६ महिनाभित्र दायित्व शून्यमा झार्छौ : नगर प्रमुख खड्का [अन्तर्वार्ता]
जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिका एक हो । तुलसीपुर उपमहानगरपालिकामा अधिकांश भू–भाग समथर जमिन र केही क्षेत्र पहाडी भू–भाग छ । यसको करिब ७० प्रतिशत भू–भाग दाङ उपत्यकाको समथर भू–भागमा छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रफलको हिसाबमा नेपालको दोस्रो ठुलो उपमहानगरपालिका हो । तुलसीपुर उपमहानगरपालिकाका साविकका बिजौरी, मानपुर, डुरुवा, फूलबारी, पवननगर, उरहरी, टरिगाउँ र हलवार गाविस गाभिएर उपमहानगर बनेको हो । पालिकामा १९ वटा वडा छन् । तुलसीपुरका सबै वडा सुगम छैनन् ।
१३, ३, १९, ४, १ नम्बर वडाका केही क्षेत्र दुर्गम पनि छन् । तुलसीपुरमा समानुपातिक रूपमा विकास हुन सकेको छैन । केही वडा विकासका दृष्टिले अगाडि छन् भने केही पछाडि छन् । तुलसीपुरमा विभिन्न समस्या छन् । पार्किङ, बजार व्यवस्थापन, छाडा चौपाया, बधशाला, फोहोर व्यवस्थापन लगायतको विकास पूर्णरुपमा भएको छैन । सीमित साधन स्रोतका बावजुद पनि तुलसीपुरको विकासमा जनप्रतिनिधि लागेका छन् । पालिकाको आर्थिक दायित्व, भइरहेका विकास, दीर्घकालीन योजनालगायतका विषयमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्कासँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।
यहाँलाई स्वागत छ, सातावार्तामा ?
मेरा कुरा राख्ने अवसर दिनुभएकोमा यहाँ अनि यहाँको पत्रिकालाई धन्यवाद ।
पालिकामालाई धेरै ऋण लागेको छ भन्छन् नि ? यो ऋणको कुरो के होे ?
तपाईँले भनेजस्तो ऋण होइन, यो दायित्व हो । कोभिड, देशमा आर्थिक तरलता विविध कारणले विगतमा विनियोजन गरिएको बजेटको तुलनामा राजस्व सङ्कलन भएन । काम सम्पन्न भए तर भुक्तानी पाउन बाँकी रह्यो । त्यसलाई ऋण होइन दायित्वका रूपमा बुझ्नुपर्छ । यो दायित्व जसरी रटान लगाएर तुलसीपुर उपमहानगरपालिकामा मात्रै छ भन्ने कुरो छ यो सरासर गलत हो । जिल्लाका अन्य पालिकामा समेत दायित्व छ । हाम्रो भन्दा बढी दायित्व सङ्घ प्रदेश सरकारका जिल्ला स्थित एउटै कार्यालयमा दायित्व छ ।
त्यो आउँदैन तर हामीमाथि मात्रै यो कुरा आउँछ । सङ्घ सरकारकै अर्थमन्त्रीले काम गरेको रकम भुक्तानी तत्कालै गर्न सकिँदैन भनेर निर्माण व्यवसायीलाई भनिरहनु भएको छ । यो तुलसीपुर उपमहानगरपालिकाका कारणले मात्रै सिर्जित दायित्वको कुरा होइन । सङ्घ र प्रदेश सरकारले बजेट योजना पठाउनुहुन्छ । सम्झौता भएर योजना सम्पन्न भएपछि रकम कटौती हुन्छ अनि त्यो दायित्व हाम्रै काँधमा आउँछ । दायित्व घटाउँदै लगेका छौँ । राजस्व जम्मा हुने यही अवस्था भइरह्यो भने यो वर्षको ६ महिनाभित्र शून्यमा झार्छौँ ।
दायित्व शून्यमा झार्ने भन्दै गर्दा अहिलेको अवस्था कस्तो छ ?
यो आर्थिक वर्ष २०७९÷०८० मा २८ करोड ५१ लाख राजस्व सङ्कलन भएको छ । देशमा आर्थिक अवस्था तरलताकै कारण यो समस्या सिर्जना भएको हो । दायित्व कार्तिक महिनाभित्र पूरा गर्छौँ । राजस्व सङ्कलनको अवस्था सकारात्मक नै छ । अझै पनि हाम्रा करको दर भन्दा दायरा बढाउनु पर्छ ।
लोकप्रिय रहेको स्मार्ट छोरी कार्यक्रम स्थगन भएको सत्य हो ?
