नारायणप्रसाद श्रेष्ठ
हामीले भोलि अर्थात् २०८०÷०५÷२८ गते श्रद्धाका प्रतीक जीवनको पूर्वार्धदेखि उत्तरार्धसम्मका संरक्षक आदरका पनि आदरणीय बुबाको सम्झनामा बाबुको मुख हेर्ने कुसेऔँसी पर्व विविध कर्म र व्यवहार गरी मनाउने तरखर गर्दैछौँ । आफूलाई पृथ्वीमा जन्म गराई सांसारिक जीवन पद्धतिमा रमाउन उत्प्रेरित गर्ने आफ्नो पिताको सम्झनामा हामीले सभक्ति समर्पित भावले कर्म गर्न उत्सुक भएका छौँँ ।
सृष्टिको इतिहासलाई निरन्तरता दिँदै जन्म मरणको ऐतिहासिक सत्यलाई गति दिने बाबुले निर्वाह गर्नुभएको त्याग र समर्पणप्रति भावविह्वल भई आफूलाई प्रस्तुत गर्न यस अवस्थामा उत्साहित भएका छौँ । मातापितालाई सर्वश्रेष्ठ भगवान्को स्वरुप मानी नतमस्तक भएर पर्वलाई श्रद्धाभक्तिपूर्वक पुज्ने कार्य गर्दै गराउँदै छौ । सेवा र सद्भावमा कुनै कमजोरी नहोस् भनी अटल, विश्वास र भरोसाका साथ बल, बुद्धि, विद्या, योग्यता, ऐश्वर्य, मान, इज्जत, सम्मान आदिका स्रोत पिता हुन् भनी सामाजिक सचेतना वृद्धि हुने गरी यस पर्वलाई आत्मसात गर्दैछौँ ।
त्यस दिन कुशलाई विष्णु भगवान्को प्रतीक मानी घरभित्र भिœयाउने कार्य समेत गर्दैछौँँ । पर्वलाई अनिवार्य कर्मभित्र परिभाषित गर्दै आचरण र व्यवहार प्रदर्शन गर्न हामी लालायित हुँदैछौँ । पर्वलाई खुसी र हर्षका साथ मनाउन छुक्नेछैनौँ । सत्य कथामा आधारित पौराणिक कहानीभित्रका ध्रुव बन्ने कोशिस समेत गर्न पछि पर्नेछैनौँ । आमाबुबालाई कुन किसिमको सम्मान दिनुपर्छ भनी यथोचित सम्मानसहित सभक्ति व्यवहार गर्न लालायित हुने छौँ । बाबु हुनेले बाबुको घरआँगनमा पुगी, पाउमा दण्डवत गरी मीठामीठा खानेकुरा खुवाई, राम्रा वस्त्र पहि¥याइ श्रद्धा प्रकट गरिरहेका हुनेछौँ भने बाबु नहुनेले बाबुको सम्झनामा विभिन्न मठमन्दिरमा दान, धर्म, कर्म गरी सम्पन्न गर्नेछौँँ ।
असहायको सहाय बनी चहराइरहेको घाउमा मल्हमपट्टी गर्न समेत पछि पर्ने छैनौँ । कुशको महिमा बुझी यसबाट प्राप्त हुने गुणलाई आत्मसात गर्दै बृद्धहरुको सम्मानमा कुनै कमजोरी हुन नदिने प्रण ग¥यौँ । पूर्वजको सम्झना नै आगामी दिनको उज्यालो भविष्य हो भनी बाआमाप्रति श्रद्धाभक्ति प्रदर्शन ग¥यौँ र गरिरहौँ । वास्तवमा यो कर्म मनुष्य जीवनको लागि महत्वपूर्ण आधार पनि हो । बाबुआमालाई सम्मान दिने हाम्रो नैतिक आचरण र कर्तव्यपरायण पनि हो । त्यसैले प्रेम र पवित्र भावले श्रद्धापूर्वक आफ्ना अभिभावकलाई सम्मान दिने वातावरणमा सबै लागिपरौँ, यो पर्वले हामीलाई यही सन्देश दिएको छ ।
