मानव कल्याणको सेवानै मूल सिद्धान्त : गीता दिदी [अन्तर्वार्ता]
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २७ मा मा २०२२ बशाख ४ गते गीता दिदीको जन्म भएको थियो । पिता मित्रनाथ न्यौपाने र माता अतिमाया न्यौपानेकोे उनी जेठी छोरी हुन् । २०३८ सालमा गाउँमा ब्रह्माकुमारीजको गीता पाठशाला स्थापना भयो । उनी फुपु शुभद्रा त्रिपाठीको साथबाट संस्थाको सम्पर्कमा आएर यसैमा समर्पित भएको लागेको लामो समय भइसकेको छ ।
मनमा सांसारिक जीवनभन्दा ब्रह्माकुमारी जीवनशैली वास्तविक र सार्थक देखिन थालेको उनले धेरै भइसकेको छ । जीवनका नवीन मुलभूत विशेषताहरुका आधारमा विश्वमा स्थापित सबै धर्महरुको सारलाई आत्मसाथ गरेर विश्वमा धर्मलाई नयाँ मापदण्डले परिभाषित गर्दै मानव कल्याणको सेवामा यो संस्थाले काम गर्दै आएको छ ।
यसको मूल सिद्धान्त “स्व–परिवर्तनबाट विश्व परिवर्तन” भन्ने नै हो । ईश्वरी विश्वविद्यालय र यसले गर्दै आएको कामको बारेमा गोरक्षकर्मी खेमराज रिजालले ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख गीता दिदीसँग गरेको कुराकानीको सार संक्षेप ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भनेको के हो ? यसको मुख्यालय कहाँ छ, वा कुन सिद्धान्तबाट यो विश्वविद्यालय चलिरहेको छ ?
अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त, विश्वको एक मात्र नारीद्वारा सञ्चालित एक आध्यात्मिक तथा शैक्षणिक एवम् विशुद्ध सामाजिक संस्था हो । यसको स्थापना सन १९३६ मा तत्कालीन भारतको सिन्ध हैदरावादको कराँची सहरमा भएको थियो । यस संस्थाका संस्थापक दादा लेखिराज कृपालनी जसलाई हामी स्नेहपूर्वक ब्रह्माबाबा भन्छौँ ।
परमात्मा शिवबाबाद्धारा ब्रह्माका माध्यामबाट स्थापित ओम् मण्डलीको संस्थापक पुरुष भए पनि यसको सञ्चालन नारी (कन्या–कुमारी) ले गर्ने भएकोले यसको नाम ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय रहेको हो । हाल यसको मुख्यालय भारतको राजस्थान प्रान्तको सिरोही जिल्ला अरावली पर्वतस्थित माउण्ट आवूमा रहेको छ ।
जीवनका नवीन मुलभूत विशेषताहरूका आधारमा विश्वमा स्थापित सबै धर्महरूको सारलाई आत्मसाथ गरेर विश्वमा धर्मलाई नयाँ मापदण्डले परिभाषित गर्दै मानव कल्याणको सेवामा समर्पित छ । यसको मूल सिद्धान्त ‘स्व–परिवर्तनबाट विश्व परिवर्तन’ हो
ब्रह्माकुमार र ब्रह्माकुमारीको परिभाषा ?अर्थात् यो संस्थामा जोडिनका लागि के चाहिन्छ ?
ईश्वरीय विश्वविद्यालयमा दिइने शिक्षा स्वयम् निराकार परमपिता परमात्मा श्री पशुपतिनाथले साकार माध्याम प्रजापिता ब्रह्माको श्रीमुखद्वारा दिनुभयो र हाम्रो दिव्यीकरण गरेर नयाँ जीवनको सिर्जन गरेको हुनाले यस संस्थामा आएर जो कसैले पनि यो शिक्षालाई जीवनमा धारण गर्छ, परमात्माको श्रीमतमा चल्दछ उसैलाई ब्रह्माकुमार र ब्रह्माकुमारी अर्थात् ब्रह्माका पवित्र सन्तान भनिन्छ । कुमार, कुमारी अर्थात् जसले पवित्र जीवन अपनाउँछ ।
ब्रह्माको आदर्श र मार्गमा चल्छ अर्थात् जातको हैन कर्मको सच्चा ब्राह्मण बन्छ । सनातन धर्ममा विश्वास छ यो सृष्टि ब्रह्माद्वारा रचना भएको हो । ब्रह्माले आफ्नो श्रीमुखद्वारा सृष्टिको रचना गर्नुभयो । यसको तात्पर्य यही हो कि स्वयम् निराकार परमात्मा जो अजन्मा, अकालमूर्त, अभोक्ता, अशरिरी, अयोनिज, ओम्कार स्वयम्भू हुनुहुन्छ उहाँ जब यस धरामा अवतरित हुनुहुन्छ त्यो अवतरित हुने आधार वा माध्यम एउटा अनुभवी बृद्ध मानव शरीर जसलाई प्रजापिता ब्रह्मा भनिन्छ ।
जसलाई सनातन धर्मलगायत अन्य धर्महरूमा भिन्न– भिन्न नामहरूले पनि सम्बोधन गर्ने गरिन्छ जस्तै नन्दी, ब्रह्मा, एडम, आदम, महावीर, हुसेनका घोडा इत्यादि । यस संस्थामा जोडिनका लागि सर्वप्रथम यहाँ दिइने राजयोगको साप्ताहिक पाठ्यक्रम लिन अनिवार्य छ
मौनता पनि क्रान्ति हो भन्नुहुन्छ नि ? मौनताले समाज बदल्न सकिन्छ ?
