गोरक्ष समाचारदाता
दाङ, ३२ साउन । नेकपा एमालेले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण गरेसँगै जिल्लामा तयारी थालिएको छ । प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकेको छ ।
लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १७ मा बुटवलमा हुँदैछ । एमाले दाङले प्रदेश अधिवेशनको लागि प्रतिनिधि चयन गर्न पालिका कमिटीलाई निर्देशन गरेको छ । जिल्लाका दशै पालिकामा भदौ ९ गते प्रतिनिधि चयनको काम हुँदै छ । नेकपा एमाले दाङ निर्वाचन विभागको बुधवारको बैठकले जिल्लाका दशवटै पालिकामा व्यवस्थित रूपमा प्रतिनिधि छनोट गर्न र त्यसका लागि सहजीकरण गर्न निर्णय गरेको छ । प्रतिनिधि छनोटको लागि कमिटीको तर्फबाट तीन–तीन जना निर्वाचन अधिकृत खटाउने निर्णय बैठकले गरेको छ ।
नेकपा एमाले निर्वाचन विभाग प्रमुख मनोहर बुढाथोकीको अध्यक्षता एवम् एमाले पोलिटव्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्लाका दशवटै पालिकामा भदौ ९ गते व्यवस्थित, मर्यादित रूपमा प्रतिनिधि छनोट गर्न निर्देशन दिने निर्णय भएको निर्वाचन विभाग सदस्य भानसिंह बुढाले बताए । बैठकले प्रदेश अधिवेशनमा प्रतिनिधि चयनका लागि सय सदस्य बराबर एक जना प्रतिनिधिको मापदण्ड राखेको छ । खुलातर्फ सय जना सदस्य बराबर एक जना र दलिततर्फ ७५ जना बराबर एक जना प्रतिनिधि चयन गर्ने पार्टीको प्रतिनिधि छनोट मापदण्डमा व्यवस्था छ ।
‘पार्टीको निर्देशन अनुसार नै जिल्लाका दशै पालिकामा प्रतिनिधि चयनको काम हुन्छ’, निर्वाचन विभाग प्रमुख बुढाथोकीले भने, ‘त्यो अनरूपको काम भइराखेको छ ।’ उनका अनुसार प्रतिनिधि छनोट सर्वसम्मत नै गरिने छ । सर्वसम्मत नभएका स्थानमा लोकतान्त्रिक विधि प्रयोग गरिने भएको छ । ‘सर्वसम्मत प्रतिनिधि छनोटमा ध्यान दिएका छौँ ।
त्यो अनुसार पालिका कमिटीलाई निर्देशन दिने काम समेत भएको छ । सर्वसम्मत नभएको ठाउँमा लोकतान्त्रिक विधि अनरूप प्रतिनिधि छनोटको काम हुन्छ’, निर्वाचन विभाग प्रमुख बुढाथोकीले भने । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । दाङमा एमालेको पार्टी सदस्य सङ्ख्या १२ हजार दुई सय छ । प्रतिनिधिमध्ये एकतिहाई महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । यसैगरेर युवाको सुनिश्चितता प्रदेशको लागि १० प्रतिशत व्यवस्था गरेको छ ।
यसैबिच नेकपा एमालेका पोलिटव्युरो सदस्य नरुलाल चौधरीले नेकपा एमालेको प्रदेश अधिवेशनको महत्व धेरै भएकाले यसलाई सम्पन्न गर्न प्रतिनिधि छनोट कार्य व्यवस्थित, मर्यादित तवरले सम्पन्न गर्न निर्देशन दिएका छन् । चौधरीले नेकपा एमालेलाई साङ्गठनिक रूपमा व्यवस्थित र थप बलियो बनाउन प्रदेश, जिल्ला, पालिकाको अधिवेशन हुन लागिरहेको भन्दै सबैखाले अधिवेशनलाई सौहार्दरूपमा सम्पन्न गर्न पार्टी नेता, कार्यकर्ता, शुभेच्छुकले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।
पार्टीका आन्तरिक जीवनसँग सम्बन्धित कार्य सम्पन्न भइसकेपछि एमाले एकता र एउटै सन्देश बोकेर २०८४ मा हुने निर्वाचन लक्षित कार्यक्रम लिएर जनतामाझ जाने समेत बताए । नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले प्रदेश अधिवेशनलाई भव्य बनाउन एमाले दाङ जिल्लाको तर्फबाट सबैखाले सहयोग गरिने र प्रतिनिधि छनोट कार्य सम्पन्न गर्न पार्टी जिल्लाले सहजीकरण र सहयोगको काम गर्ने बताए ।
कुन प्रदेशमा कहिले अधिवेशन
एमालेले आगामी असोज मसान्तसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ । सबैभन्दा पहिले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन हुने भएको छ । लुम्बिनी भदौ १६–१७ मा, मधेस असोज ५–६ मा, मधेस, बागमती असोज ८–९ मा, कर्णाली असोज १०–११ मा, कोशी १२–१३ मा, गण्डकी १५–१६ मा, उपत्यका विशेष असोज १९–२० मा र सुदूरपश्चिम असोज २१–२२ मा सम्पन्न गर्ने भएको छ ।