अमरराज आचार्य
दाङ, १ भदौ । जिल्लाको सदरमुकाम घोराही बजारसँगै सटेको एक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि स्थानीयले चन्दा सङ्कलन गरेका छन् ।
घोराही उपमहानगरपालिका–१८ गिठेपानी फुर्सेखालीको आधारभूत विद्यालय गिठेपानीको शैक्षिक तथा भौतिक सुधारका लागि चन्दा सङ्कलन गरिएको थियो । चन्दाबाट करिब ९ लाख रूपैयाँ सङ्कलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले बताए ।
विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि पटक–पटक विभिन्न निकायमा धाए पनि कुनै सहयोग नपाएपछि चन्दा अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले बताए । माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन तथा सञ्चालन स्थानीय सरकारलाई भए पनि त्यो अनुसार काम गर्न नसकेको शिक्षाका सरोकारवाला बताउँछन् ।
‘धेरै पटक विद्यालय सुधारका लागि विभिन्न निकायमा माग गरिए पनि सहयोग नभएपछि चन्दा सङ्कलन गरेका हौँ’, उनले भने, ‘कतैबाट पनि सहयोग नपाएपछि सबै सरोकारवालासँग छलफल गरेर चन्दा सङ्कलन अभियान सुरु गरिएको थियो ।’ चन्दाको लागि घरघरमा पुगेर सङ्कलन गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय समाजसेवी तथा शिक्षाप्रेमीसमेत घरदैलोमा पुगेका थिए । स्थानीयले आफ्नो इच्छा अनुसार सहयोग गरेको अध्यक्ष वली बताउँछन् । ‘घरघरमा पुग्दा सबैको सकारात्मक सहयोग पाएका हौँ’, अध्यक्ष वलीले भने । विद्यालयमा कक्षा कोठा, कक्षा कोठामा बेन्च, डेस्क, बोर्ड, पुस्तकालय, शौचालयलगायतका सामग्री समेत अभाव रहेको उनले बताए ।
अभाव हुँदा विद्यालयको पठनपाठनमा समेत समस्या हुने गरेको छ । सबैको सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक सुधार गरिने उनको भनाइ छ । ‘हामीले भौतिक सुधार मात्र नभइ शिक्षाको गुणस्तरमा पनि सुधार ल्याउने अभियानमा छौँ’, अध्यक्ष वलीले भने । उनले निजी क्षेत्रले दिएको भन्दा अब्बल बनाउने गरेर काम भइरहेको बताए । ‘विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडि बढाउने योजना छ’, उनले भने, ‘विद्यालय सुधार भएमा यस क्षेत्रका बालबालिकालाई अध्ययन गर्न समेत सहज हुने छ ।’
विद्यालयमा अहिले दुई सय ४६ जना बालबालिका अध्ययन गर्दै आएका छन् । अहिले विद्यालयमा केही भौतिक सुधार तथा शैक्षिक सुधारका काम गरिएका छन् तर पनि अझै धेरै काम गर्न बाँकी रहेको विद्यालयले जनाएको छ । एउटा कोठा पार्टेसन गरेर २ वटा कक्षा सञ्चालन भएका छन् । विद्यालयमा कक्षा कोठा अपुग भएका कारण एउटा कोठालाई पार्टेसन गरेर २ वटा कक्षा सञ्चालन गर्नु परेको छ ।
अहिले एउटा कक्षालाई पार्टेसन गरेर प्ले ग्रुप र कक्षा नर्सरी सञ्चालन गरिराखेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वलीले बताए । ‘कक्षा कोठा अभाव भएपछि बाध्य भएर यसरी कक्षा सञ्चालन गरेका हौँ’ अध्यक्ष वलीले भने । विद्यालयमा अहिले प्ले गु्रप र कक्षा १ मा दुई÷दुईवटा कक्षा छन् । अहिले विद्यालयमा प्ले गु्रपदेखि कक्षा ८ सम्म पढाइ भइराखेको छ । विद्यालयले अङ्ग्रेजी माध्यम समेत सुरु गरेको छ । अङ्ग्रेजी माध्यमबाट कक्षा सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको छ ।
शिक्षकलाई तलव सामुदायिक वनमार्फत्
आधारभूत विद्यालय गिठेपानीमा निजी स्रोतमा राखिएका शिक्षकलाई तलव खुवाउने विद्यालयसँग रकम नभएको र कतैबाट पनि सहयोग नपाएपछि सामुदायिक वनले शिक्षकलाई तलव खुवाउने रकम दिने गरेको छ । कालिका सामुदायिक वन उपभोक्ता समूहले करिब ८ वर्षदेखि शिक्षकलाई तलव खुवाउने रकम दिने गरेको हो ।
अहिले सामुदायिक वनले शिक्षकलाई तलव खुवाउन मासिक १७ हजार दिने गरेको विद्यालयका अध्यक्ष वलीले बताए । पछिल्लो समय सामुदायिक वनको आम्दानी नभएपछि विद्यालयलाई दिँदै आएको रकम दिन नसक्ने अवस्था आएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यशोदा पाण्डेले बताइन् । ‘वनको आम्दानी छैन, विद्यालयमा दिँदै आएको रकम दिन समस्या हुँदै आएको छ’, अध्यक्ष पाण्डेले भनिन् ।
वनले चौकीदारको तलव, सचिवको तलव, कार्यालय व्यवस्थापनमा खर्च गर्न समेत समस्या पर्न थालेको उनको भनाइ छ । शिक्षकको माग गर्दै उपमहानगरमा डेलिगेसन आधारभूत विद्यालयल गिठेपानीमा विषयगत शिक्षक नहुँदा समस्या भएको छ । विद्यालयमा विज्ञान, गणित विषयको शिक्षक नहुँदा समस्या भएको विद्यालयले जनाएको छ । विज्ञान, गणितको शिक्षकको माग गदै घोराही उपमहानगरपालिकामा डेलिगेसन गएको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, राजनीतिक दल, जनप्रतिनिधि, शिक्षाप्रेमी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, स्थानीयको सहभागिता रहेको थियो । घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले छिट्टै नै शिक्षकको व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले बताए ।