आन्तरिक विशेष अभियान समापन, जनतासँग गरेको प्रतिबद्धता अनुसार काम गर्न निर्देशन’

गोरक्ष समाचारदाता
दाङ, १ भदौ । नेपाली कांग्रेसका नेताहरूले जनप्रतिनिधिलाई निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धता अनुसार काम गर्न निर्देशन गरेका छन् ।

पार्टीले सुरु गरेको आन्तरिक विशेष अभियान अन्तर्गत विहीवार नेपाली कांग्रेस दाङले घोराहीमा गरेको जनप्रतिनिधि तथा पार्टी नेतृत्वसँग गरेको छलफल कार्यक्रममा नेताहरूले विकास निर्माणसँगै जनतासँग जोडिएका समस्याहरू सम्बोधनका लागि पार्टी र जनप्रतिनिधिहरूका बिचमा सहकार्य र समन्वय गरेर अघि बढ्न सुझाव दिएका हुन् । कांग्रेसले साउन २० देखि ३० गतेसम्म आन्तरिक विशेष अभियान चलाएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि डा.गोपाल दहितले पार्टी सुदृढीकरण आवश्यक रहेको बताए । उनले नेता–कार्यकर्ता र युवा कमिटीलाई समेटेर अघि बढ्नुपर्ने बताएका थिए । पार्टीप्रति जनताको विश्वास बढाउनका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने भन्दै उनले कांग्रेसले निर्वाचन जितेका जनप्रतिनिधिले जनमुखी कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।

‘पार्टीप्रति जनताको विश्वास बढाउँदै सङ्गठन निर्माणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ । ‘तपाईँहरूको कामले नै पार्टीप्रति जनताको आकर्षण बढ्छ’, नेता दहितले भने, ‘त्यो अनुसार योजना बनाएर काम गर्न लाग्नुहोस् ।’ उनले पार्टीले सञ्चालन गरेको अभियानको उद्देश्य पार्टीलाई प्रमुख शक्तिका रूपमा स्थापित बनाउने रहेको बताए ।

पार्टीको विशेष आन्तरिक अभियानले पार्टीका नेतृत्व र कार्यकर्ता बिचको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे । उनले जिल्ला तहदेखि वडा र टोलसम्म अपूर्ण रहेको समितिलाई पूर्णता दिइ सबै विवरण जिल्ला समितिलाई पठाउन निर्देशन दिए । देश भरिबाट सबै विवरण प्राप्त गरिसकेपछि केन्द्रीय समितिले आफ्ना सूचना, निर्णय, कार्यक्रम एकैपटक सबै नेताकार्यकर्तालाई एउटै म्यासेजबाट खबर पु¥याउने संयन्त्र तयार गर्न लागेको समेत बताए ।

कार्यक्रमका अन्य वक्ताले पार्टी र जनप्रतिनिधि मिलेर जनतासँग जोडिएका विषयहरू सम्बोधन गर्नुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका छन् । यसैगरी कार्यक्रममा बोल्ने वक्ताले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता अनुसार सडक, शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका विकास निर्माणका कार्य गर्नका लागि ध्यान दिनुपर्ने बताएका थिए । साथै उनीहरू त्यसका लागि जनप्रतिनिधिले पार्टीसँग पनि छलफल र सहकार्य गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा जनप्रतिनिधिले निर्वाचनको पहिलो वर्ष प्रतिबद्धता अनुसार केही काम गरे पनि धेरै काम गर्न बाँकी रहेको भन्दै ती कामहरूलाई आगामी वर्षमा पूरा गर्दै लैजाने बताएका थिए । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार आपूmहरू काम गर्न तयार रहेको धारणा राखेका थिए । उनीहरूले जनचाहना अनुसार काम गर्दै पार्टीलाई सङ्गठित पार्टी निर्माण गर्नु पर्नेमा सहभागी वक्ताले जोड दिएका थिए ।

पार्टी र जनप्रतिनिधि मिलेर जनतासँग जोडिएका विषयलाई पूरा गर्न लाग्ने बताए । साथै उनीहरूले पार्टीलाई एकताबद्ध गर्दै सङ्गठित बनाउन पार्टीभित्रको अन्तरविरोधलाई हटाउनु पर्नेमा जोड दिएका थिए । अहिले पनि केन्द्रदेखि वडा तहसम्म नेताहरूमा जित र हारको मानसिकता रहेको भन्दै पार्टीलाई एकताबद्ध र सङ्गठित गर्न नेताहरूले जित र हारको मानसिकता जोडेर पार्टी निर्माणमा लाग्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य रवि विश्वकर्मा, गोविन्दप्रसाद लम्साल, सन्दीप राणा, क्षेत्रीय सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस क्षेत्र नं. २ प्रदेश सभा क का सभापति प्रकाश श्रेष्ठ, क्षेत्र नं. २ ख का अभियान बस्नेत, क्षेत्र नं. ३ का सचिव पूर्णबहादुर खत्री, क्षेत्र नं. ३ क का सचिव तेजबहादुर डाँगी, ३ खका सचिव भद्रबहादुर खड्का, क्षेत्र नं. १ क का उपसभापति जगदम्बा चौधरी, लमही नगरपालिका नगर प्रमुख जोखराज चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, राजपुर गाउँपलिका अध्यक्ष शरद बुढाथोकी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरी, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, नेपाली कांग्रेस घोराही नगर सभापति तिकल रावत, नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी, नेपाली कांग्रेस शान्तिनगर सभापति झलक केसी, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुनकुमार योगीले गरेका थिए । साउनको २० गतेदेखि ३० गतेसम्म चलेको अभियानका क्रममा जिल्लामा ३ वटा क्षेत्र, ६ प्रदेश सभा निर्वाचन क्षेत्र, दशवटै पालिका, भ्रातृ तथा शुभेच्छुक सङ्घसङ्गठन र जनप्रतिनिधिसँग पार्टीको सङ्गठन निर्माण, भूमिकालगायतका विषयमा अभियानका क्रममा छलफल भएको थियो ।