वर्तमानको मानवीय आचरणभित्र देखापरेको आचरण र व्यवहारलाई हेर्दा लाग्छ हामी सबै देखावटी मात्र त गरिरहेका छैनौँ ? जति पनि दान, धर्म, पुण्य गरिरहेका छौँ कतै त्यसमा हाम्रो स्वार्थ लुकेको त छैन ? त्यसतर्फ अब सबै गम्भीर बन्नु परेको छ । दान, धर्म, पुण्य कर्मको लागि मठमन्दिर, मस्जिद जहाँतहीँ जानु मात्र पुण्य कर्म हो ? बुद्धिजीवी, साधु, सन्त, महाजन जहाँतहीँ जानु र सम्मान र सद्भाव प्रकट गर्नु तथा करजोडी नमस्कार गर्नु कतै त्यसभित्र हाम्रो स्वार्थ लुकेको त छैन ? मनुष्यको जीवन एक स्वर्णिम मन्दिर हो ।
जुन देहरुपी अंगको प्रत्येक भागमा ईश्वरीय चैतन्य लुकेको छ । हामी हाम्रा अंगप्रत्यंगले जेजति पुण्य कर्म गरिरहेका छौँ, ती सबै ईश्वरीय संरचनाभित्रको आदर्श कर्म हो । सृष्टिको इतिहासमा निमित्त बनेका हाम्रा पूर्वज जसले हामीलाई पवित्र संस्कारभित्र हुर्काउन र जीवनलाई गति दिन गतिशील बनाए त्यो नै हाम्रो जीवनको सुखद् क्षण हो भनी जान्दाजान्दै हामीले हाम्रा पूर्वजको त्यागलाई रत्तीभर नमानी वर्तमानमा जुन किसिमले स्वार्थकेन्द्रित गरी रमाउने चेष्टा गरिरहेका छौँ, त्यसले कतै हाम्रो आचरण र व्यवहारमा प्रश्न चिह्न खडा गरेको त छैन ? हात जोडी नमस्कार गर्नु र पाउमा परी ढोग गर्नु यो बाबुआमाप्रतिको सम्मान मात्र नभएर ईश्वरप्रतिको समर्पण पनि हो ।
तर, यस कुरालाई अहिले खासै महत्व दिइएको देखिँदैन । मानव शक्तिभित्रको हातमा यस्तो चैतन्य शक्ति छ जहाँ सबै तीर्थ रहेको पाइन्छ । हामीले विभिन्न मठ, मन्दिर, मस्जिद र गिर्जाघर धाउनुपर्दैन । हाम्रो हातभित्र देवतीर्थ, ऋषितीर्थ, पितृतीर्थ, ब्रह्म तीर्थ यी सबै विराजमान छन् । यी कुराहरु हाम्रो पौराणिक ग्रन्थमा उल्लेख भएको पनि पाइन्छ । देवतीर्थ भन्नाले हातको अग्र भागलाई भनिन्छ (पूर्व) । जुन स्थानबाट भगवान्लाई जलार्पण गराइन्छ । ऋषितीर्थ भनेको हातको बीच भागको तल्लो तह (उत्तर)लाई भनिन्छ ।
जहाँबाट अञ्जुलीभरि पानी राखि ऋषिलाई तर्पण गरिन्छ । पितृतीर्थ भनेको हातको दाहिनेतर्फको बूढीऔलातर्फको भागलाई भनिन्छ । जहाँबाट दिवंगत भएका आफ्ना पुर्खा तथा मान्यजनलाई जलार्पण गरिन्छ र ब्रह्मतीर्थ हातको नाडीतर्फको भाग (हस्तरेखा सुरु हुने)लाई भनिन्छ । जहाँबाट मानिसले स्वयम्लाई जलार्पण गरी आफ्नो आत्मालाई तृप्ति दिन्छ । यसरी सेवा गर्ने हातले दिइने जलले देव, ऋषि, गुरु, पितृ, ब्रह्म र स्वयम् तृप्त हुन्छन् । त्यहाँ आनन्दको अनुभूति हुन्छ ।जुन आनन्दभित्र निःस्वार्थ लुकेको छ । तसर्थ, हामीले सम्मान दिनुपर्दा वा कुनै पनि व्यक्ति, बाबुआमा, गुरु, मान्यजनलाई श्रद्धा प्रकट गर्दा निःस्वार्थ र प्रेम भाव उत्पन्न हुने गरी समर्पण हुनु पर्छ ।
जहाँ आत्मतृप्ति हुन्छ त्यहाँ प्रेम उत्पन्न हुन्छ । जहाँ प्रेम भाव जागृत हुन्छ त्यहाँ आनन्द र खुसीपन पनि हुन्छ । आनन्द र खुसीको अनुभूति हुनु नै आत्म शुद्ध र पवित्र भई ईश्वरीय आनन्द लिनु हो, आत्मा शुद्ध गर्नु हो । भन्ने गरिन्छ तृप्ति नै आनन्दको सागर हो । नमस्कार गर्नुको अर्थ लोभ, मोह र अहंकाररहित भई म तपाईंको सेवामा समर्पित छु भन्ने भाव जनाउनु हो । किनकि हातको मूलभागमा सरस्वती, अग्रभागमा लक्ष्मी र अन्य भागमा पार्वती माताको बास रहेको हुन्छ भन्ने हाम्रो सास्त्रीय मान्यताले पनि हामीले भक्तिपूर्वक आफूलाई समर्पण गरेका हुन्छौँ ।
