ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स

प्रियास्मृति गजमेर
लमही, १४ भदौ । राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ ।

एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ । ‘बिरामी अन्यत्र लगेर जानु परेमा अर्को एम्बुलेन्स प्रयोग गर्नु पर्छ’, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले भने । सिसहनिया स्वास्थ्य चौकीमा रहेको पुरानो एम्बुलेन्सलाई मर्मत गरेर गाउँपालिकामा ल्याइएको हो । ‘स्वास्थ्य चौकीका लागि केही महिनापछि नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने कुरा छ’, राउतले भने, ‘पहिले पनि गर्भवती र सुत्केरीलाई निःशुल्क सेवा प्रदान गर्दै आएका थियौँ फेरि पनि यो कामलाई निरन्तरता दिने भनेर लागेका छौँ ।’

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पु¥याउने छ ।

कृषि एम्बुलेन्स पनि सञ्चालन

गाउँपालिकाले किसानका समस्यालाई मध्यनजर गर्दै कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याउन लागेको छ । गत जेठ महिनामा उद्घाटन भइसकेको तर सञ्चालनका लागि प्राविधिक तयारी हुँदै गरेको राप्ती गाउँपालिकाले जनाएको छ । ढुवानीको समस्या झेल्दै आएका गाउँपालिकाका किसान यतिबेला ढुवानी कसरी गर्ने भन्ने समस्याबाट मुक्त हुने किसान रूपलाल चौधरीले बताए । ‘पालिकाले किसानको समस्यालाई ध्यान दिएर कृषि एम्बुलेन्स सञ्चालन ल्याउँदै छ, अब तरकारी खेती गर्ने किसान सबैलाई धेरै सजिलो हुने छ’, उनले भने ।

राप्ती गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र र मूल्य निर्धारण समिति समेत गठन गरी कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको छ । कर्मचारी नै खटाउने गरी कार्यविधि बनेको छ । ‘किसानले उत्पादन गरेको तरकारी सङ्कलन केन्द्रमा ल्याउने, बजार मूल्य अनसार नै खरिदबिक्री हुनेछ र तरकारी बिक्री भएको १५ देखि ३० दिनपछि किसानको बैंक खातामा पैसा पठाइने भएको छ’, कृषि शाखाका सिमा भट्टले भनिन् । गत वर्ष पनि गाउँपालिकाले आफै जग्गा भाडामा लिएर तरकारी खेती गर्न चाहाने किसानलाई जग्गा दिएको थियो । किसानका खेतबारीमा पुगेर त्यस एम्बुलेन्सले तरकारी ढुवानी गरी सङ्कलन केन्द्रसम्म ल्याउने काम गर्नेछ ।