दाङमा डेढ लाख बढी क्युफिट काठ बिक्री

गोरक्ष समाचारदाता
दाङ, २२ साउन । दाङमा एक वर्षको अवधिमा डेढ लाख बढी क्युफिट काठ बिक्री भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा सामुदायिक तथा निजी वन क्षेत्रबाट एक लाख ५३ हजार ५ सय ४८ क्युफिट काठ बिक्री भएको हो ।

जसमध्ये निजी वनबाट ६८ हजार एक सय ६७ क्युफिट काठ बिक्री भएको डिभिजन वन कार्यालय घोराही दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिएका छन् । उनका अनुसार सामुदायिक वनबाट वन संवर्धन प्रणाली लागु भएका सामुदायिक वनबाट ५३ हजार एक सय ५३ क्युफिट र लागु नभएका सामुदायिक वन समूहबाट २२ हजार ९ सय ४० क्युफिट काठ बिक्री भएको छ ।

वन संवर्धन लागु भएका वन व्यवस्थापन प्रणाली अन्तर्गत वन पत्ल्याउने, झाडी सफा गर्ने क्रममा कटान बिक्री भएको डिभिजन वन कार्यालय घोराही दाङले जनाएको छ । सहायक वन अधिकृत चौधरीका अनुसार सरकारद्वारा वन व्यवस्थित गर्दा, जङ्गलमा ढलेका तथा विभिन्न समयमा पक्राउ परेको काठ ९ हजार ४३ क्युफिट र सार्वजनिक क्षेत्रबाट काटन गरिएको २ सय ४५ क्युफिट काठ बिक्री भएको छ ।

वन व्यवस्थापनका लागि तयार भएका काठ काट्नु पर्ने र नयाँ बिरुवा रोप्नुपर्ने भए पनि जिल्लामा त्यस अनुसारको उपभोक्तालाई ज्ञान नहुँदा काठ जङ्गलमै खेर जाने गरेको सहायक वन अधिकृत चौधरीले बताएका छन् । उनले भने, ‘वन संरक्षणसँगै तयार भएका रुख काट्नुपर्छ ।’ यसैगरी डिभिजन वन कार्यालय घोराहीको यस अवधिमा ४ सय १४ दशमलव २५ दाउरा चट्टा बिक्री भएको छ । जसअन्तर्गत निजी वनबाट २ सय ३० चट्टा, वन संवर्धन प्रणाली लागु भएका सामुदायिक वन समूहबाट एक सय ३१ चट्टा, सामुदायिक वन साधारणतर्फ ४९ चट्टा, सरकारद्वारा व्यवस्थित, वेवारिसे तथा मुद्दाको समेत काठ ३ दशमलव ५० चट्टा र सार्वजनिक वन क्षेत्रबाट ७५ चट्टा दाउरा बिक्री भएको छ । जिल्लामा रहेको ५ सय १४ सामुदायिक वन समूहमध्ये डिभिडजन वन कार्यालय घोराही दाङ अन्तर्गत ३ सय ८४ वटा सामुदायिक वन रहेका छन् ।

७८ हजार बढी खोटो बिक्री

यसैबिच एक वर्षको अवधिमा जिल्लाका विभिन्न सामुदायिक वन समूहबाट ७८ हजार बढी केजी सल्लाको खोटो बिक्री भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष ०७९÷०८० मा जिल्लाबाट ७८ हजार दुई सय ४५ केजी सल्लाको खोटो बिक्री भएको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा बंगलाचुली गाउँपालिकामा रहेका १० वटा समुदायिक वन समूहले सल्लाको खोटो बिक्रीका लागि अनुमति लिएका छन् । उनीहरूले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्ने गरेका छन् ।