चाडपर्वसँगै बजारमा किनमेलको भिड

बालाराम खड्का
तुलसीपुर, २६ भदौ । चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ । नेपालीको चाडहरू कृष्णजन्माष्टमी र हिन्दु नारीले मनाउने महत्वपूर्ण पर्व हरितालिका तिज नजिएसँगै बजारमा किनमेल गर्नेहरूको भिडभाड बढेको हो । दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर, बिजौरी, हापुरेका बजारमा किनमेल गर्ने महिलाको भिडभाड लाग्ने गरेको हो ।

विशेष गरी कपडा, शृङ्गार पसल र खाद्यान्न पसलमा दैनिक भिड लाग्ने गरेको छ । त्यस्तै सुन पसलमा पनि त्यत्तिकै भिड हुने गरेको छ । धेरैजसो कपडा पसलमा तिजका सामान साडी तथा अन्य पोसाक किन्नेको दैनिक भिड लाग्ने गरेको छ । शृङ्गार पसलमा पनि अन्य समयभन्दा अहिले बढी भिड हुने गरेको छ ।

विशेष गरी कपडा, कस्मेटिक, गहना पसलमा बढी भिडभाड हुने गरे पनि व्यापार भने त्यत्ति सन्तोषजनक नभएको केही व्यवसायी बताउँछन् । कोरोनापछि थलिएको बजार पछिल्लो समयको आर्थिक मन्दीले गर्दा पनि सोचे अनुसार व्यापार व्यवसाय हुन नसकेको व्यवसायी बताउँछन् तर यस अघिका वर्षभन्दा केही व्यापार व्यसाय भने बढेको छ ।

तिज पर्वलाई लक्षित गरी बजारमा विभिन्न खालका नयाँ–नयाँ डिजाइनका पहिरन भित्रिएका छन् । परापूर्वकालदेखि साडी चोलोमा सजिँदै आएका नारी पछिल्लो समय आधुनिकता तथा पश्चिमा संस्कृतिको सिको गर्न थाले पनि साडी भने किन्नेको भिड नै हुने गरेको छ । यस वर्ष तिज असोज महिनाको १ गते परेको छ ।

तिजलाई मध्यजनर गर्दै विभिन्न सामग्री किनमेल गर्नेको भिड भने धेरै छ । ‘गत वर्षभन्दा बढी भिड त बजारमा छ तर पहिले हजारौँको सामान दिने अहिले सयमा झरेका छन्, व्यापार त्यति सोचेअनुसार छैन’, व्यवसायी ओहित सिद्धिकीले भने । उनले यस अघि लाखौँको थोक सामान लिने व्यवयासीले अहिले हजारौँमा झरेको बताउँछन् । ‘जताततै आर्थिक मन्दी लागेको छ, हाम्रो व्यापार पनि सोचेअनुरूप छैन’, उनले भने ।

कपडा व्यवसायी कल्पना केसीले भने गत वर्षभदा यो वर्ष किनमेल गर्ने बढेको बताइन् । उनले कपडामा मूल्य धेरै बढेका कारण भने मन खोलेर किनमेल गर्ने कम भएको बताइन् । स्थानीय चन्दकला वलीले यस अघि करिब १२ सय पर्ने साडी अहिले २२ सयसम्म पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरिन् । ‘नारीको महान पर्व तिज हो ।

महिलाले नयाँ लुगा लगाउने, आफ्नो दक्षता अनुसार गरगहनामा सजिने पर्व हो तर जताततै महँगी बढेकाले चाडवाड पनि खल्लो लाग्न थालेको छ’, उनले भनिन् । त्यस्तै दैनिक उपभोग्य सामग्री पनि महँगिएका कारण यस वर्ष चाड महँगो पर्ने स्थानीय मनकली बढाले बताइन् । उनले यस अघि ६ सय प्रतिकिलो पाइने जिरा अहिले १२ सय पुगेको भन्दै भान्सा निकै महँगो भएको बताइन् । तिजको लागि दर खाने पुलाउ चामल र अन्य चामल पनि दुई गुणाले बढेको उनको गुनासो छ ।

उनी जस्तै धेरैजसो गृहिणीले बजारमा किनमेल गर्न आफूहरू आउँदा भाउ आकासिएर छुनै नसक्ने अवस्थामा पुगेको बताउँछन् । यता व्यवसायीले भने खरिद मूल्य नै बढेकाले आफूहरूले पनि सोही अनुसार बिक्री गर्ने गरेको बताएक छन् । ‘चाडपर्व नजिकिएको छ, हामीले पनि खरिद अनुसार बिक्री गर्नु पर्छ’, व्यवसायी कमल केसीले भने, ‘यस वर्ष सबै कुरा महँगो नै छ ।’
शनिवार पनि बजार खुल्ला

यसैबिच यहाँका उद्योग वाणिज्य संघहरूले चाडपर्वलाई मध्यजनर गर्दै शनिवारका दिन पनि बजार खुल्ला राख्ने निर्णय गरेका छन् । नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै दाङको तुलसीपुर, बिजौरीका बजार शनिवार पनि खोलिने भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघ तथा बिजौरी उद्योग वाणिज्य संघको नियमित बैठकले केही दिन अघि शनिवारदेखि बजार खोल्ने निर्णय गरेको हो । यस अघि शनिवार बजार बन्द हुँदै आएका थिए । त्यस्तै यहाँको उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीलाई म्याद गुज्रेका सामान तत्काल हटाउन आग्रह गरेको छ । बजारमा म्याद गुज्रेका सामान बिक्रीवितरण हुने गरेको र मूल्य पनि पसलै अनुसार फरक–फरक हुने गुनासो आएको बेला तत्काल हटाउन वा फिर्ता गर्न व्यवसायीलाई आग्रह गरिको हो ।

आउँदै गरेका चाडपर्वका अवसरमा बजारमा हुने अनुगमनलाई सहजीकरण गर्दै म्याद गुज्रेका सामान तत्काल हटाउन वा फिर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने निर्णय भएको महासचिव बिनिल केसीले बताए । चाडपर्वमा हुने मौसमी अनुगनका बेला मात्र म्याद गुज्रेका सामान हेर्ने र अघिपछि कुनै नियमन नगर्ने भन्ने जनगुनासोलाई पनि यसले सम्बोधन गर्ने भन्दै व्यवसायी नै आफै सजक हुनु पर्ने बताइएको छ ।

उपभोक्ता हक हितको क्षेत्रमा काम गर्ने संघसंस्था भए पनि त्यसतर्फ कसैले चासो नभएको स्थानीयको गुनासो हुँदै आएको छ । चाडबाडमा उपभोक्तालाई दिने सहुलियत र देखिने गरी अनिवार्य रूपमा मूल्यसूची टाँस गर्न पनि व्यवसायीहरूलाई अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।