र एक सय वडामा अहिले माओवादी नेता तथा कार्यकर्ता जनतासँग छलफल, अन्तरक्रिया र विभिन्न रचनात्मक काम गर्न व्यस्त रहेको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले बताए ।
जनतासँग सम्बन्ध विस्तार गर्ने अभियान अन्तर्गत हरेक वडामा पार्टीको बैठक बस्ने, सदस्यता नवीकरण गर्ने, नयाँ सदस्य थप्ने, पार्टीसँग रिसाएर बसेका नेता तथा कार्यकर्तालाई फर्काउने र सरकारी कार्यालयहरूमा जनताको काममा सहजताका लागि सहजीकरण गर्नेलगायतका काम भइरहेका छन् । जनताका समस्या बुझ्ने र पार्टीप्रति आकर्षित गर्ने उद्देश्यले सुरु भएको अभियान प्रभावकारी बन्दै गएको भन्दै जिल्ला सचिव आचार्यले भने, ‘तीनमहिने अभियान अन्तर्गत गाउँ–गाउँमा विकास निर्माणसँगै सरसफाई र जनचेतनामूलक काम भइरहेका छन् ।’
उनका अनुसार अभियान अन्तर्गत जनता, पार्टी र सरकार बिचको सम्बन्ध सुमधुर बनाउने काम भइरहेको छ । जनतासँग तीनमहिने अभियान विशेष रूपान्तरण अभियानले तल्लो तहका नेता तथा कार्यकर्तामा उत्साह थप्ने काम गरेको छ । जिल्ला सचिव आचार्यले भने, ‘निर्वाचनपछि जनतासँग प्रत्यक्ष जोडिएर कुनै कार्यक्रम हुन सकेका थिएनन्, अहिले नेताहरू वडा–वडामा खटिएर जनताका कुरा सुन्ने र पार्टी र सरकारले गरेका कामका बारेमा जनतालाई बुझाउने काम भइरहेका छ । जसले गर्दा पार्टी र नेताप्रति जनतामा भएको भ्रम समेत चिर्ने काम अभियानले गरेको छ ।’
वडा केन्द्रित अभियानमा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य जयपुरी घर्तीलगायतका पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला कमिटीका नेता तथा कार्यकर्ता पुग्ने, जनताका समस्या बुझ्ने र समाधानका लागि पहल गर्दै आएका छन् । पार्टी र सरकार प्रतिको गुनासा र सुझाव समेत अभियानका क्रममा सङ्कलन गर्ने काम भएको भन्दै अभियान सकिएपछि जिल्लाबाट जनताको सुझाव माथि पठाउने उनले बताए । जिल्ला सचिव आचार्यका अनुसार अभियान अन्तर्गत भत्किएको बाटो मर्मत गर्ने, मठ, मन्दिरलगायतका सार्वजनिक स्थल सरसफाई गर्नेलगायत चाडपर्व केन्द्रीय कार्यक्रम समेत भइरहेको छन् ।
लामो समयपछि पार्टीले जनतासँग जोडिने अभियान चलाएपछि कार्यकर्तामा पनि खुसी छाएको घोराही उपमहानगरपालिका–१५ निवासी प्रकाश चौधरी बताउँछन् । पार्टी सत्तामा गएपछि जनता बिर्सने गुनासो रहेको भन्दै उनले भने, ‘सरकारमा गएपछि नेताले जनता बिर्सने र पार्टी कमजोर बन्ने प्रवृत्ति छ । यो प्रवृत्ति केही हदसम्म हाम्रो पार्टीमा पनि देखियो छ । यस्तो अवस्थामा पार्टी जनतासँग जोडिने अभियान ल्याएर आउनु हाम्रा लागि खुसीको कुरा हो ।’ निर्वाचनका क्रममा नेता अहिले घर–घरमा आएर जनताको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने काम गरिरहेको भन्दै यसले जनतामा खुसी छाएको चौधरी बताउँछन् ।
उनले अहिले पार्टीले सुरु गरेको जनतासँग विशेष अभियान जस्तै वर्षभरि नै चलाउनु पर्ने बताउँछन् । यस्ता अभियानले नेता र जनताको भेट गराउनुका साथै केही कमीकमजोरी भएको अवस्थामा सुधार गर्न सहयोग पु¥याउने उनी बताउँछन् । भदौको १६ गतेदेखि सुरु भएको अभियान मंसिर १५ गतेसम्म चल्ने नेकपा माओवादी केन्द्र दाङले जनाएको छ ।