Goraksha

National Daily

नचल्ने एयरपोर्ट, तालझुण्डी युनिभर्सिटी, डेथलेन सडक

खेमराज रिजाल
दाङ, २६ भदौ । ‘झल्को लाली ओठको, मोटर बाटो बन्यो गाडी चल्यो जुम्ला कालीकोटको’, जुम्लामा पहिलो पटक गाडी पुग्दा एक जना कलाकारले रचेको यो रचनाले जुम्लालाई समृद्ध बनायो । रारा ताल एउटा प्रमुख पर्यटकीय गन्तव्य बन्यो । हवाई सेवाको मात्रै भरमा रहेको कर्णाली अहिले हुम्ला र डोल्पा बाहेक सबै जिल्लामा समृद्ध यातायात छ ।
तर भएको यातायात सेवा, भएको हवाइ सेवा र चलेको संस्कृत विश्वविद्यालयलाई धक्का दिने गरी प्रादेशिक राजधानीमा एउटा आन्दोलन छ । एयरपोर्ट स्तरवृद्धि गर्न नदिने, नेपाल संस्कृत विश्वविद्यालयलाई जागिरेको अखडा मात्रै बनाउने र चारलेनका नाममा स्तरोन्नति हुन लागेको सडकको यस अघिको कार्यप्रगतिलाई गुमनाम गरी डेथलेन बनाउने अभ्यास भएको छ ।
यहाँका राजनेताको शिर निहुरिनु पर्ने हो, यहाँका राजनेताको आत्मग्लानि हुनु पर्ने हो । यहीँकै मुख्यमन्त्रीको शिर झुक्नु पर्ने हो । डुम्रीगाउँमा स्थायी घर भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई राजधानी पुग्न कहिले नेपालगञ्ज त कहिले भैरहवाको ट्रान्जिट पकड्नु परेको छ । यसले मुख्यमन्त्रीको समय किल भएको मात्र होइन, कहिलेकाहीँ जहाज अवतरणको पनि समस्या हुन्छ । चाहेको बेला मुख्यमन्त्री सङ्घीय क्याबिनेटको सदस्यका हैसियतले क्यादिनेटमा गयल हुने अवस्था पनि देखिएको छ ।
प्रादेशिक राजधानी भएको जिल्लामा एउटा चलेको विमानस्थल स्तरोन्नति नहुँदा यहाँका मुख्यमन्त्रीलगायत नेतालाई आत्मग्लानि हुन्न र ? तर यो विषयमा सङ्घीय संसद् बेखबर छ । प्रदेशका अर्थमन्त्री धनराज मास्कीले त बिजौरी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सार्वजनिक अभिव्यक्ति दिएका थिए, ‘प्रदेश सरकारले एयरपोर्ट बनाउनु पर्ने रहेनछ ।’ यदि त्यस्तो हो भने यस अघिका मुख्यमन्त्री शंकर पोख्रेलले नारायणपुर क्षेत्रमा विमानस्थल बनाउने प्रक्रिया भाषणमा भनेका थिए त । यसैगरी प्रदेश गुरुयोजनामा पनि देउखुरीको राप्ती पालिकामा एयरपोर्ट बनाउने उल्लेख छ तर कहाँ गयो त्यो राजधानी गुरुयोजनाको कार्यान्वयन ? यो त भयो हवाई सपना ।
दाङबासी त सडक सपनामा पनि स्तरोन्नतिको साटो खाडलमा जाकिइरहेका छन् । चारलेन सडकको आयोजनाका एकजना अधिकारीलाई पनि दाङबासीले भेट्न पाएनन् । चारलेनका आधिकारिक निर्माण व्यवसायीलाई पनि भेट्न पाएनन् तर चारलेन एउटा जिल्लाकै गौरवको आयोजना हो भन्ने दाङबासीमा आत्मगौरवको विषय थियो ।
त्यसैले सुरुआती ताका चारलेनका नाममा कसैले उधारोमा कोठाभाडा दिए, कसैले उधारोमा दाल, चामल दिए, कसैले फर्निचर र कम्प्यूटर उधारोमा दिए तर चारलेनका नाममा आफूले पैसा नपाएका उजुरीका चाङ हुँदा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र परियोजनाले उधारो भुक्तानी दिलाउन सकेन, अन्त्यमा चारलेन डेथलेनमा परिणत भयो ।
