प्रमोद आचार्य
दंगीशरण, २४ साउन । दंगीशरण गाउँपालिकामा सञ्चालन भइरहेको डिजिटल वित्तीय साक्षरता तालिमको अनुगमन गरिएको छ । तालिमको गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वली खड्का सहितको टोलीले अनुगमन गरेको तालिमका प्रशिक्षक सरीता चौधरीले बताइन् ।
अनुगमनका क्रममा महिलाले देखाएको सक्रियता र महिलामा देखिएको साक्षरतामा परिवर्तनले आफूलाई समेत उत्साहित बनाएको पालिका अध्यक्ष गिरीले बताए । आफू हरेक तालिममा सहभागी रहेको र अनुगमन गरेको तर यस डिजिटल साक्षरता कक्षा साच्चिकै प्रभावकारी रहेको भन्दै संस्थाप्रति धन्यवाद व्यक्त गरे । अनुगमनका क्रममा उपाध्यक्ष पिमा वली खड्काले महिला नेतृत्व र क्षमता विकासका लागि डिजिटल साक्षरता तालिम उपलब्धिमूलक भएको बताइन् ।
महिलाको सशक्तिकरण र नेतृत्व विकाससम्बन्धी तालिम दिँदै गर्दा डिजिटल साक्षरता तालिम निकै प्रभावकारी देखिएको र पालिकाले सक्दो सहयोग गर्ने आश्वासन समेत उनले दिइन् । समुन्नति डिजिटल फाइनान्स जर्सी ओभरसिसको आर्थिक सहयोग, प्रयाक्टिकल एक्सन नेपालको संयोजन र डिप्रोक्स नेपालको आयोजनामा सञ्चालन भइरहेको तालिमको डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी गराउने उद्देश्य छ ।
तालिममा संस्थाले मोबाइल बैंकिङ कारोबारलाई प्रभावकारी बनाउन, सहभागिको मोबाइलमा पैसा राखेर प्रयोगात्मक अभ्यास समेत गराएको छ । स्थानीय महिलाका कार्यबोझ कम गरी नेतृत्व विकास र व्यवसायमा जोड्दै डिजिटल माध्यमबाट कारोबार गरी आत्मनिर्भर बनाउने तालिमको थप उद्देश्य रहेको प्रशिक्षक चौधरीले बताइन् ।
तालिमको उद्देस्य विद्युतीय माध्यमबाट कारोबार कसरी गर्ने, आर्थिक आयआर्जनमा वृद्धि कसरी गर्ने, आम्दानी कसरी बाध्ने, खर्च र आम्दानीको लेखाजोखा कसरी गर्ने भन्ने रहेको परियोजनाका कार्यक्रम संयोजक अमित दुवाडीले बताए । तालिममा दंगीशरणका १२ वटा ठाउँमा साक्षरता कक्षा चलाएको समुन्नति परियोजना दंगीशरण र शान्तिनगरकी सामाजिक परिचालक कल्पना खड्काले बताइन् ।