भ्रष्ट र स्वार्थमा लुटपुटिएको वर्तमान

नारायणप्रसाद श्रेष्ठ
मानिस स्वभावैले बुद्धिजीवी प्राणी हो । उसँग ज्ञान, विज्ञानले परिपोषित सिर्जनाका अथाह सागर छ । प्रकृति र यसले दिन खोजेको गुणात्मक खजानाको उसले भरपूर फाइदा उठाउन जानेको छ । कर्म र व्यवहारमा एकरुपता ल्याई जीवन र जगतलाई आदर्शउन्मुख गराउन ऊ सक्षम छ । अन्तरनिहित ज्ञानको भण्डारलाई लोकको हित खातिर समर्पण गर्ने उसमा शक्ति छ ।

त्याग र समर्पण उसको उद्देश्य रहेको हुन्छ । कोही कसैलाई कुनै किसिमको अप्ठेरो नपरोस् भनी उसले आफ्नो हरेक कर्ममा सेवाभाव जागृत गराउन ऊ स्वयम् सक्षम छ । निर्दोष र निष्कलंकित कार्यसम्पादनद्वारा उसले अरुको मन सजिलै जित्ने क्षमता राखेको पनि हुन्छ । आपसी विश्वास र भाइचारको अभिबृद्धि गर्दै जन्ममरणको इतिहासलाई साक्षी राखी ऊ सधैं लगनशील र कर्तव्यपरायण भएर बाँचेको हुन्छ । कोही कसैको दबाब र करकापमा होइन स्वविवेकीय क्षमता प्रदर्शन गरी उसले आफ्ना विचार प्रवाह गरिरहेको पनि देखिन्छ ।

लाभ–हानीमा होइन आत्मसन्तुष्टि र निःस्वार्थ सेवामा उसको ध्यान सधैँ एकीकृत भइरहेको हुन्छ । ऊ चाहन्छ आम जनसमुदायमा सुखी र समृद्धि प्राप्त होस् । चिन्ता, भय, इष्र्या, घमण्ड कसैमा नआओस् । सधैँ खुशी र आनन्दित भएर जीवन चलिरहोस् । प्रकृतिआमा उसको काख बनोस् । प्रकृतिमा रहने जति पनि वाह्य शक्ति छन् ती उसका बाहुबल होस् । सिंगो समाज एउटा घर बनोस् ।

गरिब, धनी, उँच, नीच कोही नबनून् । ईश्वरको दृष्टिमा जसरी सबै समान र आदरणीय छन् त्यसरी नै प्रत्येक व्यक्तिको नजरमा प्रत्येक व्यक्ति आदरणीय र क्षमतावान् बनून् । यही सोच मानव जीवनको उक्तम गति पनि हो । यसरी सोच र चिन्तनमा सकारात्मक भाव जागृत मावन जीवनको आदर्श बनी स्थापित हुन सकोस् । यो मानव जीवनको चाहना पनि हो, यसैमा उसले निरन्तर संघर्ष गरिरहेको पनि पाइन्छ ।

यसरी जीवन र मरणको इतिहासलाई साक्षी राख्दै हाम्रा पुर्खाले आफ्नो क्षमता प्रदर्शन गरी संस्कार र परम्परा बसालेका थिए । त्यसबेलामा सुख–दुःख, लाभहानी केही थिएन । विश्वास र भरोषा हाम्रो पुर्खाको आदर्श थियो । झुण्डमा बसी आपसी विश्वास र एकता कायम गर्दै बढेको हाम्रो सामाजिक मूल्यमा समयको अन्तरालसँगै निःस्वार्थमा स्वार्थले पनि बास गर्दै गयो । जसको कारणले प्रत्येक झुण्ड–झुण्डबीच विचारको भिन्नता बढ्न गई कर्म र सेवामा समेत फरकपन आउन थाल्यो । कर्ममा विविधता देखिन थाल्यो ।

