मूलधारका पार्टीलाई नयाँ दलको चुनौती

भुवन पोख्रेल
अहिलेको राजनीतिक परिदृश्यमा स्थापित भइसकेका पुराना राजनीतिक दल रुपान्तरण नहुने हो भने नयाँ पार्टीको सामु टिक्न नसक्ने गरी असफल सावित हुने छन् । उनीहरुमा सैद्धान्तिक, वैचारिक, साङ्गठनिक हिसाबले कुनै उर्जा र भिजनरी देखिँदैन बरु असफल, असान्दर्भिक र सुशासनका दृष्टिले भ्रष्ट बन्दै गइरहेका छन् ।

विस्तारै पुराना दलका नेताहरु एकपछि अर्को भ्रष्टाचारका काण्डमा मुछिँदै जानुलाई पक्कै पनि राजनीतिक दलको भविष्यका लागि दूर्भाग्य ठान्न सकिन्छ । नयाँ राजनीतिक दलहरुका सांसदहरुले संसददेखि सामाजिक सञ्जालसम्म भ्रष्टाचारका विरुद्ध चर्को भाषण सुन्दा जनताले उनीहरुलाई वैकल्पिक शक्तिका रुपमा हेर्न थालेका छन् । पुराना पार्टीहरुले पटक–पटक सत्तामा पुग्दा पनि जनअपेक्षा बमोजिम राज्य सञ्चालन गर्न सकेनन् ।

पुराना राजनैतिक दलहरुका व्यवहार र कार्यशैलीसँग वाक्क दिक्क बन्न पुगेका जनता पुराना दलले जति अवसर दिँदा पनि जनअपेक्षाको सम्बोधन गर्न सकेनन् । अब बरुनयाँलाई अवसर दिने हो भने केही राम्रो गरेर देखाउलान् कि भन्ने आशाको सञ्चार आमनागरिकमा भएको छ । त्यसकारण पनि पटक–पटक जनविश्वास गुमाइरहेका पुराना दलहरुले केही ठोस काम गरेर देखाउनुको साटो अहिले प्रतिरक्षात्मक देखिन्छन् ।

पुराना राजनीतिक दलको भविष्य र सान्दर्भिकतामाथि प्रश्न उठ्न थालेको छ । पार्टीहरु कसैले लामो इतिहास बोकेका होलान् कसैले छोटो । नेपालका प्रमुख राजनीतिक दलहरुमा नेपाली कांग्रेस वि.स. २००३ सालमा स्थापना भएको हो । एमाले भने वि.स. २००६ सालमा स्थापना भएको हो । माओवादी २०५१ सालमा स्थापना भएको पार्टी हो । वि.स. २०४७ सालमा राप्रपा गठन भयो । मधेस केन्द्रित दल जसपा र लोसपा पनि २०६३ पछि स्थापना भएका हुन् ।

निकट भविष्यमा अन्य दल पनि उदयिमान बन्न सक्छन्, जसरी अहिले घण्टी चिन्ह बोकेर स्वतन्त्र पार्टी आए झै भोलि लौरो चिन्ह बोकेर अर्को शक्ति नउदाउला भन्नु छैन ।  स्थापनाका कालले कोही नयाँ होलान्् कोही पुराना होला तर पार्टीको अस्तित्व पार्टीको सिद्धान्त, विचार, नीति र नेतृत्वमा भर पर्छ । त्यो पार्टी लोकतन्त्रवादी होकि तानशाह, उदारवादी होकि निरङ्कुश, प्रगतिशील होकि प्रियवादी, आधुनिक होकि कन्जरभेटिभ भन्ने चाँहि राजनीतिक बहसको विषय हो । कुनै पार्टी नयाँ हुँदैमा सफल र सान्दर्भिक नहुन सक्छ ।

नयाँ भएर पनि अलोकतान्त्रिक, अनुदारवादी, कन्जरभेटिभ, प्रियवादी हुनसक्छ भने कुनै पार्टी पुरानो भएर पनि लोकतान्त्रिक, उदारवादी, बहुलवादी, प्रगतिशील र जनतामा लोकप्रिय हुनसक्छ । त्यसैले पछिल्लो समयमा विकसित भएका वैकल्पिक शक्तिका रुपमा उदयीमान भएका पार्टीको भविष्य यत्तिकै सुनिश्चित हुन सक्दैन । खाली पुराना दलको आलोचनाले मात्र नयाँ पार्टीको चिन्तन र सिद्धान्त बलियो हुँदैन ।

