प्रियास्मृति गजमेर
लमही, ३१ भदौ । जिल्लामा डेङ्गुको ग्राफ बढ्दो अवस्थामा छ । अहिलेसम्म ९१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा २९ र गढवा गाउँपालिकामा १३ जना गरी ९१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए ।
पालिकाहरूले दिएको विवरण अनुसार सबै उमेरका महिला, बालबालिका र पुरुषमा डेङ्गु सङ्क्रमण भएको चन्दले बताए । हालसम्म डेङ्गु सङ्क्रमणबाट कसैको मृत्यु भने भएको छैन । गत वर्ष जिल्लामा २ जनाको डेङ्गुका कारण मृत्यु भएको थियो । जिल्लामा पनि डेङ्गु रोग बिस्तारै फैलिरहेको छ । ‘भदौ र असोजसम्म यो रोगको सङ्क्रमण उच्च विन्दुमा पुग्छ । त्यसपछि सङ्क्रमण दर घट्दै जान्छ’, फोकल पर्सन चन्दले भने । उनका अनुसार डेङ्गु रोग नियन्त्रणका लागि थुप्रै कार्यक्रम भइरहेका छन् ।
‘हामीले कार्यालयमा एक जना फोकल पर्सन भनेर तोकेका छौँ, उहाँले जिल्लाका दशवटै पालिकाका स्वास्थ्य शाखाहरूसँग व्यापक छलफल र समन्वय गरिरहनु भएको छ’, स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बर कँवरले भने, ‘हामीले हाम्रो तर्फबाट सक्दो पहल गरेका छौँ, महामारी रूपमा फैलिन नदिन हामीले पनि सतर्कता अपनाएकै छौँ ।’ डेङ्गु रोगले देशैभर महामारी लिन थालेपछि देउखुरीका चारवटै स्थानीय तहले यो रोगलाई रोकथाम तथा नियन्त्रण गर्न विभिन्न प्रयास गरेका छन् । साथैपालिकाले सरोकारवालासंग छलफल समेत गरेका छन् । पालिकाहरूले रोगबाट जोगिन चेतनामूलक कार्यक्रमसँगै लामखुटे बस्ने वासस्थान र लार्भा नष्ट गर्ने अभियान नै चलाएका छन् ।
बुधवार सरोकारवालासँगको छलफलमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले डेङ्गु रोक नियन्त्रणका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नु पर्ने बताए । ‘यो रोगलाई नियन्त्रण गर्न नगरपालिकाले एक्लै सक्दैन, नगरपालिकाले अगुवाइ गर्छ तपाईँ सबैले साथ दिनुस्’, नगर प्रमुख चौधरीले भने । डेङ्गु रोगलाई नियन्त्रण गर्न आफ्नो घरवरपर सरसफाई राख्न र सचेतना फैलाउन पनि नगर प्रमुख चौधरीले नगरबासीलाई आग्रह गरे ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नेपालीले हरेक वर्ष कुनै न कुनै विपतको सामना गर्नु परेको स्मरण गर्दै विपतको सामना गर्न सबै तयारी हुनु पर्ने बताइन् । डेङ्गु, मलेरिया, आँखा पाक्ने जस्ता रोगलाई सामान्य ठानेर लापरबाही नगर्न पनि सबैमा अनुरोध गरिन् । लमहीनगरपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले डेङ्गु रोग नियन्त्रण गर्न वडा, टोलबासीले संयुक्त रूपमा अभियान चलाउनु पर्ने बताए । ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख उदयराज भट्टराईले महामारी फैलने कुरामा सचेत बन्न आग्रह गरे ।
राजपुर, गढवा र राप्ती गाउँपालिकामा पनि डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित घर, विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौँ र लामखुट्टेको फुलनष्ट गरौँ जस्ता अभियान नै चलाएका छन् । सबै वडाहरूमा सूचनाटाँस गरेर सेवाग्राहीमार्फत् गाउँटोलसम्म सूचना प्रवाह गर्ने गरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।