घोराही–तुलसीपुर चारलेन सडकका खाडल पुरिएनन्

खेमराज रिजाल
दाङ, ३ भदौ । असोजमा खाडल पुर्ने र कामचलाउ कालोपत्रेको ठेक्का लिएका निर्माण व्यवसायी वेखबर छन् । ठेक्का लगाउन डिभिजन सडक कार्यालय आफ्नै तानाबानामा होला तर चारलेनको ठेक्का रद्द भएपछि सडक सुधार गर्नु पर्ने काममा कुनै प्रक्रिया अघि बढाइएको छैन । सडक डिभिजन गुमनाम छ, कसले कामको ठेक्का लिएको हो त्यो एजेन्ट पनि गुनमान छ ।

सकसैसकसको यात्रा घोराही—तुलसीपुरमा छ । त्यसमा पनि बडेमानका खाडलहरू सेवारखोलाको वल्लो र पल्लो किनारामा छन् । कार्यालय जाने कर्मचारी बाइकमा सवार छन् भने उनको पोसाकमा हिलो छ्यापिन्छ । हिलो छ्यापिनु भन्दा पनि खाल्डा छलाउन आउने–जाने सवारी साधनलाई मुस्किल भएको छ तर सम्बन्धित निकाय यो विषयमा वेखबर छन् । अर्थात् यो सडक सङ्घीय सरकारको मातहतमा आएको छ, जुनबेला सडकको ठेक्का तोडियो ।

‘चारलेन सडक वरदानभन्दा पनि अभिशाप भएको छ’, सडकको यो हविगत होला भन्ने मैले कहिल्यै सपनामा पनि देखेको थिएन, यो अभिव्यक्ति घोराही तुलसीपुर सडकमा सार्वजनिक यातायात चलाउने चालक घनश्याम परियारको हो । उनी यो सडकमा विगत ७ वर्षदेखि जोडिएका हुन् तर सार्वजनिक यातायातमा सडकको सास्ती घोराही तुलसीपुरमा जस्तो सायद जुम्ला कालीकोटमा पनि छैन ।

हो, उनको जस्तै सकसमा थिए अर्का सवारीचालक भीमबहादुर डाँगी । पुरन्धाराबाट काठमाडौंसम्म गाडी चलाउँदा सबैभन्दा सकस घोराही–तुलसीपुरमै भएको उनले बताए । त्यसमा पनि सबैभन्दा बढी सकस सेवार खोला वल्लो–पल्लो साइडका खाडलमा छ । उनको भनाइमा कम्तिमा स्थानीय सरकारले खाडल पुर्ने मेसो मिलाए मतदाताले गुन मान्थे तर खासमा यो सडकको स्तरोन्नति र मर्मतसम्हारको जिम्मा डिभिजन सडक कार्यालयकै हो ।

स्थानीय सरकारले पहल गर्दा सङ्घीय सरकार मुकदर्शक

खासमा यो सडकको मर्मत र स्तरोन्नतिको जिम्मा स्थानीय सरकार र प्रदेश सरकारको होइन तर गाली स्थानीय सरकारलाई छ । घोराही र तुलसीपुरका मेयरहरू यो सडकको गाली खाइरहेका छन् । जनमतको कदर गर्दै घोराही र तुलसीपुरमा एक चरण खाडल पुर्ने काम पनि भयो तर यसले समस्या समाधान हुन सकेन । सकसमा छन् कार चालक, मोटरसाइकल चालक अनि सबै सवारी साधनहरू । सेवारखोलामा भिमकाय खाडल हुँदा पनि डिभिजन सडक कार्यालयले एक पटक पनि स्थानीय सरकारसँग सहकार्य गरेर खाडल पुर्ने काम गर्न सकेको छैन ।

यो विषयमा सडक डिभिजन कार्यालय गम्भीर हुनु पर्ने हो किनकि यो सडकको मर्मतको ठेक्का पनि भएको छ । असोज मसान्तसम्म काम सम्पन्न गर्ने गरी ठेक्का पनि भएको हो । कुइरेपानीदेखि तुलसीपुरसम्म पहिलो चरणमा बेस हालेर कालोपत्रेसहित सडक साविकको स्थानमा सञ्चालनमा ल्याउने तर सडक कार्यालयका प्रमुखले यो विषयमा कुनै आधिकारिक अभिव्यक्ति दिएनन् ।

‘म आज बाहिर छु, तपाईँहरू नआत्तिनुस्, काम भइहाल्छ नि’, कार्यालय प्रमुखको यो हल्का अभिव्यक्ति थियो । यसले सडकको स्तरोन्नति समयमा हुन नसक्ने यातायात व्यवसायीले बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुखले यति हल्का अभिव्यक्ति दिए कि उनी यो काम समयमा सम्पन्न गराउन कुनै ध्यान दिएका छैनन्’, एक यातायात व्यवसायीले भने ।

चारलेन सडकको सपना हवाले उडाएपछि यहाँका सांसदहरूको दबाबमा सडक विभागमार्फत् घोराही—तुलसीपुर चारलेन सडकको २९ किलोमिटर सडक साविककै अवस्थामा मर्मत हुने गरी ठेक्का परेको थियो । ठेक्का सम्झौता अनुसार कम्तिमा ३ करोड रुपैयाँको बजेट पनि विनियोजन भएको छ तर असोज मसान्तसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले अझैसम्म पनि काम थालनी गरेका छैनन् । यो अवस्थाले अझै महिनौँसम्म सर्वसाधारण एवम् यातायात व्यवसायीले दुःख पाउने अवस्था देखिएको छ ।

यद्यपि यो सडकको सकसका विषयमा कुनै पनि सरोकारवाला निकाय गम्भीर देखिएका छैनन् । यसले दैनिक सवारी साधनको इन्जिनमा समस्यालगायत चालकलाई पनि गन्तव्यमा पुग्नका लागि समस्या हुने समेत देखिएको छ । कच्ची सडक खुलेसँगै यो सडकमा सबैभन्दा बढी दुर्दसा भएको पहिलो पटक हो । यसै कारण तुलसीपुरबाट लमही पुग्ने जोसुकैले अमिलिया हुँदै लमही पुग्न थालेका छन् । जुन सोझो यात्राभन्दा कम्तिमा ४० किलोमिटर महँगो छ । जसले मुलुकमा सरकारी निकायको इन्धन खपत समेत बढाएको छ ।

भोलिदेखि नै काम हुन्छ : प्रजिअ

यसैबीच प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले चारलेन सडक भनिएको स्थानमा आइतवारदेखि नै पुनः मर्मतको काम सुरु हुने बताएका छन् । उनले यो विषयमा डिभिजन सडक कार्यालय, निर्माण व्यवसायीलगायतसँग कुराकानी समेत भइसकेको र आइतवारदेखि काम हुने विश्वास व्यक्त गरेका छन् । उनले दुई चरणमा हुने मर्मतको काम एकैसाथ गर्न पनि सडक डिभिजन एवम् निर्माण व्यवसायीको समेत ध्यानाकर्षण गराइएको बताएका छन् ।