Goraksha

National Daily

वर्षासँगै भत्किए सडक,नाकाबासीलाई थपियो सास्ती

प्रियास्मृति गजमेर
लमही, १ भदौ । लगातारको वर्षाले जिल्लाको नेपाल–भारत सीमा क्षेत्रका कच्ची सडक भत्कँदा नाका क्षेत्रमा आवतजावत पूर्णरूपमा ठप्प भएको छ । एक गाउँबाट अर्को गाउँमा जान समेत समस्या भएको छ भने गाउँपालिका, वडा कार्यालय, अस्पताल, विद्यालय र बजारसम्म आउन समस्या भएको छ । निरन्तरको वर्षे झरीका कारण सीमा क्षेत्रका स्थानीय जिल्ला, सदरमुकाम र पालिकासँग सिधा सम्पर्क गर्नबाट समेत वञ्चित भएका छन् ।

राजपुर गाउँपालिका–६ खङ्ग्रा नाकाका गोविन्द डाँगी चार दिन अघिदेखि वडा कार्यालय आउने सोचमा थिए तर बाटो बिग्रिएका कारण वडा कार्यालयमा आउन सकिरहेका छैनन् । सबै सीमा क्षेत्रका बस्तीबाट गाउँपालिका, र वडा कार्यालय आउन सकिने कच्ची बाटोहरू छन् तर झरीले बाटो बिग्रिएर ओहोरदोहोर गर्न सक्ने अवस्था नभएको उनले बताए ।

सीमा क्षेत्रमा बस्नेलाई जिल्लाका विभिन्न क्षेत्रमा आउन भारतीय भूमि प्रयोग गर्नु पर्ने बाध्यता छ । भारतको बाटो प्रयोग नगरी उनीहरूलाई सुखै छैन । ‘भारतको बलरामपुर, तुलसीपुर हुँदै कोइलाबास भएर नेपाल आउँदा खर्च धेरै लाग्छ । आफ्नै वडा र पालिकामा जान पनि विदेशी भूमि प्रयोग गर्नु पर्ने यो कस्तो बाध्यता हो ?’, डाँगी भन्छन् ।

गाउँपालिका जोड्ने सबै सीमा क्षेत्रका कच्ची सडकहरू बिग्रिएका छन् । कतै पहिरो झरेको छ भने कतै खोलामा राखिएका ह्युमपाइप खोलाले बगाएर लगेको छ । ‘कच्ची सडक भत्केपछि धेरै समस्या देखा परेको छ’, राजपुर गाउँपालिका–७ पारि गन्धैला नाकाका खिमबहादुर डाँगीले भने, ‘बिरामी समेत उपचार नपाएर घरमै बस्न बाध्य छन । खोलामा पुल, कल्भर्ट नहुँदा बालबालिका विद्यालय जानबाट समेत बञ्चित भएका छन् ।’

वडा र गाउँपालिकाले बजेट विनियोजन गर्दा सीमा क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै सीमाबासीले स्थानीय सरकारप्रति आक्रोश पोखेका छन् । सदरमुकाम आउन समस्या छ, यो फरक पाटो होला तर सीमा क्षेत्रमा भएका सबै बस्तीमा समेत आउजाउ गर्न गाह्रो छ’, राजपुर गाउँपालिका–७ भैँसाही नाकाका टंक विश्वकर्माले भने ।

स्थानीय तहमा जनप्रतिनिधि आएको यति वर्ष भइसक्यो तर जनताको समस्या भने उस्तै भएको विकले बताए । ‘हामी बिनाबर्दीका सिपाही बनेर सीमा क्षेत्रको रक्षा गरेर बसेका छौँ, दुःख–सुख जे–जस्तो भए पनि सहेर बसेका छौँ, यो कुरा राज्यले बुझ्नु पर्छ’, स्थानीय लीलाधर विकले भने, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, यायायात जस्ता आधारभूत आवश्यकता नै छैन ।’