नयाँ पार्टीहरुका कार्यशैली हेर्दा पनि सत्ताको सौदावाजी गर्ने सवालमा मूलधारका पार्टीभन्दा पृथक भने पक्ै छैन । उत्तेजक भाषण र अस्थिर प्रवृत्तिलाई विश्लेषण गर्दा उनीहरुले पनि वैकल्पिक सोच, संस्कार र नीति अनुशरण गर्नुपर्ने देखिन्छ । नेपालका पार्टीहरुको राजनीतिक भविष्य हेर्ने हो भने प्रजापरिषद् सबैभन्दा पुरानो पार्टी थियो तर सैद्धान्तिक, वैचारिक, नेतृत्वका दृष्टिले सान्दर्भिक हुन नसक्दा विघटन नै भयो ।

२०४८ सालपछि देवेन्द्रराज पाण्डे नेतृत्वको लोकदल तथा २०६३ सालपछि उज्जवल थापा नेतृत्वको विवेकशील, रविन्द्र मिश्र नेतृत्वको साझा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलगायत धेरै पार्टी अस्तित्वमा आए तर लामो समय टिक्न सकेनन् । राज्य सञ्चालनका दृष्टिले अलोकप्रिय भनेपनि कांग्रेस, एमालेको सैद्धान्तिक, वैचारिक, वर्गीय र साङ्गठनिक आधार भने अहिले कमजोर भने भइसकेका छैनन् ।

सशक्त बौद्धिक समुदायले वा नागरिक समाजले कांग्रेस र एमालेलाई आलोचना गरेपनि समर्थन भने गर्दै आएका छन् भोट वा मत परिवर्तन गर्न सकेका छैन र त त्यो दुईटा पार्टी नै ठूला राजनीतिक पार्टी बन्न पुगेका छन् । लोकतन्त्र प्रेमी, उदारवादी मध्यम र निम्न मध्यम वर्ग नेपाली कांग्रेसको आधार बलियो छ । रास्वपा, जनमत, नागरिक उन्मुक्तिलगायतका नयाँ पार्टीको सैद्धान्तिक धरातल त्यति बलियो छैन । नयाँ पार्टीको सैद्धान्तिक, वैचारिक, वर्गीय आधार कमजोर र अस्पष्ट मात्रै होइन, कतिपय सन्दर्भमा अन्तर विरोधपूर्ण पनि देखिन्छ ।

राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशित, धर्मनिरपेक्षता, अर्थनीति, विदेश नीतिलगायतका ज्वलन्त राजनीतिक मुद्रामा नयाँ पार्टीको दृष्टिकोण स्पष्ट देखिँदैन । त्यसैले उनीहरु बारे अहिले नै भविष्यवाणी गरिहाल्न हतार हुन्छ । कुनै पार्टी आफैमा नराम्रो हुँदैन । त्यही पार्टीको सिद्धान्त, नीति, विचार धारा ठिक छ भने एकदिन सबैले बुझ्दछन् । पार्टी सैद्धान्तिक र वैचारिक आधारले चल्नुपर्छ ।

पार्टी नीतिले चल्छ नेता त साहय मात्र हो तर यहाँ नीतिलेभन्दा नेताले पार्टी चलाउँदा आजको परिस्थितिको सामना गर्नुपरेको हो । पार्टीमा प्रियवाद हावी देखियो । एमाले पार्टीलाईभन्दा केपी ओलीलाई मन पराएर पार्टीको सदस्यता लिनेहरुको जमात बढ्दा पार्टीभित्र उनलाई देवत्वकरण गरियो । व्यक्ति भोलि रहला नरहला तर पार्टी जीवन्त हुनुपर्छ । रास्वपामा रवि लामिछानेलाई देवत्वकरण गरिँदै छ । पहिले नागरिकलाई आफ्नो दल चिनाउनुपर्छ । कसैलाई देवत्वकरण गरेर पार्टीको भविष्य लामो समय टिक्न सक्दैन । पार्टी नेताले होइन नीतिले चल्नुपर्छ ।

जनमतले सिके राउत तथा नागरिक उन्मुक्तिले रेशम चौधरीलाई देवत्वकरण पारी पार्टी स्थापित गर्ने रणनीति अङ्गिकार गरेको छ । यो नीति तत्काल प्रिय भए पनि वा आंशिक सफल भए पनि पार्टीको संस्थागत विकासमा आत्मघाती हुन्छ । भविष्यमा त्यही पार्टी विधि, नीति र संस्थागत रुपले लोकतान्त्रिक पद्धतिका रुपमा सञ्चालन हुनुको साटो व्यक्तिवादी, अधिनायकवादी शैलीमा अगाडि बढ्दै छन् ।

अहिले संस्थापना भएका नयाँ पार्टीहरुले आफूले अपेक्षा गरेभन्दा बढी मत प्राप्त गरेका छन् । उनीहरुले पाएको मत पटक–पटक अवसर पाएर पनि जनभावनाको सम्बोधन गर्न नसकेका पुराना दलप्रति आक्रोशित भएको झुण्डको मत हो । जनआक्रोश र व्यापक असन्तुष्टिको लाभांश उनीरुले उठाएका छन् । वाीतवमा त्यो नयाँ पार्टीको स्थायी मत होइन ।

