गुठी संस्थानलाई समयानुकूल बनाउनु पर्छ : अध्यक्ष पण्डित [अन्तर्वार्ता]
गुठी संस्थान मूर्त, अमूर्र्त सम्पदा संरक्षण गर्ने संस्था हो । नेपालमा लिच्छविकालदेखि नै गुठी परम्परा तथा व्यवस्थाको सुरुवात भएको देखिन्छ । मूलतः गुठी संस्थानले राजगुठी अन्तर्गतका गुठी जग्गा व्यवस्थापन तथा संरक्षण गर्ने कार्य गर्दछ । यसको साथै गुठी परम्परासँंग प्रत्यक्ष वा परोक्ष रुपमा सम्बन्ध राख्ने जात्रा, पर्व, धार्मिक एवम् सांस्कृतिक पर्वहरु सञ्चालन गर्दछ ।
गुठी सम्पदा राष्ट्रका जीवन्त पहिचान हुन् । गुठी सम्पदा संरक्षणमा राज्यको ध्यान जान सकेको छैन । संस्कृति र सभ्यताको प्रतीकका रुपमा रहेका यस्ता ऐतिहासिक तथा धार्मिक सम्पदाले प्राचीनकाल, मध्यकाल र आधुनिककाल गरी तीनवटै काललाई जोड्ने काम गर्छ । तत्कालीन समयको कला, संस्कृति र जीवनशैलीलाई समेत उजागर गर्दै आएका छन् ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि संविधान अन्तर्गत धेरै ऐन निर्माण भइसकेका छन् तर गुठीसम्बन्धी ऐन बन्न सकेको छैन । यो ऐन समयमा निर्माण नहुँदा गुठी जग्गा व्यवस्थापन र गुठी संस्थान अन्तर्गत रहेका झण्डै ७ सय मठमन्दिरका संरक्षण तथा व्यवस्थापनमा समस्या देखा परेका छन् । यो विषयमा गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डितसँग गोरक्षकर्मी बालाराम खडकाले गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ यहाँलाई ?
पत्रिकामार्फत् गुठीबारे केही कुरा राख्ने अवसर दिनु भएकोमा धन्यवाद ।
गुठी सम्पदा र गुठी संस्थानको संरक्षणलाई कसरी अघि बढाउने सोच गराउनु भएको छ ?
गुठी संस्थान मूर्त, अमूर्र्त सम्पदा संरक्षण गर्ने संस्था हो । नेपालमा लिच्छविकालदेखि नै गुठी परम्पराको सुरुवात भएको देखिन्छ । गुठी संस्थानले गुठी परम्परासँग प्रत्यक्ष वा परोक्ष सरोकार तथा सम्बन्ध राख्ने जात्रा, पर्व, धार्मिक एवम् सांस्कृतिक पर्वहरू पनि सञ्चालन गर्दछ ।
काठमाडौंमा सञ्चालन हुने मुख्य जात्रा पर्व सञ्चालनमा गुठी संस्थानको मुख्य भूमिका रहँदै आएको छ । कुनै पनि संस्थालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थाको आन्तरिक पक्ष सुदृढ हुनु पर्दछ । परिवर्तीत सन्दर्भसँगै संस्थानका नीतिनियम, कार्यविधि संशोधन तथा परिमार्जन गर्ने प्रक्रियामा छौँ । केही संशोधन तथा परिमार्जन गरिएको छ भने केही संशोधनको प्रक्रियामा छौँ । संस्थानको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन संस्थाको उद्देश्य र कार्यबोझ अनुसार कर्मचारी आवश्यक पर्ने हुन्छ ।
दरबन्दी अनुसारको कर्मचारी नहुँदा गुठी संस्थानको सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव परेको छ । यो समस्या हल गर्न कर्मचारी विनियमावली स्वीकृतिको प्रक्रियामा छ । विनियमावली स्वीकृति भई नयाँ पदपूर्ति नहुँदासम्मका लागि केही अस्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढेको छ । गुठी परम्परालाई समयानुकूल बनाउने उद्देश्यले केही नयाँ कार्यको थालनी गर्ने सोच बनाएको छुँ ।
गुठी संस्थानको अध्यक्ष भइसकेपछिका भावी योजना के–के हुन् ?
