सम्पादकीय : आयात अस्वीकार हैन, व्यवस्थित बनाउन लागौं

कोरोनाको संक्रमणको जगजगी कहिलेसम्म हुने हो भन्ने थाहा छैन । उपचार बिधी र औषधी पत्ता लगाए पनि यो भाइरस बिलिन भएर तत्काल पक्कै जाने छैन । हाम्रा स्वास्थ्य समस्याका चुनौतिको सूचीमा अब करिव करिव सदाका लागि यो भाइरसको नाम रहने नै छ ।

अब कोरोना भाइरसको उपस्थितिमा पनि मानवजीवनलाई स्वस्थ्य, सुरक्षित र निर्भयपूर्ण कसरी बनाउन सकिन्छ भन्ने कुरामा पनि सोच्नु, रणनीति बनाउनु र त्यसका लागि आबश्यक वातावरण निर्माण गर्दै जानु हामी सबै मानवजातीको यतिबेलाको दायित्व हुन आउँछ ।

अंस्ति र हिजो दाङका दुईवटा सन्दर्भले यती सोंच्दै यो बिषयमा बहस र संवाद थाल्न आबश्यक महसुस भएको छ । अंस्ती तुलसीपुरमा भारतवाट तरकारी र फलफूल ल्याएपछि मण्डी नै शील गरियो । तरकारी र फलपूmल ल्याउने गाडीमा दाङ उद्योग बाणिज्य संघको व्यानर थियो । त्यसकारण त्यसको दोष दाङ उवासंघलाई दिइयो । तर, दाङ उवासंघले त्यसको खण्डन ग¥यो र प्रहरीमा आफ्नो नाम सहितको व्यानर राखी संस्थाको दूरुपयोग गर्नेलाई कारबाहिको माग गर्दै उजुरी दियो ।

हिजो फेरि दाङ उवासंघले अबैधानिक रुपमा भारतवाट आएको तरकारी समातेर नष्ट ग¥यो । अहिले सरकार र संबन्धित संस्थाहरुले लिएको रणनीति अनुसार ती कार्यहरु बैध भनिएला । तर, आयातलाई अबैध भन्दै नष्ट गर्दै जाँदा भोलीका दिनमा उत्पन्न हुनसक्ने खतरनाक परिबेशलाई नकार्न सकिदैन ।

अबैधानिक रुपमा तरकारी तथा फलफूल र टमाटर ल्याउनेलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ होला । तर, बस्तु नष्ट गरेर के सन्देश दिन खोजिएको हो भन्ने बुझ्न सकिएन ।

हो, हाम्रो स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्नुपर्ने दायित्व पनि हामीसंग छ । गाँउमा तरकारीहरु कुहिन लागे भन्ने समाचारहरु पनि आउँछन् । यस्तो समाचारहरुले मानिसलाई आक्रोशित र शसंकित बनाउछ । तर, जानकारहरुका अनुसार सबै उत्पादन बजार आयो भने ५० प्रतिशतको हाराहारीले मात्र त्यसले बजारको आबश्यकतालाई पूर्ती गर्न सक्छ । त्यो अबस्थामा पनि आयातलाई स्वीकार्नै पर्ने बाध्यता हाम्रा अगाडि हुन्छ । टमाटरको मात्रै कुरा गर्ने हो भने, गाँउवाट बजार ल्याउन सक्ने हो भने किसानको र उपभोक्ता दुबैका लागि ठूलो राहत हुने निश्चित छ । त्यतातर्फ सोंच्नै पर्छ । तर, त्यता नसोंचेर आयातलाई अस्वीकार मात्र गर्ने प्रबृत्ति कसैका लागि पनि हितकर हुँदैन । आयातलाई समझदारीपूर्वक व्यवस्थित बनाउदै भाइरसमुक्त बनाउन भने योजना बनाउन अब ढिला गर्न हुँदैन ।

आदर्शको गफले मात्र हाम्रो चुलो बल्दैन । हामी आत्मनिर्भर छैनौै । अबस्था सामान्य भए पनि आयात अनिवार्य छ । त्यो सामान्य भनिने अबस्थामा पनि कोरोना भाइरस हुने नै छ । जानकारहरुले भनेकै छन् कि, कुनै पनि बस्तुमा बस्ने कोरोना निश्चित अबधीपछि आफै नष्ट हुन्छ । यही बिश्वासका साथ संक्रमीलाई आइसोलेशनमा राखेर उपचार गरिन्छ र उनीहरु निको पनि भैरहेका छन् । टमाटर वा फलफूल वा अन्य आयातित बस्तुमा कोरोना आयो भने पनि त्यसलाई नष्ट गरेर प्रयोगयोग्य बनाउने तर्फ सोंच्नु आबश्यक छ । यो बिषयमा बिश्वका सफल अभ्यासको अध्ययन गर्नुपर्ने बेला हो यो । यतातर्फ नगएर बहादूरी देखाए झै, प्रचार खोजे झै अनी आफूमाथी कुनै सन्दर्भमा गरिएको आशंका निवाण गर्ने उपाए भेटे झैं बस्तु नष्ट गर्ने बाटो उपयुक्त हुँदैन । यसतर्फ राज्यका जिम्मेवार र अधिकार प्राप्त निकायले सहजीकरण गर्न अब बिलम्ब गर्नु हुँदैन ।

कोरोना भाइरसलाई प्रभावहिन बनाएर कसरी बस्तुको प्रयोग गर्न सकिन्छ भन्ने तर्फ सरकारी आधिकारिक निकाय बोल्न जती बिलम्ब गर्छ, समाजमा यस्ता घटनाहरु घटी रहने छन् । तसर्थ सबै जिम्मेवार बनौ, हरेक कुराको बिकल्प हुन्छ, हरेक समस्याको समाधान हुन्छ भन्ने मान्यताका साथ अबस्थालाई सरलिकृत गर्ने उपायको खोजी गर्ने तर्फ सिर्जनशील बनौं ।