त्यो मत हेरौँ त एकपटक यिनीहरुले पनि केही गर्छन् कि भनेर दिएको अवसरको मत हो । नयाँ पार्टीले केही गर्छन् कि भन्ने आशा र भरोसाभन्दा पनि पुराना पार्टी प्रतिको असन्तुष्टि, निराश र आक्रोशको परिणाम सकारात्मकभन्दा पनि नकारात्मक मत हो नयाँ पार्टीहरुले पाएको । त्यसर्थ अल्पकालीन सफलतामा नयाँ राजनीतिक दल धेरै फुर्रकिनु आवश्यक छैन ।

मूलधारका पार्टीहरुले असफलता र अलोकप्रियताबाट आक्रोशित झुण्डलाई पक्रेर सत्ताको खेती गरेका नयाँ पार्टीको बाली कति सप्रेला । आफैले सिड वा बिउ झरेर उम्रेको भए पो आशा राख्न सकिन्थ्यो त्यो वर्ण शङ्कर बाली उकपटक राम्रै सप्रिन्छ तर पटक–पटक त्यसले राम्रो फसल दिन सक्दैन । लोकल स्थानीय प्रजातीको भए पो राम्रो फसल दिन सक्थ्यो । च्याउ उम्रे झैँ उम्रेका यी नयाँ राजनीतिक दलहरुको पुराना पार्टीका पात चाँही हल्लाउलान् तर जरा र काण्ड हल्लाउन सक्दैनन् ।

कांग्रस मझधारको ठूलो पार्टी हो र पटक–पटक सत्तामा पनि छ । यस पार्टीले आफूलाई सुदिृकरण गरेर जनभावनाको सम्बोधन गर्ने हो भने फेरि जनलहर फर्केर आउँछ । कांग्रेस पनि नेताले चल्ने होइन नीतिले चल्नुपर्छ कुनै पनि शीर्ष नेतालाई देवत्वकरण गरेर पार्टीले जीवन्तता पाउँदैन । पार्टीले त जनभावनालाई समेटेर अगाडि बढ्नुपर्छ । देश र जनताका पक्षमा खरो भइ उत्रनुपर्छ । मूलुकका जल्दाबल्दा समस्याहरुलाई समाधानको दिशातर्फ अघि बढ्नुपर्छ । समाधानको मार्गमा अघि बढ्नु पर्छ । समस्या उठान गर्नुपर्छ । मूलमुद्रामा केन्द्रित बन्नुपर्छ । दलगत स्वार्थलाई त्यागेर राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्छ ।

माओवादीको उत्थान र अवसानलाई नयाँ पार्टीले शिक्षाको रुपमा लिन सक्छन् । दोस्रो जनआन्दोलन २०६२–२०६३ मा माओवादी शक्तिशाली पार्टी र प्रचण्ड केन्द्रविन्दुमा थिए । एकदशक लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेका प्रचण्ड क्रान्ति सपुत नै मानिन्थे । पहिलो संविधान सभा निर्वाचनमा निर्णायक शक्तिका रुपमा स्थापित भएको माओवादी दोस्रो संविधान सभाको निर्वाचनका कसरी जनताबाट तिरस्कृत भएर पछारियो त्यो इतिहास कसले बिर्सनु हुँदैन त्यसर्थ सस्तो प्रियवादी आत्मघाती हुन्छ ।

सस्तो राष्ट्रवाद पनि जनताको माझ क्षणिक लोकप्रियता हो । त्यसपछि माओवादी साक यसरी गि¥यो कि कहिले एमालेसँग त कहिले कांग्रेससँग चुनावी गठबन्धन गरी सत्ताको सौदावाजी गरे । सत्ताको भ¥याङ् चढ्न कहिले कांग्रेसको बुँई चढ्ने त कहिले एमालेको बुँई चढ्ने खेल चलिरहेको छ । यसो गरिरहँदा माओवादी स्वयम्को सैद्धान्तिक, वैचारिक र वर्गीय आधार कमजोर हुँदै गएको छ ।

अमेरिकामा डोनाल्ड ट्रम, भारतमा नरेन्द्र मोदी, बेलायतमा बोरिस जेन्सन आदि नेताहरु प्रियवादी नेताहरु मूलधारको पार्टीको सत्तामा पुगे उनीहरुको पहिलो आक्रमण लोकतान्त्रिक प्रणाली, संविधान, नागरिक स्वतन्त्रता विधिको शासन र मानव अधिकार माथि गरे । त्यसर्थ प्रियवाद लोकतन्त्रको प्रमुख चुनौती सावित भएको छ । राष्ट्रवाद, प्रियवादी र अनुदारवाद दक्षिणपन्थको लहर नेपालमा पनि भित्रिएको छ ।

