‘आमाले नै मन गर्दैनन् स्तनपान गराउन’

सन्दर्भ : स्तनपान दिवस
गोरक्ष समाचारदाता
तुलसीपुर, २० साउन । बच्चा जन्मेको ६ महिनासम्म स्तनपान गराउँदा आमा र बच्चा दुवैलाई फाइदा हुन्छ तर त्यो चेतना नहुँदा धेरै आमाले पूर्णरूपमा स्तनपान गराउन छोडेका छन् । विशेष गरेर सहरिया र शिक्षित आमाले नै कम मात्रामा पूर्ण स्तनपान गराउँछन् । यो वर्ष पनि विश्व स्तनपान दिवस सप्ताहव्यपायी रूपमा सुरु भएको छ । स्तनपान साप्ताह मनाउँदा स्तनपान गराउनु पर्दछ भनेर चेतना वृद्धि गर्ने नै कार्यक्रमको मुख्य ध्येय हो ।

‘स्तनपानमैत्री कार्य स्थलको सुनिश्चितता सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ३१औँ विश्व स्तनपान दिवस विभिन्न सचेतना कार्यक्रम गरी मनाउन थालिएको छ । जिल्लाका स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाहरूले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने गरेका छन् तर बर्सेनि कार्यक्रम गर्ने गरे पनि स्तनपान गराउनेको सङ्ख्या भने घटिरहेको छ ।

‘स्तनपान भनेको अमृतपान हो, बच्चा जन्मेको एक घण्टाभित्र बच्चालाई स्तनपान गराउनु पर्छ’, बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीले भने । उनले एउटा आमाले बच्चालाई दिने अमृत उपहार भनेको दुध भएको भन्दै आमाको दुध रोगप्रतिरोधात्मक हुने उनले बताए । अझै पनि कतिपयमा यो चेतनाको कमीले गर्दा शिशु जन्मेपछि आउने पहिलो दूधलाई खेर फाल्ने गरिएको उनले बताए ।

डाक्टर खत्रीले शिशु जन्मेको एक घण्टाभित्र आमाको दुध ख्वाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान भएको भन्दै यसले शिशुले दुध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउनुका साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेँलो प्रकारको बिगौती दुधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भन्ने गरिएको बताए । शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनु नै पूर्ण स्तनपान भएको खत्री बताउँछन् ।

शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै प्राप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना खुवाउन आवश्यक नहुने उनी बताउँछन् । त्यस्तै ६ महिनासम्म स्तनपान गराउँदा शिशुको शारीरिक, मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्ने उनी बताउँछन् । शिशु ६ महिना पुग्नासाथ आमाको दुधका साथै पोषिलो थप आहार खुवाउनुका साथै कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई निरन्तरता दिनुपर्ने बालरोग विशेषज्ञ डा. खत्रीको सुझाव छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन । पहिलो एक घण्टाभित्र स्तनपान नगराए शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुन्छ । समयमा स्तनपान नगराए शिशुले निरन्तर स्तनपान गर्ने सम्भावना पनि कम हुने युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको नयाँ प्रतिवेदनले देखाएको छ । नेपालमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) २०२२ ले सन् २०१६ को तुलनामा स्तनपान गराउने आमाको सङ्ख्या १० प्रतिशतले घटेको देखाएको हो । सन् २०१६ मा ६६ प्रतिशतले पूर्ण स्तनपान गराएकोमा ६ वर्षपछि घटेर ५५ प्रतिशतमा झरेको छ । सरकारले यस वर्ष स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सधैँ सरोकारवालाको प्रतिबद्धता भन्ने नारा दिएर स्तनपान सप्ताह मनाइरहेको छ तर कामकाजी महिलाका लागि नारा कार्यान्वयन अवस्था नरहेको विज्ञ बताउँछन् ।

शिशु जन्मिएको एक घन्टाभित्रै र दिनमा ८ देखि १२ पटकसम्म अनिवार्य आमा दुध खुवाउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । शिशुलाई चाहिने सबै पौष्टिक पुग्ने उनीहरूको तर्क छ तर कामकाजी आमाले कार्यस्थलमै आफ्ना शिशुलाई दुध खुवाउनु पर्ने वा दुध खुवाउनै नपाउने अवस्था छ । जसका कारण शिशुलाई आमाको दुधको सट्टा बजारमा पाइने अन्य खानेकुरा खुवाउने दर १२ बाट बढेर २२ प्रतिशत पुगेको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालले नेपालले सन् २०३० सम्म बच्चालाई स्तनपान गराउने दर ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको भए पनि आँकाडा ओरालो गतिमा छ । बच्चा जन्मेको ६ महिनासम्म शिशुलाई आमाको दुध मात्रै खुवाउनुपर्ने चिकित्सक बताउँछन् तर सरकारले नै ९८ दिन मात्रै सुत्केरी बिदा दिने गरेको छ । यसले पनि स्तनपान दर घटेको मातृशिशु स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउँछन् ।