डोकोबाट सटर सरेकी विष्णुमाया

पार्वती बस्नेत
दाङ, २० भदौ । दुब्लो शरीर, खिसिक्कको मिठो हाँसो, पसलमा बस्दा सामान बिक्री गर्न भ्याइ–नभ्याइ छ । पालो दिने कोही छैन तर पनि विष्णुमाया बोहरालाई कामको थकाइ छैन । घोराही–१५ विद्युत कार्यालय अगाडि फलफूल व्यवसाय गर्दै आएकी विष्णुमायालाई कामले बाँच्न सिकायो, कामले नै घरपरिवारमा सम्मान दिलाएको छ ।

‘सङ्घर्षमा बितेको जीवन सङ्घर्षमै बित्ने रहेछ, माइती छँदा पनि आप्mनो पाखुरा खियाउनै पथ्र्यो, अहिले पनि दुःख कहीँ गएको छैन’, उनले भनिन् । घोराही–१६ रावतगाउँ निवासी विष्णुमायाको विगत निकै कष्टकर थियो । बिरामी हुँदासमेत औषधोपचार गर्ने पैसा हुदैनथ्यो । छरछिमेकसँग सरसापटी माग्दा समाजले पत्याउँदैनथे । बेरोजगार श्रीमान् बुढा सासूससुरा, पढ्ने छोरा, पैसा आउने ठाउँ थिएन । गुजारा चलाउन निकै समस्या थियो ।

१२ कक्षासम्म पढेकी विष्णुमायाले सहकारीमा पैसा उठाउने काम पाउनुभयो, महिनाभरि काम ग¥यो, १५ हजार रूपैयाँ आउँथ्यो, त्यो पैसाले घरको खर्च धान्नै मुस्किल हुन्थ्यो’, उनले भनिन्, ‘यो काम गर्दै गर्दा आफ्नो काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।’ विष्णुमायाको (आमाजुदिदी) लघुवित्त समूहमा बसेकी रहिछन्, त्यो थाहा पाएपछि विष्णुमायाले पनि समूहमा बस्ने इच्छा जाहेर गरिन् तर घरपरिवारले सहमति दिएन ।

त्यसपछि विष्णुमायाको आत्मनिर्भर बन्ने इच्छा त्यहीँ रोकियो । घरपरिवारलाई थाहै नदिएर २०७१ सालमा ग्रामीण महिला उत्थान केन्द्रले निर्माण गरेको प्रगति महिला उत्थान केन्द्र समूहमा आबद्ध भइसकेपछि पहिलो पटक बिनाधितो ग्रामीण महिला उत्थान केन्द्रबाट १५ हजार रूपैयाँ कर्जा प्राप्त गरेकी थिइन् । त्यो रकमले डोकोभरि फलफूल बोकेर बिक्री गर्न थालिन् ।

‘डोकोबाट सुरु गरेको फलफूल व्यापार कहिले मकै पोल्ने, कहिले तरकारी विक्री गर्ने त कहिले बदाम भुटेर बिक्री गर्ने अर्थात् सिजन अनुसार व्यापार गर्न थालिन् । ‘व्यापारले पैसा बढाउँदै लग्यो अनि आत्मविश्वास पनि बढ्दै गएको छ’, उनले भनिन् । मासिक १५ हजार रूपैयाँ भाडा तिरेर विष्णुमायाको फलफूल पसल अहिले सटरमा सरेको छ । मासिक १५ लाखसम्मको कारोबार गर्ने बताएकी उनले सम्पूर्ण खर्च कटाएर मासिक ४० देखि ५० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको बताइन् ।

विष्णुमायाले बेरोजगार श्रीमान्लाई लघुवित्तबाट २ लाख ५० हजार कर्जा लिएर वैदेशिक रोजगारमा पठाएकी छिन् । ‘विदेसिएका श्रीमान्ले विदेश जाँदा लागेको खर्च बाहेक एक रूपैयाँ बढी पैसा पठाउनु भएन, आजभोलि फोन कन्ट्याक्ट पनि हुँदैन’, उनले भनिन् । २०६८ सालमा भागेर विवाह गरेकी विष्णुमायाको दुःख अझै पनि सङ्घर्षमै छ । पसलको आम्दानीले नै उनले घोराहीमा घडेरी किनेकी छन् । ६ कक्षामा पढ्ने छोराको खर्च, सासूससुराको औषधोपचार, चाडपर्व, पाहुना धान्ने सबै त्यही पसलबाटै हुँदै आएको उनले बताइन् ।