कटाई सिलाई व्यवसायबाट राम्रो आम्दानी  

नारायण खडका
तुलसीपुर, २२ साउन  । १८ वर्षअघि एसएलसीमा फेल भएपछि दाङकी कल्पना शर्मा कटाई सिलाईको ६ महिने तालिममा ५२ जनालाई जितेर पहिलो भइन्  ।
एसएलसी सकेर बसेका बेला धेरैले उनलाई कम्प्युटर सिक्न सुझाव दिएका थिए । कतिपयले विदेश जान भाषा सिक्न पनि सल्लाह दिएका थिए  । कल्पनाले भने आफ्नो रूचिको काम यही कटाई सिलाई हो भन्ने पत्ता लगाइसकेकी थिइन् । त्यसैले एसएलसी फेल भएर बस्नुपर्ने एक वर्षको समय उनले तालिम लिने योजना बनाइन् । परिवारले पनि सहमति दियो । तालिम पो कता लिने भनेर ठाउँ खोज्दै थिइन्, त्यही बेला सीप विकास कार्यालय र घरेलु उद्योग कार्यालयले संयुक्त रूपमा ६ महिनाको तालिम चलाउन लागेको थाहा पाइन् । आवेदन दिइन्, छनोट पनि भइन् ।
‘तालिममा सहभागी ५३ जना प्रशिक्षार्थीमध्ये म प्रथम भएँ’, कल्पनाले भनिन्, ‘यसको प्रमाणपत्र पाउँदा मेरो हर्षको सीमा थिएन ।’ त्यसपछि फेरि दाङको तुलसीपुर बजारमा ‘रेयुकाई’ नामक सामाजिक संस्थाले दिएको तीन महिने तालिममा सहभागी हुन पाइन् । कल्पनाको लगन देखेर प्रशिक्षकले हौसला दिए । तालिममा फेरि उनी प्रथम भइन् । प्रमाणपत्रका साथ तीन हजार २ सय रूपैयाँ पुरस्कार पाइन् ।
रेयुकाईले उनलाई प्रशिक्षक बन्न आग्रह ग¥यो । त्यही बेला उनले यसैमा आफ्नो भविष्य देखिन् । तीनमहिने तालिममा प्रशिक्षक हुँदा एकमुष्ठ चार हजार रूपैयाँ हात प¥यो । त्यसपछि उनले फेरि एसएलसी दिइन्, उत्तीर्ण भइन् । त्यो वर्ष धेरै संस्थामा उनी कटाई सिलाईको प्रशिक्षक भएरै बिताइन् । अर्को वर्षसम्म त आफैँमा प्रशिक्षण केन्द्र खोल्ने आत्मविश्वास आइसकेको थियो ।
 ‘धेरै महिलालाई तालिम दिने र आत्मनिर्भर बन्न सघाउने विचार आएपछि म आफैँ मख्ख परेँ’, कल्पनाले भनिन्, ‘आमालाई आफ्नो योजना सुनाएँ ।’ आमा कान्छी छोरीको रूचि र मिहिनेतले खुसी थिइन् । सिलाई मेसिन किन्न कल्पनासँग केही रकम थियो  । नपुगेको ४० हजार रूपैयाँ आमासँग मागिन्  । १६ वर्ष अघि आमाका लागि त्यति पैसा जुटाउनु ठुलै कुरा थियो, तर जुटाइन् ।’
यसपछि कल्पना वीरगञ्ज गइन् र १४ वटा हाते मेसिन किनेर ल्याइन् । तुलसीपुरमा एउटा कोठा भाडामा लिइन् ।’ कामना कटाई सिलाई ट्रेनिङ सेन्टर’ नाम राखेर काम सुरु गरिन्  । उनले आफ्नै गाउँ मानपुरका दिदीबहिनीलाई तालिम लिन आग्रह गरिन् । पहिलो खेपमा ८ जना आए । बिस्तारै प्रशिक्षार्थी बढ्दै गए । कोठा भरिभराउ भयो ।  यसपछि कल्पनाले पछाडि फर्किनु परेन ।
गाउँ वरपरसम्म उनको चर्चा हुन थाल्यो । प्रशिक्षण केन्द्रबाट केही कमाइ हुन थाल्यो । आमालाई घरखर्चमा भरथेग गर्न थालिन् । कटाई सिलाईसँगै उनले पढाइ अघि बढाइन्, स्नातक तह पूरा गरिन् । प्रशिक्षण केन्द्र खुलेको तीन वर्षपछि महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी नेता ध्रुव आचार्यसँग उनको विहे भयो । उनीहरूका एक छोरा छन्, ६ कक्षामा पढ्दैछन् । राजनीति गर्ने भएकाले ध्रुवको आफ्नै अलग्यै रोजगारीको बाटो छैन । उनको खर्च पनि कल्पनाले नै बेहोर्छिन् ।