सिधा हिंडेर पुगिने स्थानमा घुमाउरो बाटो बन्ने क्रम सुरु भयो । कर्म र उद्देश्य एउटै भएर पनि बाटो फरक हुन पुग्यो । यसरी पछि विस्तारै उद्देश्यमा समेत विविधता आउन थाल्यो । मानिस जति बढी चेतनशील बन्दै गए उति उनका आवश्यकताले नयाँ विचारपनि प्रादुर्भाव हुँदै गयो । जनसंख्याको बृद्धिसँगै वासस्थानको विविधता र जिउने कलाको विविधताले नयाँ–नयाँ संस्कृतिको स्थापना हुँदै गयो । बाँच र बचाऔँको सिद्धान्तमा हुर्केको मानवीय चेतनामा विस्तारै स्वार्थले अधिपत्य जमाउन सुरु ग¥यो । हुनेखाने र हुँदा खानेबीच द्वन्द्व बढ्न गई आपसी वैमनस्यताको विजारोपण हुँदै गयो ।

फलस्वरुप मानिसको विचार र कर्ममा स्वार्थले लेपन लगाउन पुग्यो र अहंकार जन्माउँदै गयो । अनि त्यसपछि अहंकारले रिस, इष्र्या एवं बदलाको परिस्थिति बढाउँदै गयो । एकअर्काबीचको सम्बन्धमा चीसोपन देखापर्न थाल्यो । तँ ठूलो र तँ सानो भन्दै आपसमा भेद बढ्न थाल्यो । मालिक र दासको मनोगत विचारले मानिसको सोचाई र कर्ममा विभाजन बढ्न थाल्यो । तेरो र मेरोको भाव जागृत भई सँगै जिउने र सँगै कर्म गर्ने मानसिकतामा विचलन पैदा भयो ।

विचारको विविधताले हेराई र गराईमा भिन्नता देखिन थाल्यो । दिउँसै सपनामा भुल्ने परिस्थिति पनि देखिन थाल्यो । हुँदा हुँदा मानिसको कर्म र व्यवहारमा मोह र आशक्तिले प्रभाव पार्न थाल्यो । मानिस आफ्नै कर्मले आफै विमुख भएर जिउन वाध्य हुने परिस्थिति समेत सिर्जना भयो । गर्दा–गर्दा विचारको विविधताले कर्ममा विभाजन ल्याउन सुरु ग¥यो ।

कामको सहजताको लागि बनेको बाँडफाँडले पछि जातीय भेद्भावको परिस्थिति निर्माण हुन पुग्यो । निःस्वार्थ प्रेममा स्वार्थ देखिन थाल्यो । म र मेरोपनको अभ्यासले सामाजिक परिवेश नै गलत दिशातर्फ उन्मुख हुन पुग्यो । विचारको भिन्नताले कर्म र व्यवहारलाई छिन्न–भिन्न पारियो । यति मात्र होइन समयको परिवर्तनसँगै मानिसको इच्छा र आकांक्षा, कर्म र व्यवहारमा स्वार्थले आफ्नो बलियो पकड जमाउन सुरु भयो । शोषण र उत्पिडनको कारण मानिसले कसैको सहारा लिनुपर्ने अवस्था स्वयम्ले सिर्जना गर्ने कार्यमा सघाऊ हुन पुग्यो ।

चाकडी, चाप्लुसी र धनसम्पत्तिबाट नै आफ्नो स्वार्थ सिद्धि गर्नेतर्फ मानिसको सोच बढ्न थाल्यो । आफ्नो र विरानो छुट्याई आफूभन्दा ठूलालाई चाकडी गर्ने परम्पराले जरा गाड्न थाल्यो । ठूलो रुखको छहारीमा बसे एक झर पानी ओत्छ भन्ने उखान निकाली मानिस आफूलाई स्वार्थपरक चिन्तनतर्फ लम्पसार गराउन उद्धत बन्यो । माथिको आशीर्वाद र सहानुभूति पाउने नाउमा विचारको शोषण हुने अवस्था बढ्यो । यतिमात्र होइन विचारमा संकुचन आयो । मानिस स्वयम् प्रतिभाशाली हुँदाहुँदै पनि उसको क्षमतामा ह्रास आयो ।

लुकेको सत्य बाहिर आउला भन्नुको साटो विचार दबेर रहने परिस्थिति जन्मियो । धनले मात्तिएको अहंकारयुक्त सोचले मानिसले अरुलाई तुच्छ सम्झिन थाले । फलस्वरुप द्वन्द्वको स्थिति पैदा भयो । एकले अर्कालाई हेर्ने दृष्टिकोणमा सकारात्मक प्रवृत्तिभन्दा नकारात्मक प्रवृत्तिले प्रश्रय पाउन थाल्यो । ठूलो र सानोको भेद बढाई हुनेखाने र अधिकार प्राप्त अधिकारी आफू पनि ठूलो र हैकमवादी बन्न पछि नपर्ने स्थितिको सिर्जना हुन सुरु भयो ।