वास्तविक कुराको चुरो नबुझेर हल्ला गरियो, त्यो असत्य हो । निराधार हल्ला मात्रै हो । यो कार्यक्रम निकै लोकप्रिय छ । स्थगन भएको होइन । यसको कार्यविधिमा केही परिमार्जन गरेर नयाँ कुरा थप्न थालिएको हो । स्मार्ट छोरी कार्यक्रममा अहिलेसम्म एक हजार ४० जना छोरी नाममा खाता खोलिएको छ । मैले अघि नै भनिसकेको छु, त्यो दायित्वभित्र नै पर्दछ । हामीले बाँकी रकम समेत खातामा जम्मा गर्ने योजना बनाएका छौँ ।
नीति तथा कार्यक्रममा र बजेटमा समेटिएको कुरा स्थगन भयो वा हट्यो भन्नुको कुनै तुक छैन । यो कार्यक्रम नियमित रूपमा चल्छ । यो कार्यक्रम सम्भवतः अन्यत्रका कुनै पालिकामा समेत छैन । छोरीहरूको शिक्षामा पहुँचमा पुगोस् भन्ने स्मार्ट छोरी कार्यक्रमको लक्ष्य हो । त्यस्तै २० वर्ष अघि विवाह गर्दा यो सुविधा पाइँदैन । ‘विहेवारी २० वर्ष पारि’ कार्यक्रममा समेत सहयोग पुग्छ ।
शिक्षा क्षेत्रका के–कस्ता सुधारका कार्य भएका छन् ?
सामुदायिक विद्यालयको शिक्षा सुधार्नु नै हाम्रो पहिलो योजना हो । वर्षौँदेखि शिक्षक दरबन्दी मिलान हुन सकिरहेको थिएन । त्यसलाई सम्पन्न गरेका छौँ । जसका कारण जहाँ विद्यार्थी त्यहाँ शिक्षक हाम्रो अभियानले साकार पाउँदैछ । त्यस्तै विद्यालयमा तह अनुसारकै प्रधानाध्यापकको व्यवस्था भएको छ । प्रत्येक विद्यालयमा सूचना प्रविधि सामग्री वितरण गरेका छौँ । त्यो त्यसै थन्किएलान् भनेर प्राविधिक सीप समेत प्रदान गरेर सामग्री हस्तान्तरण गरेका छौँ । विद्यालयका भवन निर्माण भइसकेका छन् । आर्थिक वर्षमा मात्रै ६ वटा विद्यालयमा भवन निर्माण भएका छन् ।
विद्यालयमा पर्याप्त डेस्क–बेन्च नभएका कारण पठनपाठनमा केही समस्या आएको छ । त्यसका लागि आवश्यकताको माग गरेर पूरा गर्ने योजना बनाएका छौँ । त्यस्तै छात्रवृत्तिलाई समेत कार्यान्वयनमा लगेका छौँ । कक्षा १ देखि ८ सम्म पाठ्यक्रम निर्माण गरेका छौँ भने कक्षा ४, ५ र ८ को पाठ्यपुस्तक प्रकाशन गरिसकेका छौँ । ५ र ६ को सम्पादन, मुद्रणको तयारीमा रहेको छ । कक्षा १, २ र ३ को आगामी वर्षमा पाठ्यपुस्तक प्रकाशन गर्ने योजना बनाएका छौँ । समग्र तुलसीपुरकै गर्वको कुरा पालिकाको आफ्नै कलेज भवन निर्माण गरिसकेको छ । मेट्रो कलेजको भवन निर्माण भइसकेको छ ।
यो गर्वको कुरा हो । यस कलेजमा नेपालका ७७ जिल्ला, ७ वटै प्रदेशका विद्यार्थी पढिरहेका छन् । पालिकाबाट ७१ जना छोरीलाई निःशुल्क रूपमा डिप्लोमा तहको अध्ययनको व्यवस्था गरिएको छ । अपाङ्गता भएका विद्यार्थीको सन्दर्भमा समेत मावि तहसम्म आवासी रूपमा पठन–पाठनकोे व्यवस्थाका लागि काम गरिरहेका छौँ । कानुन, कृषि, वन विज्ञान तथा प्राविधिक क्षेत्रका विषय पढाइ भइरहेको छ । पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयन भएको छ ।
स्वास्थ्य क्षेत्रमा के–कस्ता काम भएका छन् ?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीको सरकारले सात सय ५३ वटै पालिकामा पालिकाका आफ्नै अस्पताल निर्माणको कार्यक्रम अघि बढायो । कयौँ ठाउँमा शिलन्यास मात्रै भए, कयौँ ठाउँमा भवन अलपत्र छन् तर तुलसीपुरले तुलसीपुर भीमसेन मेट्रो अस्पतालको भवन निर्माण मात्रै गरेन दरबन्दी व्यवस्थापन गरेर विशेषज्ञ सेवा सुरु गरेको छ ।
तुलसीपुरमा प्रदेश स्तरको अस्पताल छ तर त्यहाँ पालिकाले चाहेर विपन्न नागरिकलाई निःशुल्क रूपमा उपचार हुँदैन । त्यस अस्पतालमा सेवा थप्ने तयारीमा छौँ तर सङ्घ र प्रदेश सरकारबाट कुनै सहयोग पाउन सकिरहेका छैनौँ । हामीले विपन्न नागरिकलाई औषधोपचार सहयोग, सुत्केरी, ज्येष्ठ नागरिक, विपन्नलाई एम्बुलेन्स सेवा निःशुल्क गरेका छौँ । ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण, न्यानो कपडा वितरण सुत्केरीलाई थप पोषण भत्ताको व्यवस्था गरेका छौँ ।
भौतिक पूर्वाधारतर्फ के–कस्ता काम भएका छन् ?
