मेरो खुशी : ननगेयर एट्लस साइकल …

महिना याद भएन, उमेर सोह्र वर्षको थियो । त्यो बेला म दश कक्षामा अध्ययन गर्दै थिएँ । स्कुलमा अरू केही साथीले साइकल लिएर विद्यालय आउँथे ।
साइकलमा सररर स्कुल आएको देख्दा मलाइ पनि कताकता साइकलमोह जाग्यो । मैले त्यो चाहना परिवारका अन्य अभिभावकलाई भनिनँ, मलाई असाध्यै माया गर्ने ठुल्दिदीलाई भनेँ । सुरुमा त भन्ने मात्रै हुन्छ कि ? पाउने हो या होइन भन्ने पनि लाग्याथ्यो तर दिदी बिमला योगीले मेरो प्रस्तावलाई सहजै स्वीकार्नुभयो ।
त्यो बेला घोराहीमा चलेको साइकल भनेको एट्लस कम्पनीको थियो अनि त्यो बेलाको सबैभन्दा महँगो साइकल पनि । सरररर सडकमा साइकल कुदाउन पाउँदाको क्षण मेरो सबैभन्दा खुसीको क्षण थियो । यसमा मैले दिदी बिमलालाई धेरै पटक आभार पनि व्यक्त गरेँ । साइकल लिएर बजारभरि घुम्थेँ ।
सुरुताका सिङ्गल पाइडिल मारेर सिकेको साइकलमा केही महिनापछि डबल लोड पनि हाँक्न थालेँ । मन परेका साथीलाई साइकलमा घुमाउन पाउँदा निकै खुसी लाग्थ्यो । सिक्ने ताकाका केही दिन त मैले सपनामा पनि सररर साइकल कुदाएको देख्थेँ । कहाँ–कहाँसम्म साइकलमा सयर गरेको हुन्थेँ तर व्युझँदा आफ्नै ओछ्यानमा । लेखिदिनुहोला मेरो सबैभन्दा ठुलो खुसी दिदी बिमलाले किनिदिएको त्यो ननगेयर एट्लस साइकल … ।
म अहिले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश प्रमुखको हैसियतमा काम गर्दै छु । यस अघि म नेपाल महिला सामुदायिक संस्थामा पनि काम गरेर थुप्रै अनुभव वा खुसीका क्षण बटुलेको थिएँ । महिला सामुदायिकमा काम गर्दा गर्दै ‘सेभ दी चिल्ड्रेन’मा पनि एउटा प्रोजेक्टमा काम गरेको थिएँ । त्यहाँ मैले बालबालिकाका समस्या र समाधानका विषयमा केही ज्ञान लिन पनि पाएँ । पाँचवर्षे प्रोजेक्टका क्रममा मैले पोखरा र काठमाडौंलाई केन्द्र बनाएर काम गरेँ ।
खुसीका आ–आफ्नै परिभाषा होलान् तर मलाइ लाग्छ अरूको खुसीमा भित्रभित्रै रमाउन पाउनुको बेग्लै आनन्द हुँदो रहेछ । अर्थात् अरूलाई खुसी बनाएर आफूले आनन्द लिन सक्नु नै खुसी हो । त्यसैले बालबालिका मेरा खुसी हुन् । बेसहाराको सहायता खुसी हो । भोको पेट भएकालाई पेटभर खुवाउन पाउनु पनि खुसीकै अर्को रूप हो ।
खुसी यस्ता हुँदा रहेछन्, जसलाई शब्दमा व्यक्त गर्न पनि सकिँदो रहेनछ । खुसी भावमा व्यक्त हुने कुरा रहेछ । खुसी भन्ने शब्द सुन्दैमा आफै आनन्द लाग्ने, मन हल्का हुने र आफैमा रमाइलो लाग्ने । मेरो पढाइको सुरुवात गोरक्ष माध्यमिक विद्यालय चौघेरा दाङ हुँदै स्नातक सम्मको अध्ययन महेन्द्र क्याम्पस भरतपुरबाट स्नातक तह, त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा साथै पोखरा विश्वविद्यालयबाट विकास अध्ययन विषयमा स्नातकोत्तर तहसम्म पढाइ पूरा गरेको छु ।
के पढाइ पूरा गरी जागिर खानु वा व्यवसायमा संलग्न हुनु खुसी हो ? या बाइक वा गाडी चढ्न पाउनु खुसी हो ? यसको परिभाषा कठिन तर सानो उमेरमा साइकल चढ्न पाउँदा वा अहिले मोटरसाइकल चढ्न पाउँदा आफ्नै किसिमको खुसी मिल्छ । सायद समयले मलाई कार चढ््न पनि डो¥याउन सक्छ । किनकि समय बलवान् हुँदो रहेछ । आवश्यकताका रूपहरू फेरिँदै जाने रहेछन् ।
