केपी सुवेदी
लामो समय अस्थिरताबाट गुज्रिँदै अहिलेको अवस्थामा आइपुगेको हाम्रो मुलुकमा त्यसका अवशेषहरु देखिनु दुर्भाग्य हो । मुलुकको होइन, हाम्रो दुर्भाग्य हो । किनभने व्यवस्था, परिवर्तन वा उपलब्धि सबै मानिसको लागि हो । मानिसले उपभोग गर्न नपाउने उत्पादन अथवा उपलब्धि वा विकासको कुनै महत्व हुँदैन ।
राजनीतिक परिवर्तनको सबै शृङ्खलाहरु पूरा भएर पुनरावर्तन खोजिरहेको आभाष विभिन्न अभिव्यक्तिबाट आउन थालेपछि अँधेरोमा ढुङ्गा हान्नेहरुको मनोबल बढिरहेको अनुभव गरिएको छ । यसरी सिमित प्रतिक्रियाबाट धेरै ठुलो उथलपुथल होला कि भन्ने आशङ्का गरिहाल्नु निराशावादी सोच हो भनेर सान्त्वना दिन सकिएला तर यथार्थमा परिस्थिति धेरै अगाडि बढिसकेको छ । यसबारेमा नेतृत्वहीन लम्पटहरु सत्ताको भ¥याङ्को सिँढीमा चढ्न खुट्टो उचालेकै छ । कथित नेतृत्व कहाँबाट र किन निराशाले जकडिरहेको, उनीहरुको यसबारे एकरती चिन्ता देखिन्न ।
लोकतन्त्र ल्याउने आन्दोलनमा ज्यानै गुमाउने र आफन्त गुमाउने धेरै वीरयोद्धाहरुको व्यक्तिगत आकाङ्क्षा सायदै होला । नत्र धेरै कुराको अपेक्षा नगरेको भए पनि उनीहरुको आँखामा एउटा देशको विगत, वर्तमान र आगतलाई तुलनात्मक विश्लेषण गरेर हेर्दा टाढा क्षितिजमा आशाको किरण नदेखिएपछि कति पश्चाताप हुँदो हो ? सङ्घर्षको मैदानबाट उत्रेर सडकमा विजययात्रा सुरु गर्दा आँखामा शुन्दर, शान्त र समृद्ध नेपालको तस्विर जो थियो, आफ्ना अगुवाहरुबाट सम्भव छैन भन्ने कसरी हुन सक्थ्यो ?
आफैले कानुन बनाएर, नियम नियमावली बनाएर फेरि पनि त्यसलाई लत्याएर कानुनले दिएको सुविधामा आफूलाई माथिल्लो दर्जा दिएर कानुनको विरुद्ध मुलुकको अस्मिता र स्वाभिमान विक्री गर्न पछि पर्दैनन् भन्ने कल्पना कसैले गर्न सक्तैन । यिनीहरु आफूलाई लुट्न कसरी सजिलो हुन्छ, त्यसरी नै कानुन बनाउने गरेको पनि नजीर कायम गर्न सफल भए ।
लोकतन्त्रमा विकास र समृद्धिको गति सुस्त भए पनि कानुनको राज चल्ने भएकोले शान्ति सुव्यवस्था कायम भइ नागरिक सुरक्षा प्रत्याभूत हुन्छ भन्ने आम अपेक्षामा गम्भीर आघात पुगेको भान हुँदैछ । यसको प्रमुख कारण नेतृत्व चरम अवसरवादी, सत्तालम्पट र स्वार्थी भएर नीतिहरु त्याग्दै नैतिकता बिर्सिँदै गएर आजको परिस्थिति जन्मेको हो । हेर्दाहेर्दै परिस्थिति यस्तोसम्म हुँदैछ कि हाम्रो भनिने सत्ताको शीर्ष नेतृत्वले हिजो आफूले विखण्डनकारी भनिएका, आततायी भनिएका, अवान्छित गतिविधि सञ्चालन गरेका भनेर आरोपित सिके राउत, रेशमलाल चौधरीहरुलाई समेत महान सहिष्णुतावादीको दर्जामा पु¥याउन सफल भयो ।
त्यसले आफ्नो हैसियतलाई जनताले पुनः मूल्याङ्कनमा कसरी राखेका छन् भन्ने अलिकति सोच्न पनि यिनीहरु चाहँदैनन् । आफ्नो अवमूल्यन हुँदा पनि म सही छु भनेर आत्मरतीमा रमाउँदै गर्दा एक दिन सत्ताको डोरो पनि चुँडिने र सडकमा नाङ्गो खुकुरीधारिले लखेट्दा पनि चुप लागेर भाग्न पर्नेसम्मका दूर्दिनको सामना गर्न नपर्ला भन्न सकिन्न ।
