गोरक्ष समाचारदाता
तुलसीपुर, ३२ साउन । गुट बनाउने क्रममा पाटी कमजोर हुने अवस्था आएको कांग्रेस कार्यकर्ताले गुनासो गरेका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ (ख) ले बुधवार शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित बैसामा आयोजना गरेको सङ्गठन सुदृढीकरण विशेष आन्तरिक अभियान कार्यक्रममा बोल्ने कार्यकताले यस्तो बताएका हुन् ।
गुटगत राजनीतिका कारण कांग्रेस कमजोर भएको भन्दै पार्टीलाई बलियो बनाउन सुझाव दिएका छन् । उनीहरूले सङ्गठनलाई उर्जाशील, चलायमान बनाउन केन्द्रदेखि नै सुदृढीकरणको अभियान सञ्चालन गर्नु पर्ने माग समेत गरे ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वलीको सभापतित्वमा भएको कार्यक्रमलाई कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहितले पार्टी सुदृढीकरण आवश्यक रहेको बताए । उनले नेता–कार्यकर्ता र युवा कमिटिलाई समेट्ने र पार्टीलाई राष्ट्रिय स्तरमा स्थापित बनाउने मुख्य उद्देश्यले केन्द्रीय समितिले देशैभर विशेष आन्तरिक अभियान सञ्चालन गरेको बताए । उनले पार्टीको बिशेष आन्तरिक अभियानले पार्टीका नेतृत्व र कार्यकर्ता बिचको सम्बन्ध मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले पार्टीको निर्देशन अनुसार सञ्चालन हुने विशेष अभियानमा दुविधामा नपर्न आग्रह गरे । उनले जिल्ला तहदेखि वडा र टोल तहसम्म अपूर्ण रहेको समितिलाई पूर्णता दिइ सबै विवरण जिल्ला समितिलाई पठाउन निर्देशन दिए । देश भरिबाट सबै विवरण प्राप्त गरिसकेपछि केन्द्रीय समितिले आफ्ना सूचना, निणर्य, कार्यक्रम एकैपटक सबै नेता कार्यकर्तालाई एउटै म्यासेजबाट खबर पु¥याउने संयन्त्र तयार गर्न लागेको समेत बताए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पार्टीलाई बलियो बनाउने दिशामा हिड्न सबैलाई आग्रह गरे । ‘सबैभन्दा पहिले एकले अर्कालाई आक्षेप लगाउने र गुटगत राजनीतिका कुराहरू बन्द गर्नुस्’, सभापति डाँगीले भने, ‘तब मात्र पार्टी बलियो बन्छ ।’ पार्टीलाई चलायमान बनाउन गतिविधिलाई बढाउनु पर्नेमा उनको जोड थियो ।
नेपाली कांग्रेस बाँकेका पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमालले आन्तरिक अभियानलाई टोल समितिसम्म लैजान सकेमा मात्र पार्टीलाई अगाडि बढाउन सकिने बताए । उनले जिल्लामा रहेका महिला सङ्घ, तरुणदल, नेविसङ्घजस्ता विभिन्न सङ्गठनलाई पुनर्गठन गरी परिचालन गर्न आग्रह गरे ।
कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व जिल्ला विकास समिति दाङका अध्यक्ष भरत केसी, महाधिवेशन प्रतिनिधि देवा डाँगी, गोविन्दबहादुर शाह, टीका घर्तीले केन्द्रीय नेताको आपसी लडाइँ र विभेदले गाउँ तहका कार्यकर्तामा ठुलो असर परिरहेको बताए ।
कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका सभापति झलक केसी, शान्तिनगर गाउँपालिका वडा नं. ३ का सभापति पार्वती पुनलगायतले कांग्रेसमा रूपाान्तरण आवश्यक भएको बताए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस क्षेत्र नं. ३ ख का सचिव भद्रबहादुर खड्काले गरेका थिए ।
यसैबिच बुधवार नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (क) ले पनि तुलसीपुरमा सङ्गठन सुदृढीकरण विशेष आन्तरिक अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
क्षेत्र नं. ३ क मा उसभापति पुष्पराज गिरी सभापतित्व, केन्द्रीय सदस्य गोपाल दहितको प्रमुख आतिथ्यता र प्रदेश प्रतिनिधि रवि विश्वकर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति जगतबहादुर खड्का, दलित सङ्घ लुम्बिनीका सभापति जोगेन्द्र विश्वकर्मा, महिला नेतृ शूष्मा लामिछाने गिरी, विद्यार्थी नेता अरुण लहरे, तुलसीपुर–१३ का इकाई सभापति चेतकान्त योगीलगायतले कांग्रेसको सङ्गठन सुदृढीकरणमा सबै लाग्नु पर्ने बताए ।
प्रदेश प्रतिनिधि चुर्णबहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद मन्तव्य प्रदेश सहसचिव रञ्जनकुमार गौतमले दिएका थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस क्षेत्र नं. ३ क का सचिव तेजबहादुर डाँगीले गरेका थिए ।