हिउँदमा आगलागी र वर्षामा बाढी पहिरोको चपेटामा नाकाबासी भोग्दै आएका छन् । ‘न समयमा उपचार पाउन सकेका छन्, न समयमा अन्य सुविधा । गर्मीयाममा खडेरीका कारण पिउने पानी पाइँदैन । काकाकुल जस्तो भएर पानी खोज्न भारतीय बस्तीमा जानु पर्छ, वर्षायाममा खोलानालामा बाढी आएर सडक बाटो बिगार्छ, दैनिकी जीवनयापनमा समस्या दिन्छ’, स्थानीय पूर्णबहादुर बुढाले भने ।

वर्षापछि बाटो मर्मत : प्रवक्ता रोका

सबै सीमा क्षेत्रमा पुग्ने बाटोहरू जान नसक्ने अवस्था भएकाले अब वर्षापछि मात्र बाटो मर्मत गरिने राजपुर गाउँपालिका–६ का वडाअध्यक्ष तथा प्रवक्ता श्यामबहादुर रोकाले वताए । ‘अहिले पानी परिरहेको छ, यो झरीमा मर्मत गरेर काम छैन, वर्षा सकिएपछि हामीले बाटो मर्मत गर्ने छौँ’, वडाध्यक्ष रोकाले भने । नाकाको हकमा पूर्व–पश्चिम जितबहादुर सिंजालीमार्ग बिग्रिएको स्थानमा सुरक्षाकर्मी र स्थानीयले सामान्य आउनजान सक्ने गरी बाटो मर्मत गर्दै आएका छन् । पानी प¥यो भने फेरि खहरे खोला आएर बाटो बिगारिदिन्छ, त्यसकारण अहिले तत्काल बाटो बनाउनुको कुनै अर्थ नभएको वडाअध्यक्ष रोकाले बताए ।

सीमा क्षेत्रको विकासमा बजेट बढाउँछौँ : उपाध्यक्ष यादव

सीमा क्षेत्रको विकासका लागि सानो आकारको बजेटले थेग्न नसक्ने राजपुर गाउँपालिका उपाध्यक्ष धनापतिदेवी यादवले बताइन् । ‘गाउँपालिकाको बजेटसँग सीमा क्षेत्रको विकासको केन्द्रीय बजेटको खाँचो छ’, उपाध्यक्ष यादवले भनिन् । सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको जीवनस्तर उकास्न सडक–बाटो पहिलो आवश्यकता भएको भन्दै उनले नाकामा रहेका सबै बस्तीलाई पालिकासँग जोड्न सकिए त्यहाँका जनताले यातायातको सुविधा पाउने बताइन् ।

गढवा गाउँपालिका–२ को चिमचिमे नाका जो कपिलवस्तु जिल्लासँग सीमाना जोडिएको छ । यो नाकादेखि बाँके जिल्लासँग सीमाना जोडिएको राजपुर गाउँपालिका–७ भौवा नाकासम्म ६५ किलोमिटरको दूरीमा रहेको छ । यो सडकको नाम जितबहादुर सिंजाली मार्ग राखिएको छ । गत वर्ष यो सडकको स्तरोन्नतिका लागि लुम्बिनी प्रदेश सरकार र राजपुर गाउँपालिकाले डेढ करोड बजेट विनियोजन गरेका थिए ।

सो बजेटबाट ह्युम्पाइप राख्ने, तारजाली लगाउने र कच्वे निर्माण गर्ने जस्ता काम भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै गरेर गत वर्ष नै जङ्ग्रहवादेखि खङ्ग्रानाका, बेलादेखि सिरिया नाका र राजपुर गाउँपालिकाको सुनपथ्री नाकामा पर्ने ठाडो बाटोको मर्मतका लागि डेढकरोड बजेट विनियोजन भएको थियो । बजेटबाट ट्रयाक खोल्ने, कल्भर्ट निर्माण गर्नेजस्ता काम भएको छ ।