गुठी संस्थानको गौरवमय इतिहास छ । पूर्वीय दर्शन या वैदिक परम्पराको संरक्षण र सम्वर्धन गर्ने मुख्य दायित्व बोकेको गुठी संस्थानलाई विभिन्न प्रकारका बिचौलियाले विभिन्न बहानामा अतिक्रमण गर्दै आएका कारण गुठी संस्थानलाई हेर्ने दृष्टिकोण राम्रो छैन । विभिन्न समयक्रममा संस्थानको नेतृत्वको जिम्मेवारी लिएका व्यक्तिले संस्थालाई आफ्नो र आफूनिकट व्यक्ति या संस्थाको फाइदाका लागि कार्य गरेका कारण यो समस्या आएको भन्ने कुरा मैले राम्रोसँग मनन् गरेको छु ।
मेरो पहिलो काम संस्थानको साखलाई माथि उठाउने हो । यसका लागि मैले माथि भनेजस्तै गरी संस्थाको आन्तरिक सुदृढीकरण र सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छु । यसको कार्य प्रारम्भ गरेको छु । केही सकारात्मक सङ्केत देखिन थालेका पनि छन् । म नेतृत्वमा आए पछिको पहिलो वार्षिक नीति तथा कार्यक्रममार्फत् संस्थालाई बाह्य रूपमा चिनाउन केही नव प्रवर्तनात्मक कार्य गर्ने गरी बजेट विनियोजन गरिएको छ । यस अन्तर्गत गण्डकीको बाग्लुङ कालीका, लुम्बिनी र सुदूरपश्चिमको खप्तड क्षेत्रमा गुठी परम्परा र वैदिक धर्म संस्कृतिको सचेतीकरणका कार्यक्रम गरिने छ । यसले गुठी परम्पराको जगेर्ना गर्न मद्दत पुग्ने छ ।
गुठी संस्थान मातहतमा रहेका गुठी तैनाथी र अधिनस्थ जग्गालाई कृषि तथा उत्पादनसँग जोड्ने उद्देश्यले कृषि विज्ञको समूहबाट अध्ययन अनुसन्धान गर्ने गरी बजेट विनियोजन गरिएको छ । यो कार्यले गुठी जग्गाको कृषियोग्य भूमिको पहिचान गरी कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने छ । त्यसका साथै सातवटै प्रदेशमा मालपोत अधिकृत र स्थानीय सरकारका प्रतिनिधि सहभागी हुने गरी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौँ ।
अतिक्रमण भएका गुठीका जग्गा संरक्षण गर्ने योजना केही छन् भने बताइदिनुस् न ?
गुठी संस्थानको सबैभन्दा ठूलो समस्या भनेको जग्गा अतिक्रमण हो । विभिन्न कालखण्डमा गुठी तथा सार्वजनिक जग्गा संरक्षणका लागि विभिन्न आयोग र समिति निर्माण गरी राज्यलाई प्रतिवेदन बुझाए पनि गुठी जग्गा अतिक्रमण हुने र गर्ने कार्य रोकिएको छैन ।
गुठीको विषयमा सार्वभौम संसद्मा सांसदले उठाएका विषय, माननीयले संस्थानमा आएर लिखित र मौखिक रूपमा उठाएका र अनुरोध गरेका विषयमा म स्वयम् उपस्थित भएर स्थलगत निरीक्षण गरिएको छ । स्थलगत अध्ययनबाट देखिएका विषयमा संस्थानको बोर्ड बैठकबाट पनि सम्बोधन भएका छन् ।
गुठी जग्गा अतिक्रणकारीका विरुद्ध कानुनी उपचार पनि खोजिएको छ । अदालतबाट गुठी जग्गा कायम हुने गरी फैसला भएका छन् । यति हुँदाहँुदै पनि संस्थानको कमजोर व्यवस्थापनका कारण अहिले पनि राजगुठी अन्तर्गतका जग्गा कहाँ, कति छ भन्ने एकिन तथ्याङ्क हामीसँग छैन । त्यसका लागि यो वर्ष गुठी जग्गाको अभिलेखीकरण, लगत सङ्कलन र नाप नक्साङ्कन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
दाङ जिल्लामा गुठी जग्गा अतिक्रमण तथा अनाधिकृत रूपमा बेचविखन भएको भन्ने छ, यसको सत्य के हो ?