जनतामा व्याप्त निराशाको व्यापार तथा प्रियतावादी नाराका सहारामा रास्वपा पार्टी अप्रत्याशित रुपमा स्थापित भएको छ । त्यस्तो लहरले २०७० सालको चुनावमा राप्रपा लाभान्वित भयो । राष्ट्रवाद, प्रियवाद र अनुदारवादकै सहारामा केपी शर्मा ओली एमालेको अध्यक्ष मात्रै भएन २०७४ सालको निर्वाचनबाट अत्याधिक बहुमतका साथ सत्तामा पुग्न पनि सफल भए । त्यसपछि सत्ता उन्मादका कारण अधिनायकवादी प्रवृत्ति देखाउने, आफूलाई संविधानभन्दा माथि ठान्ने गर्दा पछारिन पुगे ।

दलबिनाको लोतन्त्र एक कल्पना मात्र हो भन्ने तथ्य स्थापित भइसकेको छ । दलहरु सुध्रिनुको विकल्प छैन तर पुराना दलको अस्तित्वमाथि जति प्रश्न उठेका छन् त्यही प्रश्नलाई राजनीतिक दलले प्रतिउत्तर दिनसक्ने गरी सवल र सक्षम भइ जनतासामु उभिन सक्नुपर्छ । नयाँ दलको उदयसँगै पुरानादलहरुको स्थिति चुनावी परिणाम हेर्दा केही पुराना दल पनि हतोत्साही र निराश नभइ आफ्नो नीति, कार्यशैली र सिद्धान्त बोकेर अडिक भइ स्वच्छ छवि बनाउँदै अघि बढ्ने हो भने गुमेको जनविश्वास फेरि आफ्नै पोल्टामा नर्फकला भन्न सकिँदैन ।

अब राजनीतिक दलको अभिष्ट सत्ता स्वार्थ होइन राष्ट्रिय स्वार्थमा केन्द्रित भइ जनभावनाको कदर गर्न तर्फ पाइला अघि बढ्नु पर्छ । अझै भविष्य अन्धकार भइसकेको छैन । जनताको नजरमा ओझेल परेको मात्र हो आशाको किरणहरु सञ्चार गर्न सक्यो भने उज्यालो बिहानी धेरै टाढा छैन । नेपाली कांगे्रस कमजोर हुँदै गएको फाइदा पनि नयाँ दलले उठाएका हुन् । युवा पिढीमा राजनीतिक हस्तान्तरण गरी समाज परिवर्तनका नयाँ ढाँचा प्रस्तुत गर्दै गुमेको जनविश्वास फर्काउन सके मात्र कांग्रेसको भविष्य किन हुने छ ।

जसरी पनि हामी पुरानो पार्टी, ठूलो पार्टी, गौरवशाली इतिहास बोकेको पार्टी भनेर गमक्क पर्ने नेतृत्व हुने हो भने लोकप्रियता घट्दै जान्छ र नयाँ दलप्रति आकर्षण बढ्छ । यसको सबभन्दा बढी क्षति नेपाली कांग्रेसले व्यहोर्नु पर्छ । नेपाmी कांग्रेसको भोटको आधार नयाँ पिढीमा मतदाता भएन । अरु बुढो पिढीले मात्र कांग्रेसलाई कति दिन बचाउने । अघि जसरी आएका नयाँ दलहरुले कांग्रेसका मत पात बढारे झैँ सजिलै बढारेर लगे । एमालेका मतदाता कांग्रेसका जस्ता अस्थिर छैनन् । नेपाली कांगे्रसका मतदाताले छिटै मत परिवर्तन गर्ने भएकाले कांगे्रसले ठूलै चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

नयाँ पिडीका युवालाई कुनै पनि पुरानो दलले आकर्षित गर्ने सम्भावना पनि बिलकूल कम छ । माओवादी केन्द्रको भविष्य पनि निराशाजनक छ । आफूलाई नारामा मात्र सीमित राखेकाले संसदीय अभ्यासमा असान्दर्भिक प्रमाणित भएको छ । व्यक्तिकेन्द्रित सोच बढी सैद्धान्तिक आधार कमजोर हुँदै गएमा जनमुखीभन्दा पनि पैसा पद र सत्तामा माओवादी बढी आकर्षित भए अरु दलहरु झैँ । पुराना पार्टी नसुध्रिने हो भने नयाँ दलका उर्लदो बाढी र छाललमा नपर्लान भन्ने सम्भावना छैन ।