भौतिक पूर्वाधारतर्फ, सडक पूर्वाधारतर्फ एक वर्षमा १७ं किलोमिटर सडक कालोपत्रे, पक्की नाला ५.४८ किलोमिटर र ग्रावेल ३०.३ किलोमिटर भएको छ । टरिगाउँ धावनमार्गमा सडक कालोपत्रे, शौचालय निर्माण गरेका छौँ ।
सुकुम्बासीको नाराले कहिले सार्थकता पाउला ?
म स्वयम् सुकुम्बासी भएका कारणले हाम्रो पहिलो कार्यपालिकाको निर्णय समेत भूमिहीन दलित, सुकुम्बासीलाई जग्गाको मालिक बनाउने पहिलो योजनामै छ । प्राविधिक विषय भएकाले अलि बढी जटिल हुँदो रहेछ । लगत सङ्कलन भइसकेको वडा नम्बर ६ बाट नाप नक्साङ्कनको काम सुरु गरेका छौँ । वर्षाका कारण अहिले रोकिएको छ । जुन वडामा लागत सङ्कलन सकिएको छ । अब पहिलो प्राथमिकतामा राखेर थप जनशक्तिको व्यवस्थापन गरेरै भए पनि यो कामलाई अघि बढाउँछौँ । आयोगको सहयोग पायौँ भने २०८१ सालसम्म लालपुर्जा दिलाउनु पर्छ भन्नेमा हामी दृढ छौँ ।
किसानका पक्षमा के–कस्ता काम गर्नुभयो ?
तपाईँले भनेजस्तो म सानै उमेरदेखि नै किसान कर्ममा छु । किसानलाई क्रेडिर्ट कार्ड वितरण गरेका छौँ । यसै वर्षदेखि कम्तिमा किसानले उत्पादन गरेका तरकारी, दुध, माछा–मासुमा प्रोत्साहनको कार्य गर्न नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिएको छ । यसै पालिकाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बजारमा बिहानको समयमा बिक्रीका लागि किसान परिचयपत्र वितरण गरेका छौँ ।
कम्तिमा गैरकिसानले त्यस्तो काम नगरोस् वास्तविक किसानले उत्पादन गरेको वस्तुको बजार पानुपर्छ भन्ने लक्ष्यका साथ यो कामको सुरुवात् गरेका छौँ । यो वर्ष बजारमा यत्रतत्र फलफूलका बिरुवा बिक्री गर्न राखेको देख्नुभएन होला । यहाँका किसान दाजुभाइ दिदीबहिनीले फलफूलका बिरुवा तयार पार्नुभएको छ तर बाहिरबाट आएर ठेलामा राखेर कस्ता बिरुवा हुन् त्यसै बिक्री भइरहेका छन् ।
ती सबैलाई जफथ ग¥यौँ । केही किसानले फोन गरेर अघिल्लो वर्षभन्दा यो वर्ष हामीले उत्पादन गरेका फलफूलका बिरुवा राम्रै बिक्री भएको प्रतिक्रिया दिनुभएको छ । रासायनिक मलको दीर्घकालीन समस्या समाधानका लागि कम्पोस्ट मल तयारीको काम गरिरहेका छौँ । उत्पादन समेत भइरहेको छ ।
अन्य कस्ता काम गरिरहनुभएको छ ?
फोहोर व्यवस्थापनका लागि दीर्घकालीन रूपमा समाधान खोजिरहेका छौँ । गल्ने फोहोरबाट कम्पोस्ट मल बनाएका छौँ । नगल्ने फोहोर समेत व्यवस्थापनको तयारी गरिरहेका छौँ । बजार सौन्र्दयकरणका लागि वृक्षारोपणको काम भइरहेको छ । जनतासँग जनप्रतिनिधि श्रमदान कार्यक्रम नीति तथा कार्यक्रममै समावेश गरेर काम गरिरहेका छौँ । यसबाट विकास निर्माणका काम समेत हुने जनता र जनप्रतिनिधि बिचको सम्बन्ध समेत प्रगाढ बन्ने रहेछ ।
सङ्घ र प्रदेश स्तरका कार्यालयका लागि जग्गा व्यवस्थापनको काम गरिरहेका छौँ । सम्भव भएका वडाका दीर्घकालीन समस्या समाधानका लागि पोखरी, जलाशय निर्माणको काम भइरहेका छन् । त्यस्तै एक घर एक धाराको अभियानले तुलसीपुरमा सार्थकता पाउँदैछ । त्यो नतिजा यही वर्षबाटै सुरु हुन्छ । तुलसीपुर क्षेत्रका ठुला खानेपानी संस्थाले २४सै घण्टा पानी पुगाउनका लागि काम गरिरहेका छन् । चाहे त्यो बबईको पानी ल्याउने कुरा होस् वा ग्वारखोला जलाशयको कुरा होस् ।