हो, दाङ जिल्लामा गुठी जग्गाको स्वामित्व तथा उपयोगको सम्बन्धमा केही समस्या छन् । दाङ जिल्लामा ३ प्रकृतिका गुठी जग्गा छन् । नेपाल संस्कृति विश्वविद्यालयको मातहतमा ५ सय बिगाह गुठी जग्गा छ ।
रतन्नाथ चौघेराको नाममा २ सय बिगाह जति जग्गा लगतमा देखिन्छ । यस्तै स्वर्गद्वारी आश्रमको नाममा एक हजार ५० बिगाह जग्गा छ । यी तीनवटै गुठी जग्गा अतिक्रमणको चपेटामा परेका छन् । यो समस्या धेरै पुरानो पनि हो । पञ्चायतकालदेखि नै गुठी जग्गामा नेताले राजनीति गर्दै आएका छन् । अब राजनीतिक छायाँबाट गुठी जग्गालाई मुक्त गर्नु पर्दछ । गुठी जग्गाको स्वामित्व र भोगचनलमा देखिएका समस्या कसरी हल गर्न सकिन्छ ? भन्ने विषयमा निकट भविष्यमा छलफलको कार्यक्रम तय भएको छ ।
रतन्नाथ मन्दिर अन्तर्गतको गुठी जग्गा खान्की प्रकृतिको तैनाथी जग्गा हो । उक्त जग्गामा मोही लाग्दैन । मोही लाग्ने जग्गा होइन भनी गुठी संस्थानबाट बारम्बार पत्राचार गर्दा पनि रतन्नाथ गुठीका महन्तले मोही पुर्जाका लागि अनाधिकृत रूपमा सिफारिस भइ केही जग्गा व्यक्तिका नाममा नामसारी भएको भन्ने सुन्नमा आएको छ । यसको छानविन गर्ने गुठी संस्थानले योजना बनाएको छ ।
गुठी जग्गाको व्यवस्थापन र संरक्षणका सम्बन्धमा दीर्घकालीन योजना के कस्ता छन् ?
गुठी जग्गाको व्यवस्थापन र संरक्षण गर्नका लागि गुठी ऐनको आवश्यक छ । संस्थान समेतको सहभागिता र सहजीकरणमा छिट्टै ऐन निर्माण गर्न प्रधानमन्त्री र विभागीय मन्त्रीलगायत नीति निर्माण तहमा बस्ने सबैलाई ध्यानाकर्षण गराउने कार्य भएको छ । आशा छ, यो वर्ष उक्त ऐन आउने छ । यसले गुठी जग्गाको व्यवस्थापन र संरक्षण भइ गुठी समस्याको दीर्घकालीन रूपमा समस्या हल हुने अपेक्षा गरेको छु ।
अन्त्यमा केही भन्नु छ ?
अन्त्यमा गुठी संस्थान र अन्य कुराहरूको बारेमा आफ्ना कुराहरू राख्न दिएकोमा म धन्यवाद दिन चाहन्छु । म गुठी संस्थानको अध्यक्षको नाताले यसको हक, हित र गुठी संस्थान अन्तर्गत महत्वपूर्ण तथा केही अनुकरणीय काम गर्न सकिन्छ भन्नेमा लागेको छु । यसको लागि सबैको सहयोग र साथको आवश्यक छ । त्यो सबैबाट अपेक्षा गर्छु ।