दाङको विकासमा गम्भीर छु : नेता गिरी

गोरक्ष समाचारदाता
तुलसीपुर, २८ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नु पर्ने बताएका छन् । कांग्रेस तुलसीपुर नगर समितिले गरेको तिजमिलन कार्यक्रममा नेता गिरीले कांग्रेसलाई गाउँ वडा तहबाटै बलियो बनाउन सबै लाग्नु पर्ने बताए ।

‘यो कार्यक्रममा महिला दिदीबहनीको सहभागिता छ । सङ्गठन बलियो गराउन सबै एक भएर लाग्नुहोस्’, उनले भने । गिरीले नेपाली नारीहरूको महान पर्व तिजको अवसरमा सबैलाई शुभकामना समेत दिए । उनले संस्कृतिलाई बचाउन र विकृतिलाई हटाउनु पर्नेमा जोड दिए । ‘हाम्रो कला संस्कृति रीतिरिवाजलाई बचाउन सवै लाग्नुपर्छ’ उनले भने ।

कार्यक्रममा नेता गिरीले दाङको समग्र विकासका लागि सबै गम्भीर बन्नु पर्ने बताए । उनले त्यसको लागि केन्द्रमा पहल भइराखेको समेत बताए । यहाँका जनताले पठाएको जनप्रतिनिधि भएकाले यहाँको विकासमा गम्भीर भएर लागेको छु’, उनले भने, ‘एयरपोर्ट लगायतका विकास निर्माणका लागि केन्द्रमा आवाज उठाउने गरेको भन्दै अब छिट्टै त्यसले पूर्णता पाउने छ ।’

नगर सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले नेपाली कांग्रेसलाई बलियो र सङ्गठनलाई चलायमान गराउन सबैको भूमिका हुने बताए । उनले एकताबद्ध भएर लागेमा आगामी निर्वाचनमा विजय हासिल गर्न सकिने बताए । उनले तिजमिलन कार्यक्रमले आत्मीयताको सुमधुर सम्बन्ध निर्माण गर्ने भन्दै तिजको सबैलाई शुभकामना दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य जानुका केसीले कांग्रेसको सङ्गठनलाई सशक्त बनाउनु पर्ने भन्दै हाम्रो संस्कृतिलाई बचाइराख्न पनि यस्ता कार्यक्रमले मद्दत पुग्ने बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति कीर्तिबहादुर खड्काले पार्टीलाई कसरी बलियो बनाउने भन्नेमा सबै एक हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सचिव बालिका लम्साल, क्षेत्रीय कांग्रेस नेता शंकर गिरी, सभापति जगतबहादुर खड्का, महिला नेतृ सुशीला सुवेदी, चित्रा गिरी, लुम्बिनी प्रदेश दलित संघका सभापति जोगेन्द्र विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नं. ३ क का सभापति देवेन्द्र रिजाल, क्षेत्र नं. ३ ख का सभापति खिमबहादुर वली, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सावित्रा गुरुङ तथा देविलाल विकलाई १० हजार रुपैयाँ उपचारका लागि सहयोग स्वरूप सभापति हमाल र नेता गिरीले हस्तान्तरण गरेका थिए । त्यस्तै तुलसीपुर–६ निवासी शिव श्रेष्ठ र बिना श्रेष्ठले छोराको मृत्युपश्चात एकल भएकी बुहारीलाई छोरीको रूपमा स्वीकार गरी बुहारीको कन्यादान (विवाह) गरेर उदाहरणीय कार्य गरेकाले दोसल्लाह सहित कदर–पत्रले सम्मान गरिएको थियो । नगर उपसभापति बिनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएकोका कार्यक्रमको सहजीकरण सचिव बिमल पौडेल र सुशील वलीले गरेका थिए ।