डायलाइसिसका बिरामी खोज्न अस्पतालको सूचना

गोरक्ष समाचारदाता
तुलसीपुर, २२ साउन । कुनै बेला डायलाइसिस गर्नका लागि बेड पाउन नेतादेखि मन्त्रीसम्म भनसुन गर्नुपर्ने बाध्यता थियो । जसको पहुँच पुग्थ्यो उसले डायलाइसिस गर्न बेड पाउँथे भने पहुँच नहुने बिरामीलाई जिल्ला बाहिर धाउनु पर्ने बाध्यता थियो । तुलसीपुरमा डाइलाइसिस गर्न मेसिनको अभाव भएर बिरामी मर्कामा परेको विषयवस्तु बनाएर सामाचार पनि प्रकाशित भए ।

पछिल्लो चरणमा त्यो समस्या अन्त्य भएको छ । अहिले अस्पतालले डायलाइसिसका बिरामी खोज्नुपर्ने बाध्यता सिर्जना भएको छ । त्यसका लागि अस्पतालले सूचना नै जारी गरेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले नियमित रूपमा डायलाइसिस सेवा चौबिसै घण्टा सञ्चालन गरेपछि बिरामी पाउनै मुस्किल भएको छ । डायलाइसिसका बिरामीको कमी भएपछि अस्पतालले चौबिसै घण्टा डायलाइसिस सेवा सुचारु रहेको भन्दै बिरामीलाई सेवा लिन भन्दै सूचना नै जारी गरेको छ । ‘आफ्नो पायक पर्ने सहज दूरी भई आवश्यकता भएमा समस्त महानुभावलाई अस्पतालको डायलाइसिस शाखामा गई आफ्नो नाम दर्ता गराएर सेवा लिनुहुन अस्पताल प्रशासन हार्दिक अनुरो गर्दछ’, जारी सूचनामा भनिएको छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले पनि अहिले डायलाइसिस मेसिन दिनको तीन सिफ्ट चलाएको र साँझको सिफ्टमा बिरामी अभावका कारण सेवा सुचारु गर्न नसकेको बताए । पटक–पटक सम्पर्क गर्दा पनि बिरामी नभेटिएकाले अस्पतालले सार्वजनिक सूचना नै जारी गर्नु परेको डा अर्यालले बताए । अहिले अस्पतालले दुई सिफ्टमा ४८ जनाको डायलाइसिस सेवा दिँदै आएको उनले जानकारी दिए । यहीँकै ४ जना बिरामीले भने नेपालगञ्जमा डायलाइसिस सेवा लिइरहेको उनको भनाइ रहेको छ ।

‘पहिले यहाँ डायलाइसिस गर्ने बिरामीको हानथाप थियो, सोर्स–फोर्स धेरै आउने गरको थियो, अहिले खोज्दा पनि डायलाइसिसका बिरामी नआएपछि सार्वजनिक सूचना जारी गरेका छौँ’, निमित्त मेसु अर्यालले भने । उनले बिरामी नहुँदा साँझको सिफ्ट रोेक्न बाध्य भएको बताए । कोही त्यस्ता बिरामी भए सम्पर्कमा ल्याइदिन पनि उनले आग्रह गरे । ‘कोही समस्यामा परेका डायलाइसिस गर्नुपर्ने बिरामी भए सम्पर्कमा ल्याउइदिनु प¥यो, हामी सेवा गर्न तत्पर छौँ’, उनले भने । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा केही समय पहिले थप डायलाइसिस मेसिन र एनआइसियु मेसिन जडान गरिएको छ ।

योसँगै यहाँका बिरामीलाई सहज भएको थियो अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ८ वटा मेसिन पठाएको थियो तर जडानलाई आवश्यक पर्ने रकम, ठाउँको अभाव र जनशक्तिको अभावले ती मेसिन जडान हुन सकेका थिएनन् । पछिल्लो समय लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले जडानका लागि आवश्यक पर्ने बजेट, १० जना स्टाफ नर्स र दुईजना कार्यालय सहयोगी पठाएपछि मेसिन जडान गरिएको हो । मेसिन जडान भएसँगै तीन सिफ्टमा डायलाइसिस सेवा सुचारु गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अर्यालले बताए ।

अस्पतालमा नयाँ ८ वटा मेसिन जडान भएसँगै अब १३ वटा डायलाइसिस मेसिन अस्पतालसँग छन् । यस अघि पाँच वटा मेसिनमध्ये चारवटा मेसिनबाट मात्रै डायलाइसिस हुँदै आएको थियो । एउटा मेसिन बिग्रिएको थियो । हाल १० वटा मेसिनबाट डायलाइसिस भइरहेको अस्पतालका निमित्त मेसु डा. अर्यालले बताए । उनले अहिले १० वटा मेसिन भए पनि ११ वटा आवश्यक परे चलाउन सकिने र एउटा मेसिन इमर्जेन्सीका लागि राखेको बताए ।

यस अघि २२ जना बिरामीलाई नियमित डायलाइसिस भइरहेकोमा हाल ४८ जनालाई डायलाइसिस हुने गरेको उनले बताए । त्यस्तै १२ वटा मेसिन चालु हातलमा रहेको र एउटा बिग्रिएको उनले बताए । त्यसको पनि मर्मत भएको उनले बताए । त्यस्तै यस अघि डाइलाइसिस मेसिन यहाँ पर्याप्त नहुँदा यहाँका मृगौला पीडित बिरामी घोराही, लमही तथा अन्य छिमेकी जिल्ला जानु पर्ने बाध्यता थियो तर अब भने बिरामी खोज्नु पर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । ‘अस्पतालको विकास। विस्तार कसरी गर्ने भन्नेमा हामी लागपरेका छौँ’, नि. मेसु अर्यालले भने ।