भएको सडक बिगारेर भताभुङ्ग पारियो । यस्तै खाडलमा दुर्घटनामा परी कम्तिमा दुई दर्जन बढीको दुःखद निधन भएको छ । कति अङ्गभङ्ग नै भएका छन् । कति सवारी साधनका पट्टा भाँचिए, कतिका इन्जिन बिग्रिए । दिनदिनै खाडल छल्दै जाने सडकमा कति इन्धन खपत बढेको छ । यसको परीक्षण गर्ने कुनै विज्ञ छैनन् वा चाहेर पनि गर्दैनन् । किनकि यस्ता असफल आयोजनामा सरकार र जनप्रतिनिधि नै फसेका हुन्छन्, तैँ चुप मै चुप ।
त्यही भएर चारलेनका लागि स्थानीय सरकारले राजस्व नलिई दिएका नदीजन्य पदार्थको हेक्का स्थानीय सरकार, परियोजना कार्यालयलाई थाहा छैन । सडक किनाराका हजारौँ रुख काटिएका थिए, त्यसको हेक्का न डिभिजन सडकलाई छ, न त डिभिजन वन कार्यालयलाई नै छ । नागरिकले हिसाब त अब चुनावमा मात्रै खोज्ने हो ।
सधैँ ताला झुण्डिने विश्वविद्यालय
अब नेपाल संस्कृत विश्वविद्यालयको तालाबन्दी आन्दोलनको कुरा गरौँ । हात्तीका दुईवटा देखाउने दाँत, एउटा खाने दाँत । देखाउने दाँतलेभन्दा खाने दाँतले काम गर्छ । पटकपटक पदाधिकारी फेरिएसँगै यहाँ जागिरको प्रलोभन बढिरहन्छ । सरुवाको माग बढिरहन्छ अनि बढुवाको माग बढिरहन्छ । राजनीतिक दलका आवरण भित्रका आसेपासेले कहिले जागिर खुवाउनका लागि विज्ञापन खोल्न लगाउँछन् । कहिले सरुवा बढुवाको कुरा ल्याउँछन् अनि कहिले सेवा आयोग र डिन नियुक्तिका कुरा ल्याउँछन् ।
बेलझुण्डी विश्वविद्यालय विश्वको यस्तो विद्यालय हो, जसको केन्दी्रय विद्यपीठमा पढ्न आउने विद्यार्थीभन्दा पढाउन आउने अध्यापक बढी छन् । विश्वविद्यालयमा विद्वत्ता मरिसकेको छ । यो सुरुआत अहिले भर्खरै भएको होइन, यस अघिका सेवा आयोगका अध्यक्षबाटै भएको हो । धेरैले पैसा तिरेर जागिर खाए, धेरैले नपढिकन चिटिङ गरेर सर्टिफिकेट लिएको प्रसङ्ग पनि छ । किनकि एउटा संस्कृत विषयमा आचार्य गरेको विद्यार्थीले साच्चै अन्य मुलुकका संस्कृत विश्वविद्यालयमा बिक्ने हैसियत राख्छन् त ?
यदि मुलुकका सबै निकाय यसरी नै तदर्थतावादमा चल्ने हो भने जयतु संस्कृतम् आन्दोलन अनि दाङमै भएको अन्तर्राष्ट्रिय विद्वत सम्मेलन र त्यसपछि योगी नरहरि नाथले स्थापना गरेको विश्वविद्यालयले के प्रतिफल देला ? नेपाल संस्कृत साच्चै जागिर खुवाउनकै लागि हो भने अर्कै कुरा हो, होइन भने तालाबन्दीको कुनै तुक छैन । कसैले सेवा आयोगको धाँधली नसहेर लोक सेवा आयोग गुहार्ने त कसैले फेरि स्वतःस्फुर्त नियुक्ति दिलाउन फेरि सेवा आयोगलाई प्रभाव पार्न तालाबन्दी गर्ने ? यो अवस्थाले विश्वविद्यालयमा जागिर खानेको पनि गरिमा बढ्ने छैन ।