मौन सङ्कल्पको, विचारको हुनपर्छ । मनुष्यको मनमा धेरै प्रकारका विचार र सङ्कल्पहरूको आँधी चलिरहन्छ । एक सामान्य मनुष्यले प्रति दिन ६० देखि ७० हजार विचारहरू चलाउँछ । विचार जति कमजोर न्यून खालका हुन्छन, तिव्रता त्यति नै अधिक हुन्छ । विचारको नकारात्मक अत्याधिक तिव्रताबाट तनाव, र अशान्तिको उत्पति हुन्छ । आन्तरिक व्यवस्थापन, मनको मौनता, श्रेष्ठ विचार र शुभ भावनाको प्रकम्पनले पनि समाज बदल्न सकिन्छ ।
हाम्रो मनमा सामान्यतया पाँच प्रकारका विचारहरू उत्पन्न हुने गर्दछन । १. सकारात्मक विचार, २. नकारात्मक विचार, ३. आवश्यक विचार, ४. व्यर्थ विचार, ५. उत्कृष्ट विचार, हामी मनमा जति–जति उत्कृष्ट विचारहरू निर्माण गर्छौ त्यति थोरै, स्पष्ट र शक्तिशाली विचार उत्पन्न हुन्छन्, जति कम विचार त्यति नै शक्तिशाली पनि हुन्छन् । जुन विचारको प्रभाव हाम्रो शरीरका करिब सत्तरी खरब न्यूरोनहरूमा पर्दछ ।
उत्कृष्ट विचारहरूको प्रकम्पनले न केबल शरीर त्यसबाट प्रकम्पित तरङ्गहरूले वरपरको वातावरणलाई पनि प्रभावित गर्दछन । ती उत्कृष्ठ विचारहरूले मनलाई स्थीर, शान्त र शक्तिशाली बनाउनमा मदत गर्दछन र हाम्रो आसपासमा एक प्रकारको चुम्बकीय औरा निर्माण हुन्छ । जसले सबैलाई आफूतिर आकर्षित गर्दछ र जुन उर्जाको मददले कोषोँ टाढा रहेको व्यक्तिलाई पनि सुक्ष्म रूपले प्रभावित गर्न सकिन्छ ।
विज्ञानले यस विधिलाई टेलिपैथी भन्छ । आज पनि नेवी (जल सैनिकहरू) ले यस विद्याको प्रयोग गरेको पाइन्छ । यस प्रकार यदि हामी सबै सकारात्मक भएर हर एकप्रति शुुभकामनाका प्रकम्पनहरू दिन थाल्यौँ भने सबैको अन्तःकरणमा त्यसको प्रभाव स्वतः पर्दछ र बोलेर परिवर्तन गर्नुको भन्दा श्रेष्ठ सङ्कल्पको प्रभाव अधिक हुन्छ ।
खासमा तपाईहरूको पहिरन सेतो बस्त्र हुन्छ ? यसको अर्थ के हो ?
सेतो बस्त्र यस ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको यूनिफर्म (पोशाक) हो । यहाँ पूर्णरूपले समर्पित सदस्यहरूका लागि सेतो बस्त्र अनिवार्य छ तर घर गुहस्थ र अन्य व्यक्तिहरूका लागि कार्यक्रम आदिमा सहभागी हुन सेतो बस्त्र नै लगाउनु पर्ने बाध्यता छैन । सेतो बस्त्रको महिमा र महत्व यत्र तत्र सर्वत्र छ ।
जन्मदा सेतो बस्त्र, मृत्यु उपरान्त सेतो बस्त्र, बिबाहमा सेतो बस्त्र, न्वारन कर्म गर्दा सेतो बस्त्र, यज्ञोपवित धारण गर्दा सेतो बस्त्र, कृयाकर्ममा (शुद्धाशुद्धी) सेतो बस्त्र, सनातन धर्ममा हर शुभ अशुभ कार्यमा सेतो बस्त्रको ठूलो महत्व छ । अन्य धर्ममा पनि यसको कम महत्व छैन हिन्दुको पुजारीले सेतो बस्त्र धारण गर्छ ,चर्चको पादरीले सेतो बस्त्र धारण गर्छ, मस्जीदको मौलानाले सेतो बस्त्र धारण गर्छ । विज्ञानतर्फ फर्किदा एउटा चिकित्सक तथा नर्सले पनि सेतो बस्त्र लगाएको देखेकै छौ ।
सेतो बस्त्र पवित्रता, शान्ति, सेवा, स्वच्छता र सादगीको प्रतिक हो । सेतो रङ्गमा सबै रङ्गहरू समाहित हुन्छन् । अतः सेतो रङ्गलाई सम्पूर्ण रङ्ग मानिन्छ । जस्तै सूर्यका किरणहरूको रङ्ग श्वेत हुन्छ, जसलाई प्रिज्ममा हाल्दा सातवटा रङ्ग देखिन्छन् । विज्ञानका अनुसार सेतो बस्त्रले सूर्यबाट निस्कने प्रकाशलाई ५० प्रतिशत परावर्तित गरिदिन्छ र शरीरलाई घामबाट बचाउछ, साथै वातावरणमा रहेका अनेकौ हानिकारक जिवाणुहरूबाट बचाउछ । यसैले सेतो बस्त्रले सबै बस्त्रहरूको प्रतिनिधित्व गर्दछ । सेतो बस्त्र सबैभन्दा उत्तम बस्त्र हो यस कुराबाट सिद्ध हुन्छ ।
राज्यले पनि तपाईको संस्थालाइ धेर थोर लगानी गरेको छ, राज्यलाई तपाईले वा तपाईको संस्थाले के योगदान दिनु भएको छ ?