स्वावलम्बी पत्नी हुँदा छोरा मान्छेलाई कति सजिलो हुने रहेछ भन्ने अनुभव आफूलाई भएको उनले बताए । ‘मेरी श्रीमतीले मलाई सधैँ खर्च दिइन् । मलाई परिवार पाल्ने चिन्ता नै भएन । त्यसैले कुनै फिक्रीबिना राजनीतिमा समय दिन पाएको छु । स्वावलम्बी पत्नी पाएर म सधैँ आफूलाई भाग्यमानी ठान्छु’, ध्रुवले भने । अझै पनि कतिपयले कल्पनालाई पढाइअनुसारको पेसा गर्न सल्लाह दिन्छन् । ‘लुगा सिउने काम किन गरेको ?’ भन्छन् । उनका लागि भने पढाइ र पेसा अलग–अलग कुरा हुन् ।
‘पढाइ शिक्षाका लागि हो, ज्ञानका लागि हो । पेसा आफ्नो रूचि र क्षमताअनुसार गर्ने हो । म मेरो रूचिको काम गर्दैछु । त्यसैले खुसी छुँ’, कल्पनाले भनिन्  । यति बेला उनको प्रशिक्षण केन्द्रमा २२ जना प्रशिक्षार्थी छन् । ६ महिनाको प्रशिक्षणमा १० हजार रूपैयाँ तिर्नुपर्छ । स्थानीय तह र सङ्घसंस्थाले पनि प्रशिक्षार्थी पठाउँछन् । कल्पना दिनभर प्रशिक्षणमै व्यस्त रहन्छिन् । उनले सबै हातेमेसिन बेचेर खुट्टाले घुमाउने १८ वटा मेसिन जोडेकी छन् । जुन घरमा १६ वर्षअघि प्रशिक्षण केन्द्र खोलेकी थिइन्, अहिले पनि त्यही घरमा छ । मासिक भाडा १० हजार रूपैयाँ तिर्छिन् ।
‘आफ्नै कमाइले तुलसीपुरको रजौरामा घडेरी किनेँ, घर बनाएँ । अर्को ठाउँमा पनि घडेरी किनेकी छु’, उनले भनिन् । कल्पनाले बितेका १६ वर्षमा धेरैलाई प्रशिक्षण दिइन् । उनका केही प्रशिक्षार्थीले पनि प्रशिक्षण केन्द्र चलाएका छन् । कहिलेकाहीँ पुराना प्रशिक्षार्थी उनलाई भेट्न आउँछन् । ‘कोही दिदीबहिनी त गुरु सम्झेर मिठाइ लिएर आउनुहुन्छ । त्यसबेला मैले पनि राम्रै काम गरेकी रहेछु भन्ने लाग्छ’, कल्पना भन्छिन्, ‘धेरै दिदीबहिनीसँग भेट हुन्छ । सुख–दुःखको कुरा पनि हुन्छन् ।’
तुलसीपुर उपमहानगर–१८, बिजौरीकी सम्झना चौधरी, वडा नम्बर १२ की धना केसी र वडा नम्वर ५ की नीलम बोहरा उनका प्रशिक्षार्थी हुन् । अहिले उनीहरूले आ–आफ्नै व्यवसाय चलाएका छन् । वडा नम्बर ९ की हीरा वलीले पनि आफ्नै पसल चलाएकी छन्, प्रशिक्षक पनि भएकी छन् ।
‘कल्पनाको कहिल्यै नरिसाउने र हाँसीखुसी सिकाउने गुण छ’, हीराले भनिन्, ‘उहाँबाटै सिकेको सीपले म पनि आत्मनिर्भरताको बाटोमा अघि बढेँ ।’ कल्पना सीप सिकाउँदै परामर्श दिने काम पनि गर्छिन् । विभिन्न कारणले निराश भएका कतिपय महिला कल्पनालाई भेट्न आउँछन् । घरेलु हिंसामा परेका, सम्बन्धविच्छेद भएका, निराशाले भरिएकाको स्थिति विश्लेषण गरेर उनीहरूको आत्मबल बढाउन उनी सहयोग गर्छिन् । निराशाको कथाव्यथा लिएर आएका धेरै महिला सफलताको बाटोमा अघि बढेको उनले बताइन् ।
‘कुनै न कुनै सीप सिकेर आत्मनिर्भर हुनुपर्छ’, कल्पना सुझाव दिन्छिन्, ‘हातमा सीप भए जहाँ गए पनि आत्मनिर्भर हुन सकिन्छ । आफ्नै कमाइ हुन्छ । घरपरिवार र समाजबाट सम्मान मिल्छ ।’ नेपाल सरकारको उद्योग मन्त्रालयले दाङबाट २०७४ सालमा उनलाई उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट सम्मानित गरेको छ ।