बिपी, कांग्रेस र आज

चुडामणि धिताल
बिपी कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ मा भएको हो । उहाँप्रतिको श्रद्धाले केही लेखेर सम्झना प्रकट गरुँ भन्ने लाग्यो । बिपीका बारेमा धेरैले धेरै लेखिसकेका हुनाल थप नयाँ विषय वा कुरा लेख्न सलिो त छैन । यसैमा पनि उहाँको व्यक्तित्वका बारेमा विभिन्न दृष्टिकोण राख्नेहरुको पनि कमी छैन तर पनि बिपी जयन्तीमा सन्दाजुलाई नसम्झने को पो होला र ? त्यसो त उहाँका कतिपय उत्कृष्ट कथाहरुले नेपाली साहित्यलाई समृद्ध बनाएको छ । साहित्य जगतमा पनि बिपीको नाम स्वर्णिम अक्षरले लेखिएको छ ।

अब एकैछिन बिपी र कांग्रेसको बारेमा संक्षेपमा कुरा गरौँ । बिपीले जीवनभर दुःख पाएर जवन्माएको र हुर्काएको पार्टी बुझ्न, बिपी नबुझी अपूर्ण हुन्छ भने बिपी बुझ्न पनि कांग्रेस बुझ्न उत्तिकै आवश्यक छ । निर्धक्क भन्न सकिन्छ– बिपी र कांग्रेस एकअर्काका पुरको रुपमा जोडिन पुग्छ । त्यसो त कांग्रेस हजारौँ नेता, कार्यकर्ताको बलिदानी र रगतले सिन्चित पार्टी हो । जसको क्रान्ति र नेतृत्वमा विशिष्ट स्थान छ ।

गान्धीको असहयोग आन्दोलनमा बचपनमै सहभागी हुनुभएका बिपी भारतीय सङ्ग्रामबाटै आफूलाई राजनीतिमा हाम फालेको इतिहास छ । भारत स्वतन्त्र नभइ नेपालमा राणा शासन अन्त्यको सङ्घर्ष कठिन छ भन्ने उहाँको धारणा थियो । प्रजातन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका बिपी जन्मँदै सङ्घर्ष गर्ने नियति लिएर आएजस्तै भयो । हुन त उहाँ जीवितै रहँदा प्रजातन्त्र पुनःस्थापना वा देख्न पाउनु भएन तर वि.सं. २०३६ सालको जनमतसङ्ग्रहपछि अबका दश वर्षमा प्रजातन्त्र आउँछ भनी उहाँले गरेको भविष्यवाणी भने पूरा भयो । आखिर जनताका घरआँगनमा प्रजातन्त्रको शुभप्रभातले प्रवेश पायो ।

बिपी जयन्तीको अर्थ उहाँलाई चिन्नु वा बुझ्नु हो भने उहाँको सपना पूरा गर्नु सार्थकता हो । खुला आकाशमुनि स्वतन्त्र रुपमा बिपी बुझ्न गाह्रो छैन । बिपी एक खुला किताब, निष्पक्ष पढियो भने अध्यताहरु एउटै बिन्दुमा पुग्ने छन् । बिपी केवल व्यक्ति विशेषको नाम मात्र होइन अपितु एक विचार, सिद्धान्त, आदर्श र व्यवहारको सङ्गमका रुपमा बुझ्नु उहाँप्रति न्याय गरेको ठहर्छ । यी चार तत्वका चत्तुर्वेणी बिपी जस्तै कठिन सङ्कटमा पनि उहाँमा विचलन आएन ।

बाँचुन्जेल प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा न त थकान देखियो न त कुनै विश्राम । बरु निष्प्रवाहीपूर्वक अर्थात् आफ्नो व्यक्तिगत स्वार्थलाई कहिल्यै प्रवेश दिनुभएन । यो नै उहाँका गुणमध्ये सम्झना गर्नु पर्ने वा बिर्सनै नहुने पहिलो र प्रमुख गुण हुन् । बिपी नाम अगाडि महामानव, जननायक आदि विशेषण जोडिए पनि मात्र बिपी नामभन्दा, यस्तो उज्ज्वल नक्षेत्र हाम्रो अगाडि उभिन्छ, ती विशेषण त सूर्यको पूजा गर्दा बालिने बत्तीसरह हुन्छन् ।

