धान खेत मासेर कागती खेती

शिवराज खनाल
दाङ, २४ साउन । लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरका मधु गिरीले एक बिगाहको धान खेत मासेर व्यावसायिक कागती खेती थालेका छन् । उनले खेती गर्न थालेको दुई वर्ष भइसकेको छ । दुई वर्ष अघिसम्म उनले त्यसमा धान बाली लगाउँदै आएका थिए । उनी अहिले त्यो जग्गामा कागती खेती गरेका छन् । पहिले धानले भरिएको उनको खेतमा अहिले कागतीका बिरुवाले छपक्कै ढाकेको छ ।
धान खेतीका बेला सधैँजसो मलको हाहाकार हुने, भनेको बेलामा सिँचाइको सुविधा नहुने र जेनतेन उत्पादन गरिएको धानबाट बजार मूल्य समेत सोचेजति नपाउँदा नगद आम्दानीको विकल्पको रूपमा आफूले कागती खेती रोजेको उनले बताए । ‘प्रशस्त सिँचाइ सुविधा नहुने, न मिहेनत अनुसारको कमाइ हुने, त्यसैले खेत मासेर कागतीबारी बनाएको छुँ’, उनले भने । उनको बारीमा अहिले लटरम्म कागती फलेका छन् ।
आर्थिक वर्ष ०७८÷०७९ बाट सुरु गरेको कागती खेतीबाट गत वर्षदेखि उत्पादन भएर आम्दानी हुन थालेको गिरीले बताए । ‘यो व्यवसायबाट बजार नपाइएला भन्ने पिर पनि छैन, समयमा मल, बिउको पनि समस्या छैन, कम मिहिनेत, थोरै लगानी र बजार माग पनि राम्रै छ’, उनले भने । करिब दुई सय वटा कागतीका रुखबाट वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको छ । बाँकी खेतमा पनि थप कागतीका बिरुवा थप गर्ने योजना भएको उनले बताए ।
यसैगरेर लमही नगरपालिका वडा नं. ८ सतबरिया गोजेनाका राजकुमार खड्का पनि व्यावसाियक कागती खेतीमा लागेका छन् । सरकारी सेवाबाट निवृत्त भएका खड्काको दैनिकी कागतीकै रेखदेखमा बित्ने गरेको छ । उनले पनि दुई बिगाह धान खेतमा कागती खेती सुरु गरेका छन् । जागिरे हुँदा विभिन्न स्थानका फलफूल खेतीको अनुगमन र अवलोकन गरेका खड्काले विगतका दिनमा व्यावसायिक कृषकहरूकै प्रेरणाले कागती खेती सुरु गरेको बताए । उनको खेतमा अहिले करिब चार सय कागतीका रुख छन् । ती कागतीका रुखले फल दिन सुरु पनि भएका छन् ।
कृषि प्राविधिकसँगको परामर्शबाट व्यवसाय सुरु गरेका खड्काले अहिले धानखेतीसँगै कागती खेती गर्दै आएका छन् । कागतीबाट राम्रो आम्दानी हुन थालेपछि विस्तारै धान खेती मासेर कागती व्यवसायमा जम्ने योजनामा रहेको खड्काले बताए । ‘अहिले खेतको आलीमा बेर्ना हुर्कँदै छन्, कति त सानैमा पनि फल्न थाले, अब यो सालको धान काटेर पूरै खेतमा कागती लगाउनु पर्ला’, उनले भने ।
गिरी र खड्का मात्र होइन, जिल्लामा व्यावसायिक कागती खेती गर्ने कृषकको सङ्ख्या बर्सेनि बढ्दै गएका छन् । कुनै बेला सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई–चार बोट बिरुवा लगाउने चलन भए पनि पछिल्लो समयमा कागती खेतीको व्यावसायिक उत्पादन र खेती बढ्दै गएको छ । बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत कृषकले लिन थालेका छन् ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई वर्ष अघि ५० हेक्टर क्षेत्रफलमा कागती खेती हुँदै आएको थियो तर यो बिचमा ह्वात्तै बढेर २ सय ९१ हेक्टर क्षेत्रफलमा कागती हुँदै आएको छ । अहिले एक सय १० हेक्टरमा वार्षिक ५ सय ६० मेट्रिकटन कागती उत्पादन भइरहेको र बाँकी क्षेत्रफलमा कागतीका बिरुवा हुर्किरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए ।
‘कागतीमा राम्रो आम्दानी हुने देखेर किसानले जथाभावी बिरुवा लगाउन थालेपछि पछिल्लो समयमा समस्या भने देखिन थालेको उनले बताए । ‘कागती भनेर लागाउनु त हुन्छ तर कागती प्रजातिको अन्य फल नै फल्छ त्यही कारण किसानले उचित मूल्य पाउनुहुन्न, यो मुख्य समस्याका रूपमा आएको छ’, लामिछानेले भने, ‘यसमा कृषक थप सचेत बन्न जरुरी छ ।’