विपुल पोख्रेल
लमहीको एउटा तस्विर सामाजिक सञ्जालमा देखें । एक जना व्यक्ती मास्क लगाएर उभिएका थिए । थकित र चिन्तीत अनुहार । पृष्ठभूमिमा एउटा ट्रकमा एक हुल मानिसहरु चढिरहेका देखिन्थे ।
ती व्यक्ती थिए, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ । गोरक्ष अनलानइनमा उनले केही व्यक्तीलाई उद्धार गरेर दाङको सिमाना पार गराइदिएको समाचार त्यो भन्दा पहिले नै आएको थियो । एउटा घटना होला त्यो भनेर स्वभाविकै लागेको थियो । तर, फेसबुकमा त्यो फोटो देखेपछि उनलाई फोन गर्न मन लाग्यो । हिजो बिहान सवा ६ बजे फोन गरे, मोवाइल अफ थियो । आज पनि त्यही समयमा फोन गरे । आज उठ्यो ।
सामान्य अभिभादनपछि भने, ‘राती १२ बजे तिर फोन आयो, घोराही जाने केही किशोरहरु लखतरान परेर बसेका रहेछन् । तिनीहरुको अबस्था सुन्दा नै अर्कै लाग्यो, राती नै स्कारपियो गाडी बनाएर घोराहीसम्म पुराइदिए, अनी बल्ल सुतेको । आजभोली यस्तै छ मेरो ।’
कुनै गौरवबोध थिएन उनको आवाजमा, बहादुरीको कथा सुनाइझै पनि लाग्दैनथ्यो । उनको स्वभाव नै कम बोल्ने मलाई थाहा छ ।
‘दिन दिनै खट्नु भा’छ त । समाचारमा देखिरहेको छु’ मैले जिज्ञासा मिश्रित स्वरमा उनको कामबारे जानकार भएझै गरी भने ।
‘बर्दिया जाने एकजना थारु समुदायकी महिला र उनको छोराको अबस्था देखें हेर विपुल, मन थाम्नै सकेन । अनी सडकमा बसेर सहयोग गर्ने कोशिसमा छु ।’
‘के अबस्थामा देख्नुभयो त ती आमा छोरालाई ?’
‘दुई जनाकै खुट्टा सुन्निएको रैछ, चितवनवाट आएको भन्दै थिए, सारै टिठ लाग्यो अनी अरु पनि थिए । प्रशासनसंग कुरा गरे अनी मेरै ट्रकमा कुसुमसम्म पुराइदिएँ ।’
कम बोल्ने उनलाई मैले प्रश्न गरेर खुलान पर्छ भन्ने बोध थियो मलाई । उनी पनि जती सोध्यो उती मात्र जवाफ दिने । उनलाई मैले दाइ भन्छु, सानै बच्चैदेखि मलाई माया गर्ने एकजना दाइ हुन् उनी । त्यसैले उनको आनीबानीका बारेमा मलाई थाहा हुनु स्वभाविकै भैहाल्यो ।
सरकारले हिजो मात्र एउटा निर्णय ग¥यो, लकडाउनका बेलामा यसरी पैदल हिड्नेलाई थुनेर कारबाही गर्ने । हिजै दाउन्ने आसपासमा पैदल हिड्नेलाई ५ घण्टा प्रहरीले नियन्त्रमा लिएको समाचार पनि आज बिहान कतै पढ्दै थिएँ ।
रत्न दाइको काम र सरकारको नीति उल्टो छ । सरकार थुन्ने भन्छ, रत्न दाइ ट्रकमा हालेर सिमाना कटाइदिन दत्ततिचत्त छन् ।
सरकारको यहाँ नेर एउटा ठूलो दोष छ । मानिसहरु यसरी किन ४ सय ५ सय किलोमिटर हिड्न बाध्य छन् भन्ने तर्फ किन सरकारले जान्न चाहन्न ? उनका समस्या किन समाधान गर्न चाहन्न ? संक्रमणसंग लड्दै गर्दा नागरिकका अप्ठ्याराहरु सुन्ने, बुझ्ने र समाधान गर्ने काम हुँदैन र सरकारको ? मानवकल्याणको पक्ष पूर्ण नजरअन्दाज गर्नै पर्ने हो कोरानासंग बच्नका लागि ?
सरकारको यो नीतिका बारेमा रत्न दाइलाई धेरै चासो छैन । बरु उनले बिहानैको फोनमा भने, ‘प्रशासन त सहयोगी नै छ अझै सम्म, तर स्थानीय सरकार त आफ्नै तालमा देख्छु । उस्मा सहयोगी भावना नै देख्दैन म विपुल । यहाँमात्र हो कि सबै तिर हो भन त बिपुल । तिमिहरुलाई त सबै तिरको थाहा होला ?’