बिपीको व्यक्तित्व नेपाली भूमिमा मात्र अटाएन । खास गरी एसियामा आम निर्वाचनबाट सत्तामा पुगेको पहिलो समाजवादी पार्टी कांग्रेस र त्यसको नेतृत्व गरेको बिपीको व्यक्तित्व एक साथ अन्तर्राष्ट्रिय जगतमा अनावरण भएको हो । बिपीको व्यक्तित्वको कुरा गर्दा पोखरामा भएको कांग्रेस महाधिवेशनको सम्झना आयो । कुरा भेटघाट प्रसङ्गको हो । हामी, अँ मेरो नाताले भाइ (भागवत रेग्मी उनी अधिवक्ता वकिल पनि हुन्) जहाँ बसेका थियौँ संयोगले बिपीका– वि.सं. २०१६ सालतिरका महामन्त्री श्री भद्र शर्मा पनि त्यहीँ बस्नुभएको रहेछ ।

घर, हाम्रा नाजिकका नाता पर्नेको हो । यी त भए सामान्य कुरा प्रसङ्ग त श्री भद्र शर्मासँगको भेट हो । करिब दुई घण्टाको भेटघाट समय बिपीप्रति भनौँ वा जिज्ञासा थियो । हुन त समसामयिक अन्य राजनीतिक विषयमा पनि छलफल भएका थिए तर यहाँ बिपी सम्बन्धित मात्र उल्लेख गर्न चाहेँ ।
कुरा वि.सं. २०१६ सालकै हो ।

भारतीय समाजवादी पार्टीको आफ्नो रजत जयन्ती समारोहमा, नेपाली कांग्रेस र स्वयम् बिपी नै उपस्थित भइदिन विशेष आग्रह थियो तर व्यस्तताका कारण बिपीले श्री भद्र शर्मा र योगेन्द्रमान शेरचन (तत्कालीन खाद्य कृषि उपमन्त्री)लाई समारोहमा जान भन्दै आफ्नै हस्ताक्षरको शुभकामना सन्देश दिँदै भन्नुभएछ – ‘म यसलाई नेपालीमा पनि आफै तयार पारिदिन्छु भनेको थिएँ तर त्यसो गर्न भ्याइनँ । यसको नेपाली अनुवाद तपाईँहरु आफै गर्नुहोस् र सम्मेलनमा मूल कपीका रुपमा नेपालीमा पढ्नुहोस् । अङ्ग्रेजी कपी अनुवादका रुपमा पछि पढिदिए हुन्छ ।’

बिपीले भनेअनुसार नै श्री भद्र शर्माले नेपालीमै पढ्नुभयो । समारोह स्थल बम्बईको दादरानगर थियो । सहभागीहरुमा युरोपका समाजवादी नेताहरु पनि थिए । एसियाका त हुने नै भए । बिपीको सन्देश भनेपछि, सबैले ध्यानपूर्वक सुने तर प्रतिक्रिया भने देखिएन । जब योगेन्द्रमान शेरचनले अनुवादका रुपमा अङ्ग्रेजीमा पढ्न सुरु गर्नुभयो, सभास्थल त तालीको आवाजले गुञ्जित भयो । त्यसपछिका वक्ताहरुले त बिपीको नाम र तारिफ नगरिकन कसैको भाषण टुङ्गिएन । उनीहरुको आग्रह थियो, नेपालले खास गरी बिपीले एसियाभरमा समाजवादी आन्दोलनलाई नेतृत्वकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा जोड थियो ।

माथिकै प्रसङ्सँगै श्री भद्रश शर्माले भन्नुभयो – हामी भोलिपल्ट समाजवादी नेता जयप्रकाश नारायणलाई भेट्न उहाँ बसेको ठाउँ बम्बईको मालावार हिलमा पुग्यौँ । भेटघाट र कुराकानीको अन्त्यमा जयप्रकाश नारायणले बिपीलाई आफ्नो सन्देश पु¥याइदिन अग्रह गर्दै भन्नुभएछ– ‘बिपीको एक महान् व्यक्ति बन्ना है और उन्हे एसियाका नेतृत्व करना है । इसिलिय उन्हे छोटीमाटी बातोँ मे उलझकर अपना महान् उद्देश्य कदापि नही भुलाना चाहिए । समस्त एसियाको उनसे बडी उमिद है ।’ यसरी बिपी बाह्य जगतका लागि पनि आशा र भरोसाका रुपमा परिचित नेता हुनुहुन्थ्यो ।

