सवारी चालक अनुमतिपत्रका लागि अव कार्यालयमै स्वास्थ्य परिक्षणको प्रमाणपत्र

बालाराम खड्का
तुलसीपुर, ७ भदौ । सवारी चालक अनुमतिपत्रका लागि स्वाथ्य परीक्षणसम्बन्धी सेवाको लागि तपाईले कति रकम तिर्नु हुन्छ । धेरैले ६, ७ सयदेखि न्युनतम ३ सयसम्म तिर्नु पर्ने बाध्यता थियो । तर अव भने सवारी चालक अनुमतिपत्रका लागि ३८ रूपैयाँ मै स्वास्थ्य परिक्षण गरेको निरोगिताको प्रमाण पत्र पाउने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था कार्यालय दाङ तुलसीपुरले भदौ ७ गते देखि लागु हुने गरि सो काम सेवा प्रदान गर्ने तयारी गरेको छ ।धेरैले ६÷७ सयदेखि न्यूनतम ३ सय सम्म तिर्नु पर्ने वाध्यता थियो । अव त्यो बाध्यता हटेको कार्यालय प्रमुख रमेश गौतमले बताए । सवारी चालक अनुमतिपत्र प्राप्त तथा चालक अनुमति पत्र बनाउनु परेमा नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकले दिएको स्वास्थ्य परिक्षण गरेको निरोगिताको प्रमाण पत्र आवश्यक पर्छ । सो निरोगिताको प्रमाणपत्र लिए बाफत धेरैले ३ सय रूपैयाँ तिर्नु पर्ने बाध्यता थियो ।

डाक्टरहरू विनै यातायात व्यवस्था कार्यालय बाहिर निरोगिताको प्रमाणपत्र बनायर सवारी चालक अनुमतिपत्र नयाँ तथा पुरानो लिनका लागि सेवाग्राहीहरू जाने गरेका थिए । अव भने भदौ ७ गते देखि सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण सम्वन्धि सेवा बापत ३८ रूपैयाँ दस्तुर लिई कार्यालय बाटै उपलव्ध गराउने कार्यालयले जनाएको छ ।

कार्यालयले कोठा नं. १३ बाट स्वास्थ्य परीक्षण सम्वन्धि सेवा दिन जनाएको छ । ‘धेरै रकम तिरेर सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परिक्षण गरेको निरोगिताको प्रमाण लिएको भन्ने गुनासो आयो, त्यसलाई मध्यनगर गदै अव देखि कार्यालय परिसर मै एकजना नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकले अव प्रमाण पत्र दिनु हुने छ’ कार्यालय प्रमुख गौतमले भने ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरले यसका लागि सार्वजनिक सूचना आह्वान गरि निरोगिताको प्रमाण पत्रका लागि प्रस्तावना माग समेत गरेको थियो । जसमा ५ जना डाक्टहरूले प्रस्ताव दर्ता गराएका थिए । ति मध्य एक जना डाक्टरलाई छनोट गरेको गौतमले बताए ।

‘म पनि यहाँ भरखर आएको हो पहिलो काम यहीबाट नै सुरुवात गरेका छौं यहाँ हुने अन्य कुराहरूलाई पनि विस्तारै सुधार गर्दै जाने छौं’ गौतमले भने । उनले अव कार्यालय परिसर मै डाक्टर बस्ने र डाक्टरले नै प्रमाणपत्रमा हस्ताक्षर गरि निरोगिताको प्रमाणपत्र दिने बताए । ‘९÷१० रूपैयाँमा पनि हामीहरूले सेवा दिन सक्छौ भन्नेपनि आएको थियो तर सवैकुराहरू मिलायर हामीहरूले यस्तो सुरुवात गरेका हौं’ गौतमले भने । उनले अव यो संगै अन्य जन गुनासाहरूलाई पनि सम्बोधन विस्तारै गर्ने बताए ।

कार्यालय प्रमुख गौतमले सवारी चालक अनुमतिपत्रका लागि हुने टूायलमा बढी रकम लिने गरेको गुनासो आएको भन्दै त्यसलाई पनि सुधार गर्ने बताए । ‘सवारी चालक अनुमतिपत्रको परिक्षाको दिन पनि धेरै रकम लियर गाडीहरू भाडामा लगाएको भन्ने गु्नासो छ । अव त्यसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा हामी छौं’ प्रमुख गौतमले भने । उनले सवै कुराहरू विस्तारै व्यवस्थीत गर्ने उल्लेख गरे । ‘सवै कुराहरू एकै पटक हल हुदैन धेरै गुनासाहरू आएका छन् मैले पनि बुझदै छु सवै कुरा विस्तारै समाधान हुन्छ’, उनले भने ।