मुख्य सडकमा बत्ती जडान

गोरक्ष समाचारदाता
तुलसीपुर, २० साउन । तुलसीपुरको घोराही रोडमा सडकबत्ती जडान भएको छ । लामो समयदेखि मुख्य सडकको बत्ती बन्द भएका थिए । तुलसीपुरको वीरेन्द्र चोकदेखि हात्तीखौवा चोकसम्म सडकमा सडकबत्ती विद्युत महसुल नबुझाउँदा विद्युतले बत्ती काटेको थियो । सो सडकमा अपटेकसिस प्रालिले सडक बत्तीको जिम्मेवारी पाएको थियो ।

तुलसीपुर उपमहानगरपालिका र अपटेकसिस प्रालि दुई पक्षबिच सम्झौता भए पनि लामो समयसम्म तुलसीपुर उपमहानगरपालिकाले सडकबत्तीको महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण तुलसीपुरले लाइन काटेको थियो । उपमहानगरपालिकाको सो क्षेत्रमा सडकबत्तीको व्यवस्थापन प्रालिले गर्ने र सो बाफत उसले पोलमा विज्ञापन गर्नेलगायतको सम्झौता भएको थियो ।

हालै कम्पनीले सडकबत्ती जोडेको तुलसीपुर उपमहानगरपालिका राजस्व व्यवस्थापन शाखाका प्रमुख ललित घर्तीले जानकारी दिए । नगर प्रमुख टीकाराम खड्काले सडकबत्ती जोड्ने विषयमा कडा रूपमा प्रस्तुत भएपछि कम्पनीले बत्ती जोडेको स्रोतले जनाएको छ । बजारमा सडकबत्ती बाल्दै छोडे भन्ने समाचार प्रकाशित भएको दुई दिनमै सडक बत्ती जडान भएका हुन् ।