बिपी एक राष्ट्रवादी, स्वाभिमानी राजनेताका रुपमा प्रतिष्ठित भएको कुरा विभिन्न घटनाक्रमले पुष्टि गर्दछन् । यस्तै घटनामध्ये उहाँ प्रधानमन्त्री भएकै बेला मुस्ताङ घटना भएको थियो । मुस्ताङका सैनिक चौकीका कमाण्डर बमप्रसादको सीमा निरीक्षणको क्रममा चिनिया सैनिकद्वारा नेपाली भूमिमा हत्या गरियो । यस घटनालाई लिएर नेहरुको भारतीय संसदमा वक्तव्य आयो – ‘नेपाल माथिको आक्रमण भारत माथिको आक्रमण हो । भारत यस आक्रमणप्रति चुप लागेर बस्न सक्ने छैन ।’

नेताहरुको यस वक्तव्यलाई अनावश्यक भन्दै बिपीले घटनताका बारे लिने दृष्टिकोण र निर्णय भारतको होइन, नेपालको हो भनी विरोध गर्नुभयो । त्यसपछि नेहरुले पुनः संसदमै आफ्नो वक्तव्य फिर्ता लिँदै क्षमा मागे भने उत्तरको चीन सरकारले हत्या भएकोमा दुःख व्यक्त र क्षमा माग्दै क्षतिपूर्ति स्वरुप पचास हजार दियो । यसरी बिपी सानो देशको कान्छो नेताका रुपमा नभइ बराबरी हैसियत र कूटनीतिक दक्षता र सार्वभौमिकताप्रति कति संवेदनशील हुनुहुन्थ्यो भन्ने कुरा दुवै मुलुकका महान नेता नेहरुलाई र चाउ एनलाई एकसाथ क्षमता माग्न लगाउनुबाट पनि मापन गर्न सकिन्छ ।

यतिन्जेल बिपीका विचार, व्यवहार र व्यक्तित्व एवम् कांग्रेसको इतिहास र ध्येयका बारेमा चर्चा गरियो । अब के आजको कांग्रेस बिपीको विचार र सपना पूरा गर्न सङ्कल्पित छ ? यसको खाजी गर्दा निराश हुनुशिवाय कुनै विकल्प देखिँदैन । बिपी जयन्ती समारोहमा भने बिपीको सपना पूरा गर्ने वाचा घण्टौँ बोलेर नेताहरु थाक्दैनन् तर व्यवहारमा भने ठिक उल्टो छ । वि.सं. २०१७ साल पुस १ गते बिपीलाई सुरक्षा कानु अन्तर्गत थुन्नु भन्दा भ्रष्टाचारसम्बन्धी वा अन्य कुनै अभियोग लगाएर जेल कोच्न कति खानतलासीका प्रयास गरिए ।

आखिर प्रशासकहरुलाई असफलता हात लाग्यो । अठार महिना प्रधानमन्त्रीका रुपमा रहेका बिपी वि.सं. २०१७ साल पुस १ गते थापाथलीमा पक्राउ भई बरफबाग पस्दा न त काठमाडौंमा घर बन्यो न कुनै बैंकमा धन पैसा । आज भने मन्त्री हुनु र घरको थालनी एकसाथ हुन्छ । अभियोगको विषय भ्रष्टाचार बनेको छ ।

नेताकार्यकर्ता आपसी गुट, उपगुटको पैरवीमै व्यस्त छन् । विचार, नीति र आपसी सद्भाव क्षितिजमा धकेलिएका छन् । समाजवाद मुल्तवीमा थन्किएको छ । कांग्रेस बैसाखीको सहारामा हिड्दै छ । ठूलो पाटीृको रुपमा गर्व गर्नेहरुलाई सुन्निनु र मोटाउनुको हेक्का छैन । गठबन्धनको चुचुरोमा रमाएकाहरु जब फेदीमा बजारिन्छन् त्यतिखेर इतिहासले हामीलाई धेरै पछाडि छाडेर आफ्नो बाटोमा धेरै अगाडि बढिसकेको हुनेछ । यसका लागि इतिहाससँग कुनै आँसु हुनेछैन ।

अब आखिरि पर्खाइ छ, के युवा कांग्रेस आफ्नो मुटुलाई अचनोमा राखेर पार्टी भित्रका विकृति र विसङ्गतिलाई निर्मम ढङ्गले कुचो लगाउन सक्ला ? के भावी इतिहासको जुवा बोक्न तयार होला ? अन्यथा व्यक्तिगत स्वार्थको हुरीमा इतिहासको दियो निभ्ने पक्कापक्ी जस्तै छ । विगतमा जस्तै बिपी जयन्ती सभामा जानु, आउनु र भाषण गर्नु फगत समुद्रमा प्वाल परेको गाग्री लिएर जानुसरह हुनेछ ।