जिसस र प्रदेश सांसदहरुवीच छलफल

इन्द्र डिसी

दाङ ४ बैशाख । जिल्ला समन्वय समिति दाङले कोराना संक्रमणको प्रभावको बारेमा जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग विहीवार छलफल गरेको छ । कोरानाले नागरिकमा पारेको प्रभाव र पालिकाहरुले कोरानाबाट जोगिन गरेको तयारी र अनुगमन गर्नको लागि समन्वय समितिले प्रदेश सांसदसँग छलफल गरेर सुझाव लिएको हो । छलफलमा पालिकाहरुमा निर्माण गरेका क्वारानटाइन, राहत वितरणलगायतका बारेमा छलफल भएको थियो । ‘प्रदेश सांसदहरुले पालिकाहरुले गरेको राहत वितरणदेखि अन्य विषयमा सुझाव राख्नु भएको छ’ समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने,-‘ति सुझाव सम्बन्धित क्षेत्रमा पुराउन समितिले समन्वय र सहजिकरणको काम गर्ने छ ।’

छलफलमा सांसदहरुले प्रत्येक गाउँपालिकाहरुले खाद्य बैंक स्थापना, राहत वितरण गर्नको लागि निवेदन माग, स्वास्थ्य सामाग्रीको वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन, राहत प्राप्त गर्ने व्यक्तिको लगत लिदा वर्गिकरण गर्न, विपत्तमा परेका राजमार्गमा हिड्ने पैदल यात्रुहरुलाई लमही र राप्ती गाउँपालिका भित्र चिया, नास्ता तथा खानाको व्यवस्था मिलाउन, विदेश गएका र आएका मानिसहरुको अभिलेख अद्यावधिक, अतिविपन्न समुदायको अभिलेखिकरण राखि राहत वितरणमा पहिलो प्राथमिकता दिनको लागि समन्वय गर्न समन्वय समितिलाई सुझाव दिएका थिए ।

त्यसैगरेर सांसदहरुले पालिकामा रहेका जेष्ठ नागरिकहरुको लगत अद्यावधि राखि स्वास्थ्य जाँच, खानपिन लगायत अन्य सुविधाहरु उपलब्ध गराउने, पालिकाहरुलाई आवश्यक पर्ने कृषि उत्पादन(मल, विउ, औषधी) को रेकर्ड लिएर त्यसको व्यवस्थापनको लागि सम्बन्धित निकायमा माग गर्ने र ग्रामिण क्षेत्रमा उत्पादित तरकारी फलफूललगायत कृषि उपज सामाग्रीहरुको सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवस्थापन गर्नेको लागि समन्वय तथा सहजिकरण गर्न सुझाव दिएको समन्वय समितिले जनाएको छ ।

छलफलमा प्रदेश सांसदहरु डिल्लीबहादुर चौधरी, दामा शर्मा, इन्द्रजित चौधरी, अमरबहादुर डाँगी, रेवतीरमण शर्मा, सरस्वती गौतम र समन्वय समितिका प्रमुख, उपप्रमुख र समन्वय अधिकारीको सहभागिता थियो । समन्वय समिति प्रमुख नेपालीको अध्यक्षतमा भएको छलफल कार्यक्रममा समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले पालिकाहरुले कोरानाबाट जोगिन गरेको तयारीको बारेमा सांसदहरुलाई जानकारी गराएका थिए । समन्वय समितिले केही दिन अघि १० वटै पालिकाहरुको अनुगमन गरेको थियो ।