बाबुको मुख हेर्ने पर्व त्यसै मनाइएको होइन, त्यसभित्र धेरै सत्य र जीवनको यथार्थता लुकेको पाइन्छ । त्यसैले हाम्रा पुर्खाले सिकाएका र श्रद्धाभक्तिपूर्वक समर्पित रहने जुन भाव जगाउन हामीलाई उत्प्रेरित गरेका हुन् त्यसको गहिरिएर मूल्यांकन गरी श्रद्धाका प्रतीक बाबुको आत्मा तृप्त हुने गरी आफूलाई समर्पित गर्नुपरेको छ ।
तसर्थ, आशक्तिलाई निःस्वार्थ रुपले सेवा र समर्पणमा रहने दृढतासहित आफूले निर्वाह गर्नुपर्ने प्रत्येक कर्म र व्यवहारप्रति सजग रही प्रेमरुपी सुधारश पिउँदै आत्मतृप्ति हुने गरी बाआमाको श्रद्धामा समर्पित हुन सिकौँ । देखावटी र बनावटी भावले गरिने कुनै पनि कर्मको नतिजा राम्रो हुँदैन भन्ने सत्यबोध गरी सृष्टिको इतिहासमा आफू पनि बाबु बन्नुपर्छ भन्ने जानकारी लिई बाआमालाई सम्मान दिने कर्म गरौँ, गराऔँ ।
यसरी कुसेऔँसी पर्वले हामीलाई हाम्रो आचरणभित्र समर्पण हुन उत्प्रेरित गरेको छ । वर्षमा एकपटक मनाउने पर्वले पूर्वजको सम्झना गराउन उत्प्रेरित गर्दै निःस्वार्थ सेवामा रमाउन जागृत गरेको छ । कुनै पनि अभिलाषा नराखी सेवामा समर्पण हुनु भनेको प्रेमस्वरुप उनको मान, मर्यादा र कर्मलाई सम्मान दिनु हो । प्रेम र पवित्र भावले मातापिताको आत्मा तृप्ति हुने गरी गरेको कर्मले आगामी पिढीमा सत्य संस्कारको विजारोपण भएको हुन्छ । बाआमा भनेका इश्वरको प्रतिरुप हुन् त्यसैले अहिले भौतिक सुखको लालचका लागि केवल एक दिन मात्र सम्झना गर्ने हाम्रो परिपाटीको अन्त्य गरी वर्षभरि आफ्नो बाबुआमाप्रति समर्पित रहने वातावरण सिर्जना गरौँ ।
लोभीपापी मनको वह सुन्ने परम्पराले आमाबाबुप्रति हेर्ने दृष्टिकोणमा जुन स्वार्थ लुकेको छ त्यसलाई परित्याग गरी घरमै सेवा गर्ने वातावरण तयार गरौँ । बृद्धाश्रममा राखी त्यही बाबुले कमाएको सम्पत्तिमा रजाइँ गर्ने कार्यलाई दुरुत्साहन गरौँ । अहिले बाबुआमा आफू सम्पन्न र पवित्र भए पनि छोराछोरीको स्वार्थपरक कार्यले भिख मागेर जिउन बाध्य भएको स्थिति देखिन्छ । उनै बाबुको सम्पत्तिमा सत्ता, मत्ता र महानता प्रदर्शन गर्न अहिले मानिस लागि परेको अवस्था छ ।
बाबुआमाको मुख हेर्ने पर्व केवल देखावटी रुपमा मनाइएको पाइन्छ । तसर्थ, बाबुआमाको बाणीमा ईश्वरीय वचन लुकेको हुन्छ भन्ने सत्य अमृत ग्रहण गरी हामीले मनाउँदै आएको यस पर्वलाई यसको वास्तविकतासँग परिचित भई बाबुआमाको आत्मा तृप्ति हुने गरी कर्म गर्न सिकौँ र सिकाऔँ, युगले यही खोजिरहेको छ । जीवनको उद्देश्य पनि यही हो, चेतना भया ।