समयको परिवर्तनसँगै एकअर्कालाई हेर्ने दृष्टिकोण र व्यवहारमा फरक अनुभूति बढ्न थाल्यो । यति मात्र होइन एकले अर्कालाई होच्याउने र शोषण गर्ने तथा व्यवहारमा पक्षपात गर्ने स्थिति पनि आइपुग्यो । विचारमा शोषण, कर्ममा शोषण बढ्न गई मानिस–मानिसबीच आपसी वैरभाव उत्पन्न हुन पुग्यो । बुद्धिमान भएर प्रस्तुत हुनसक्ने मानिसको विवेकीय शक्तिमा छाडापन आकृष्ट हुन पुग्यो ।

ज्ञान र विज्ञानले परिपोषित मानव आचरणमाथि आफै वञ्चरो प्रहार गर्ने अवस्था सिर्जना हुन पुग्यो । आफूभन्दा उच्च र धनीमानीलाई चाकडी गर्ने परम्पराको सुरुवात हुँदै मानिसको स्वविवेकीय क्षमता पनि चाकडी र चाप्लुसीभित्र परिभाषित हुन थाल्यो । आफूमा अन्तरनिहित ज्ञानको भण्डारमा ताला लगाई स्वार्थ र अहंकारयुक्त कर्म गर्नेतर्फ मानिसको सोच बढ्यो । समाज यही रोगले अहिले ग्रस्त बनिरहेको छ । भ्रष्ट र स्वार्थमा राजनीतिक नेतृत्व लुटपुटिएको छ । देख्दा सामान्यजस्तो देखिए पनि यही सोचले मानिसको मन, बुद्धि, विवेक सबै स्वार्थमा लुटपुटिन पुगी मानव मूल्य र मान्यताभित्रको उत्कृष्ट जीव पतीततर्फ धकेलिन पुगेको छ ।

तसर्थ यस्तो परिस्थिति ल्याउनमा हामीले निर्वाह गरेको कर्म र व्यवहार नै प्रमुख कारण भएकोले अब हामी स्वयम् जागृत हुनुपरेको छ । कर्म र व्यहवारले गरेको बाँडफाँडलाई सहजता दिई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपरेको छ । निजी स्वार्थमा लागेर मानवीय अस्तित्वभित्र लुकेको हाम्रो सर्वोत्कृष्टतालाई गुमाउनु भनेको आफ्नो आङमा भैँसी हिडेको नदेख्नु हो । त्यसैले त्याग र समर्पणमा आधारित कर्म गर्न जानेको मानव विवेकलाई स्वार्थमा होइन निःस्वार्थमा प्रदर्शन गर्नुपरेको छ ।

शान्ति र सद्भाव राखी बाँच्न चाहेको मानवीय चेतनशक्तिलाई प्रेम र आदरका साथ गति दिने अठोट गर्नुपरेको छ । आफूमा अन्तरनिहित ज्ञान चछु खोली सर्वे वभन्तु सुखिनः मान्यता शिरोधार्य गर्दै कर्म र व्यवहारमा आफूलाई परिस्कृत गर्नुपरेको छ । अकवरी सून सरह मान्यता प्राप्त जीवनको यथार्थलाई बुझेर नम्र र लगनशील भई जीवनलाई गतिशील बनाउनु वर्तमानको आवश्यक ता हो ।

चाकडी र चाप्लुसीको भरमा निहित स्वार्थ परिपूर्तिको लागि एकले अर्कालाई होच्याउने, शोषण गर्ने कर्म विकृतिजन्य आचरण हो । तसर्थ यस कुरालाई गम्भीर रुपले बुझी जीवन प्रेम र शान्ति तथा अहिंसामा आधारित गतिशील भइरहने पुण्य आत्मा हो भन्ने बुझी प्रत्येकले आफूलाई समर्पित गर्नुपरेको छ । एउटा आँैलाले पख्लास भनियो भने तीनवटा औँलाले आफैलाई पख्लास भन्छ भन्ने सत्य कदापि भुल्नु हुँदैन । क्षणिक लोभमा आफूलाई वर्वाद गर्नु यो कदापि राम्रो पक्ष होइन । यो सबैले बुझ्नु जरुरी छ ।