गोरक्ष माध्यमिक विद्यालयमा पढ्दा विद्यालयको पढाइभन्दा अन्य समयमा श्री गोरक्ष रत्ननाथ मन्दिर चौघेराको परिसरमा रहेका बरको ठुलाठुला छहारी मुनि लुकामारी खेल्ने तथा स्वर्गीय गुरु प्रभातनाथ योगीसँग चिनी खाँदै आर्ट कला सिक्दै र साँझमा मन्दिरमा हुने आरतीमा सहभागी हुन पाउँदा हुने खुसी वा आनन्द नै सबैभन्दा ठुलो हो जस्तो लाग्छ ।
हो, मेरो अर्को खुसी गोरक्ष रत्ननाथ मन्दिर चौघेराका स्वर्गीय गुरु प्रभात योगी । जसले मलाई जीवन जिउने कला र मन शान्त बनाउने कला दुवै सिकाउनु भएको थियो । उहाँका आदर्शलाई मैले जीवन्त ग्रहण गर्ने प्रण पनि गरेको छँु । यी खुसीका अभिव्यक्ति हुन्, घोराही उपमहानगरपालिका—१७ निवासी पवन योगीका । उनी महिला सामुदायिक र सेभद चिल्ड्रेन हुँदै अहिले जाल्पा लघुवित्त वित्तीय संस्थामा आबद्ध छन् ।
समय सँगसँगै दाङ जिल्लामा स्थापना भइ महिला तथा बालबालिकाको सामाजिक विकास आर्थिक विकासमा संलग्न भएको सामाजिक संस्थामा आबद्ध भइ बालबालिकाको औपचारिक अध्ययनको लागि हुने क्रियाकलाप वा कार्यक्रमको हिस्सा हुन पाउँदा पनि एक किसिमको खुसी तथा गर्व महसुस हुन्छ । द्वन्द्वपीडित ती महिला र उनका बेसहारा बालबालिकाको पुनःस्थापन, घरेलुहिंसा प्रभावित महिलालाई स्वावलम्बी बनाउन गरेका क्रियाकलापमा योगदान गर्न पाउँदाका ती अविष्मरणीय क्षण मेरा खुसी हुन् । अहिले देख्छु, उनीहरूका छोराछोरीले उच्च शिक्षासम्म अध्ययन गरेको, उनीहरूले स्वरोजगार बनेको । यी पनि मेरा खुसी हुन् ।
हाल म कार्यरत वित्तीय संस्था पनि विपन्नका आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको छ । विपन्नका कुरा सुन्दै उनीहरूका लागि योजना निर्माण गरी व्यवसाय प्रवर्धनमा सहयोग गर्न पाउँदा खुसी महसुस हुन्छ । सायद अरूको खुसीमा खुसी हुनु नै जीवन हो । खुसी हुनका लागि पैसा मात्र होइन । पैसा साध्य होइन, साधन मात्रै हो । खुसी बजारमा किन्न सकिने वस्तु होइन, यो त भावनाको उद्वेग हो ।
हो, मेरो खुसीलाई पारिवारिक खुसीमा पनि जोड्न चाहन्छु । भर्खर मात्रै मेरो परिवारमा छोरीको आगमन भएको छ । छोरीको जन्म भएपछि प्राप्त भएको खुसीको बयान गर्न समेत सकिरहेको छैन । छोरीको जन्म लक्ष्मीको स्वरूप हो जस्तो लाग्छ मलाई । ती लक्ष्मी मेरो खुसी हुन् । पहिलो सन्तान जन्मँदा कसलाई खुसी लाग्दैन र ! लेखिदिनुहोला छोरी मेरो खुसी अनि अरूहरूलाई पनि भन्न चाहन्छु, खुसीको परिभाषा परोपकार पनि हो ।
अरूको उपकार, अरूको भलो सबै खुसीका उदाहरण हुन् । आफूले खुसी पाउन अरूलाई खुसी बनाउनु पर्छ भन्ने पनि यसै पत्रिकामार्फत् आग्रह गर्न चाहन्छु । जन्मथलो चौघेरा, कर्मथलो काठमाडौं, पोखरा र हाल दाङ । शिक्षामा दुईवटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका योगी लायन्स क्लवलगायतका विभिन्न सामाजिक संस्थामा जोडिएका छन् ।
प्रस्तुती : खेमराज रिजाल