म हाँसे मात्रै । ‘तपाईको भोगाई जे छ त्यही त होला दाइ’ जवाफ यत्तिमात्र दिए ।
रत्न दाइले सधै मानव कल्याणलाई प्राथमिकता दिन्छन् भन्नेमा मलाई शंका छैन । आमा साईं बाबाको बहिनी भनेर चिनिनुहुन्छ । बुबा पनि धर्मसेवीका रुपमा प्रतिष्ठत हुनुहुन्छ । यसको असर रत्न दाइमा गहिरोसंग परेको छ ।

अझ उहाँको अर्को प्रशंग स्मरणमा आयो । उमेरमै आफ्ना दाजु र छोरा वियोगको दुःखद घटना झेल्न उहाँ बिवष हुनुहुन्छ । त्यो पीडालाई उहाँले शक्तिमा बदलेर सेवामा रुपान्तरण गर्ने प्रयासमा हुनुहुन्छ भन्ने जानकारी मलाई थाहा छ ।
प्रशंग बहकियो झैं लाग्यो ।
कोरोनाका कारण लगाइएका लकडाउनको अबधीमा रत्न दाइले ८ सयको हाराहारीमा मानिसहरुलाई आफ्नै ट्रकमा हालेर सिमाना कटाइदिने, खाना खाजा खुवाउने, पानीको व्यबस्था गर्ने मात्र हैन, दैनिक काम गरेर आएको ज्यालाबाट गुजारा गर्नेको घरमै खाद्यान्न पुराइदिने र केही अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै अभिभावकत्व लिने काम गर्दै आएका छन् ।
‘दाइ यो खर्च उद्योगा बाणिज्य संघको हो ?’ मैले फेरि कोट्याएँ उनलाई बिहानको फोनमा
।
‘कहाँ हुनु । अरुसंग सल्लाह नगरेर, निर्णय नगरेर कहाँ संस्थाको पैसा खर्च गर्नु ? यो सबै आफै गरेको ।’ उनले हाँस्दै भने ।
मैले पनि जिस्क्याँए, ‘लकडाउन नहुँदाको समयमा यती पैसा त तपाईंले अरुलाई खाजा नास्तामै उडाउनु हुन्थ्यो, त्यसकारण नडराएर सेवा गर्नुस् ।’
उनी लामो हाँसो हाँसे ।
‘धेरैको आशिर्वाद पाएको छु, यो पटक त मैले’ उनी अली खुल्दै गए, ‘भगवान नै भेटायौं पनि भने कतिले त मलाई, लाज लाग्यो त्यसो भनेको सुन्दा त ।’
गोरक्षकर्मी शिबराज खनालले एकजनाको भनाई भन्दै रत्न दाइलाई ‘भगवान झै लाग्यो’ भनेर समाचार पठाएका थिए । मैले अली बढी भयो कि भनेर सम्पादन गर्दा त्यो वाक्य हटाइंदिएको थिएँ । तर, रत्न दाइले आफैले भन्दा अनी उनको लगातार लमहीको सडकमा भएको उपस्थिति देख्दा उनी साच्चीकै मसीहा बनेर बसेका रहेछन् झैं लाग्यो ।
ट्रक, स्कारपियो गाडी थुप्रैपटक कुदाएका उनी यस्तै सेवा गर्न पाइराखुँ भन्ने मानसिकतामा देखिन्थे । ‘प्रशासनले सहयोग गर्दासम्म त उद्धार गर्नै प¥यो, अब प्रशासनको सहयोग पाएन भने त के नै गर्न सकुला र ?’ उनको इच्छा यसरी प्रकट भयो ।
मानिस त्यसै त्यती लामो दूरी पैदल हिडिरहेको छैन, उस्मा बाध्यता र पीडा । त्यसैले हिडेको छ भन्ने निश्कर्षका साथ उनी यात्रीको दर्दमा थोरै भए पनि मलम लगाउन २४ घण्टा नै ड्यूटीमा छन् । सरकार भने ’किन हिडेको ?’ भन्दै थुन्ने निष्कर्षमा पुगेको छ । दुबैका आआफ्ना तर्क होलान् । तर, मेरो कोही रहेछ भन्ने अनुभुति लमहीसम्म आइपुग्ने पैदल यात्रुलाई रत्नप्रसाद श्रेष्ठले नै दिएका छन् । मानव कल्याणलाई केन्द्रबिन्दूमा राखेर काम गर्नेलाई नै मानिसले ‘भगवान झै लाग्यो’ भन्दा रहेछन् ।
फोन राख्नै लाग्दा उनले अली ठूलो स्वरमा भने, ‘विपुल एउटा कुरा सुन त’
‘के दाइ ?’
‘यहाँका पत्रकार भाइहरु खुबै खटेका छन्, उनीहरुलाई हाइलाइटर ज्याकेट बनाइदिनु प¥यो यार ।’
‘मैले प्रयास गरिरहेका छु दाइ, कपडा नपाइएर हो । प्रयास जारी छ दाइ ।’
‘जसरी हुन्छ गर यार भाइ ।’
‘हस दाइ ।’
फोन राखे ।
यो संकटका बेलामा अग्रपंक्तीमा लडिरहेका पत्रकारहरुका बारेमा राज्यले कुनै नोटिस गरेको महसुस नभइरहेको बेला समुदायले त मूल्यांकन गरिरहेको रहेछ, खुशी लाग्यो आफ्नो पेशा प्रति र गर्वानुभूति भयो आफ्ना सहकर्मीहरु प्रति ।
बधाई अनी आभार व्यक्त गर्दछु पैदल यात्रुहरुका लागि मसीहा बनेर लमही चोकमा देखापरिहरका रत्न दाइलाई ।