गोरक्ष समाचारदाता
तुलसीपुर, ३२ साउन । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले पछिल्लो समयमा आँखा अस्पतालहरूको नाम जोडेर बजारमा भ्रम सिर्जना गरेको भन्दै सचेत बन्न आग्रह गरेको छ । आँखा स्वास्थ्य कार्यक्रमका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले बुधवार जारी गरेको सन्देशमा ‘आँखा अस्पतालको शाखा हो, आँखा अस्पतालमा काम गर्छु, हाम्रो पसल र आँखा अस्पतालमा काम गर्ने डाक्टर एउटै हुन, बजारमा यस्ता खालका भ्रम सिर्जना गरी बिरामीहरूलाई भ्रममा पार्ने काम भइराखेको भन्दै सचेत रहन’, उल्लेख गरिएको छ ।
सन्देशमा आफूहरूका अस्पताल उपचार केन्द्रहरूमा काम गर्ने नेत्र विशेषज्ञ डाक्टर, दृष्टि विशेषज्ञ, नेत्र अधिकृत र नेत्रसहायकज्यूहरू कोही कसैले पनि सङ्घद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्र बाहेक कुनै निजी क्लिनीक आँखा उपचार केन्द्र र बजारमा सञ्चालनमा आएका चस्मा पसलहरूमा गई आँखा चेकजाँच नगर्ने गरेको उल्लेख छ । आँखाको कुनै समस्या आएमा नजिकैका आँखा अस्पतालमा गएर आँखा उपचार सेवा तथा सल्लाह सुझाव लिन सन्देशमा उल्लेख छ ।
जिल्लामा प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको भन्दै सचेत रहन समेत आग्रह गरिएको छ । सबै उमेर समूहका सङ्क्रमित भइरहेको र मौसम परिवर्तनसँगै भाइरल कन्जंग्टिवाइटिसका कारण अहिले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या लिएर राप्ती आँखा अस्पताल तुलसीपुर, लमही आँखा अस्पताल लमही दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज र आँखा उपचार केन्द्रमा अहिले आँखामा बिरामी दैनिक आउने गरेको र अस्पतालमा उपचारपछि सबै बिरामी सन्चो हुँदै पनि गरेको उल्लेख छ ।