हाम्रो संस्थामा राज्यको जे जति लगानी छ त्यो मात्र भौतिक निर्माणमा छ र आंशिक रूपमा सेवाका लागि प्रयोग हुने भौतिक पूर्वाधारमा छ । यसमा दुई मत छैन । वास्तवमा भन्नु पर्दा हामी ब्रह्माकुमारी दिदी बैनीहरू र भाइहरूको जीवन पूर्णरूपले सेवामा समर्पित एक सार्वजनिक जीवन छ । हाम्रो कुनेै व्यक्तिगत जीवन छैन । हाम्रो ९० प्रतिशत जीवन समाज र राष्ट्रका लागि समर्पित छ ।
पछिल्लो समयमा बालबालिकादेखि बृद्धबृद्धा सम्मै फैलिएको डिजिटल एडिक्शनको न्युनिकरणमा पनि तपाईको संस्थाको भूमिका रहन्छ की ?
हामी आज समाजलाई ससंस्कृत सभ्य र दुव्र्यसनरहित बनाउन चाहान्छौ । हाम्रो संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरू पूर्ण रूपले निव्र्यसनी हुनुहुन्छ । उहाँहरूमा कुनै प्रकारको व्यसन छैन जसको काराण दुव्र्यसन मुक्त समाज निर्माणका लागि हामी सदैव क्रियाशील र निस्वार्थ समर्पित भावमा खटिएका छौँ । विद्यालय, कारागार, सुधारगृह, स्कूल, कलेजहरूमा गएर यस सम्बन्धि समयप्रति समय प्रशिक्षण, कार्यशाला, ¥याली अभियान र शिविरहरूको आयोजना समेत गरेका छाँै ।
यस वर्ष पनि हामीले दाङका दशवटै पालिकामा लागू पदार्थ दुव्र्यसन विरुद्धको अभियान सञ्चालन ग¥याँै त्यो पनि महाशिवरात्रीको अवसर पारेर । लगभग १०० भन्दा अधिक विद्यालय र कलेजहरूमा गएर मूल्य शिक्षाका साथै व्यसन हटाउने सचेतना कार्यक्रम सम्पन्न गरेका छौँ । डिजिटल एडिक्शनको न्युनिकरणमा हाम्रो पहल जारी छ । निकट भविश्यमा यस सन्दर्भमा जिल्ला व्यापी कार्यक्रम गर्ने सोचमा छौँ ।
अन्त्यमा केही भन्नु छ ?
राष्ट्रको चौथो अङ्गका रूपमा रहेको सञ्चारको समाज र राष्ट्रको निर्माणमा धेरै नै महत्वपूर्ण स्थान हुन्छ । यसका लागि कुनै पनि समाचार सम्प्रेषण गर्दा सत्यमा आधारित, मूल्यमा आधारित र राष्ट्र र जनताका हितलाई मध्यनजर गरेर गर्दा सेवाको साथमा पुण्य कमाउन सकिन्छ । समाज र राष्ट्रको निर्माण गर्नका लागि समाजमा बस्ने प्रत्येक व्यक्ति जिम्मेवार छ किनकि व्यक्ति समाजको एक अङ्ग हो ।
उसलाई सक्षम र सबल बनाउनका लागि जीवनका सबै आयामहरूका प्रति सचेत राख्नु अति नै आवश्यक छ । अन्त्यमा गोरक्ष दैनिक पत्रिका र तपाईप्रति मेरो व्यक्तिगत र संस्थागत धन्यवाद आभार व्यक्त गर्दछु । हाम्रो सेवालाई महत्व दिएर हाम्रा आध्यात्मिक समाचारहरू निरन्तर सम्प्रेषण गरिरहनु भएको छ र आज मलाई पनि आफ्ना मनका अभिव्यक्ति राख्ने मौका दिनु भएकोमा कृतज्ञ छु ।