अहिले केही समय यता लोकतन्त्रबिरोधीहरुको हौसला बढेको छ । कांग्रेसले अलोकतान्त्रिक शक्तिसँग हात मिलाउँदा लोकतान्त्रिक शक्तिको शिर निहुरिएको छ तर कांग्रेसको नेतृत्व यस बारेमा बेखबर छ, कारण कांग्रेस आफ्नालाई छोडेर भए पनि सत्तालाई प्यारो ठान्छ । नत्र जनताको विशाल पङ्क्तिले खबरदारी गर्दा पनि जनताको अनुरोधलाई लत्याएर हिजोको पीडकसँग पीठ जोड्न जान हुने थिएन । किनभने सच्चा कांग्रेसले हिजो धेरै प्रताडना सहेर कांग्रेसको नेतृत्वलाई पर्खिरहेको थियो ।
कति दुर्लभ वस्तु गुमाएर पनि कांग्रेस नबिर्सिनेहरुलाई यसरी बेवास्ता गर्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो । चोटमा थप चोट दिन सत्ता साझेदार माओवादीले सुरु गरेको कुरा कांग्रेस नेताहरुले नबुझ्नु जरुरी छ । प्रधानमन्त्री बनेका प्रचण्डसँग नैतिकता, इमानदारिता छैन । उनले आफ्नै मुखले पटक–पटक यो सत्यलाई प्रष्ट्याइसके । अगाडि अङ्कमाल गर्दै पछाडि छुरा रोप्ने उनीहरुको नीति हो । वर्गशत्रु समाप्त गर्ने गोप्य रणनीति अख्तियार गरिरहेका माओवादीलाई जनताले उनीहरुको नीति बुझेर छोडिसकेका थिए ।
जनताले छोड्दै गरेकालाई आफ्नोमत लुटाएर शक्तिशाली बनाउँदा उनीहरु सत्ताको आडमा अझ बढी दुस्साहस देखाइराछन्, लोकतान्त्रिक शक्ति निरीह हुँदैछ । अहिले कतै धर्मको द्वन्द्व चर्काएर, कतै जातीय सद्भाव भड्काएर हिंसाको विजारोपण गर्दैछन् । जुनसुकै प्रकारको हिंसात्मक द्वन्द्वको शिकार कांग्रेस हुन सक्ने सम्भावना रहन्छ, कारण एउटै छ, हिंसात्मक द्वन्द्वको शिकार लोकतन्त्र र लोकतान्त्रिक शक्तिको विरुद्ध हुन्छ ।
विभिन्न जाति, भाषा, संस्कृति र सम्प्रदायमा सद्भाव विथोल्ने कामको सुरुवात माओवादीबाट भएको हो र उसलाई अझै पनि त्यसलाई कोट्याएर उत्तेजित बनाउन पाए राजनीतिक लाभ लिन सकिन्छ कि भन्ने चिन्तन आज पनि गरिरहेको पाइयो । हिजोको विद्रोहको समयमा तत्कालीन सत्तालाई चुनौती दिन अनावश्यक उचाल्ने र मच्चाउने गरेर जनमत बनाएको सबैलाई थहा छ । थाहा पाएर अर्थ हुनेले थाहा पाएको भए परिस्थिति जटिल हुने थिएन ।
अनावश्यक रुपमा विषयान्तर गरेर अप्ठ्यारो अवस्था सिर्जना गर्नु र त्यसको राजनीतिक लाभ लिनु उनीहरुको खास चरित्र हो । त्यहाँ दोहोरो चरित्र देखाउन फरकफारक पात्रहरु खटाइएका हुन्छन् । एकथरि दुस्मन भनिनेहरुसँग नजिकिएर शक्तिको आर्जन गर्ने, अर्को थरि विभिन्न जाति, सम्प्रदाय र सामाजिक सम्बन्धमा खलल् पु¥याएर विभाजन ल्याउने । यस्ता क्रियाकलाप गर्दै आफ्नालाई बचाउँदै, फरक आस्था र विचारमाथि प्रहार गर्दै कमजोर गराउने रणनीति अख्तियार भइराखेकै हुन्छ ।
त्यसैले भ्रष्टाचारी समाप्त गर्ने भन्दै फेरि नयाँ सिराबाट भ्रष्टाचारी उत्पादन गर्दै, अहिले खुलेका भनिएका भ्रष्टाचारका फाइल पनि माधव नेपाललाई सफाइ दिएझँै सफाइ दिँदै जने र फसाउन पर्नेलाई फसाउँदै जाने हो । जो न कहिले पूरा खुल्छ न बन्द हुन्छ ।