कथा : सभ्यताको रुपान्तर
गोपाल भुसाल‘अभिलाषी’
चुमा ! ए चुमा !! अहिलेसम्म सुतिरहेकी ? उठ काम–धन्दामा लाग्ने समय भइसक्यो । उठ ! सूर्यनारायण उदाइसक्नु भयो । आजभोलिका छोराबुहारी कति सुतुवा भएका ? हाम्रो उमेरमा त चराहरू चिरविराए निद्रा खुलिहाल्थ्यो । यस बेलासम्म त कति काम सकिन्थ्यो । बुहारीले सुन्ने गरी सासु बाहिरबाट फतफताइन् ।
उठेकी छु आमा ! उठेकी छु । कोठाको काममा लागेकी । कति हुन्छ कोठाको काम पनि एक दिन होइन, दुई दिन होइन सधैँ उस्तै । म लालाबाला बाहिर सार्छु । घाँसपात राखिदिन्छु । गोठ सफा गर्छु । तँ आफ्नो काम सकेर भान्साको तयारीतिर लागिहाल् । पानी भर्नु छ । साँझका जुठा भाँडा पनि त्यसै छोडेकी छस् कि क्या हो ? साँझै आफ्नो धन्दा सकेको भए पो अर्को दिन बिहानै चटारो पर्दैन । कति कराउछिन् यी बुढी, आफ्नो हिसाबले काम गर्न पनि दिँदैनन् । चुमाले मनमनै असन्तुष्टि पोख्छे ।
बारीमा पानी लगाउनु छ ।
आज पालो परेको छ । म त्यतैतिर लागेँ । खाना खाने समयमा मात्र आइपुग्छु होला । आत्माराम काँधमा फरुवा राखेर बारीतिर लागे ।
तपार्इँकी आमा पनि कति करकराउनु प¥या । घरको कामको जिम्मेवारी उनीहरूकै काँधमा छ । छोरी भएर बसेको जस्तो कहाँ हुन्छ त ? तिमी बुहारी हौ, बुहारी ।
छी ! मैले त्यसो भनेकी होइन (प्रसङ्ग बदल्दै) केस तेल, साबुन, क्रिम … । सकिएको छ ल्याइदिनु ।
कति चाँडै सकियो त ?
सकियो त के गरौँ ?
बुहारीलाई राम्रोसँग सम्झाएर गएस्, हेर जेठा ! समयभित्र घरको काम भ्याउनुपर्छ । घाम लाग्दासम्म सुतिरहने ? हुमाले छोरासँग गुनासो पोखिन । ल हुन्छ, आमा ! सम्झाउँला । बुद्धिरामले यस्तै हुन्छ भनेर २÷४ महिनाका विश्राम गर्न घर आउने गर्छ । घर आएपछि उसको चिन्तन जागिरतिरै छ । उसले यो बेला घरको भन्दा सरकारी जिम्मेवारीलाई ठुलो ठानेको छ । जागिर अस्थायी छ ।
कामको तलमाथि भइ हाकिम रिसाए भने जे पनि हुनसक्छ । आफ्नो घरव्यवहारको कामधन्दा सासुबुहारीको गन्थन असन्तुष्टि सुन्ने, बुझ्ने न्यायाधीश बन्ने फुर्सद उसलाई छैन । नाता अनुसारको पारिवारिक जिम्मेवारी निभाउनु पर्ने भए पनि बुद्धिरामको संसार छुट्टै छ । बुहारीको संसार छुट्टै छ । हुमा र आत्मारामको संसार छुट्टै छ । एउटै घरको सदस्य भए पनि बुद्धि विवेक, अनुभव, संस्कार, क्षमता, रुचि र चाहना, इच्छा, भविष्यको आशा सपनाको संसार आ–आफ्नो छ । अर्कोतर्फ पारिवारिक व्यवसाय पेसाको ऋतु, मौसम, समयानुसारको कामधन्दा, परिस्थिति, साधन, व्यवस्थापनको बाध्यता सिमा छुट्टै छ । यी दुवैको समन्वयात्मक संयोजनले मात्र पारिवारिक गृहस्थी जीवन सुखद् हुन्छ ।
–०००–
बुद्धिराम आफ्नो कार्यकक्षमा बसिरहेको हुन्छ । हुलाकीले एउटा चिठी बुझाएर जान्छ ।
बुद्धिराम शर्मा
मिति २०३६÷०४÷०१ देखि तपाईलाई अस्थायी नियुक्ति दिइएकोमा तपाईँले वफादारीपूर्वक राष्ट्रलाई पु¥याउनु भएको कर्तव्य निष्ठा र इमानदारिताको कदर गर्दै मिति २०३८÷३÷१ देखि स्थायी नियुक्ति दिइ थप जिम्मेवारीका साथ स्तरीय कार्यालयमा सरुवा गरिएको छ ।
ल पढ्नोस् ! यो चिठी (स्टाफलाई दिँदै) बधाई छ सरलाई ! स्थायी नियुक्ति एवम् जिल्ला सरुवा हुनुभएकोमा ।
एक हप्तापछि
बुद्धिराम आफ्नो जिम्माको नगदी जिन्सी, कागजात सबै अर्को कर्मचारीलाई जिम्मा लगाएर सरुवा रमना लिइ आफ्नो गुन्टाझिम्टी सहित घर प्रस्थान गर्छ ।
–०००–
असार १५ नाघेको छ । एक हप्तादेखि आकाश पग्रेर मन्द–मन्द वर्षातपछि स्वच्छ भएको छ । लेख–मूलहरू रसाएर खोला–कुलाहरू भरिएका छन् । जमिन भिजेर कोमल बनेको छ । मानौँ प्रकृतिले एक वर्षको लागि पृथ्वीका सबै जीवजन्तु, चरा–किरा मानिसको लागि अन्नपात फलफूल तरकारी सबैले गर्ने धारणा गरेर फलाउने फुलाउने विजारोपणको यज्ञ गर्ने बेला हो यो भन्ने सङ्केत गरिरहेको छ । अवसर दिइरहेको छ । ढिला गरे सुख्खा पर्न सक्छ । रोगव्याधीको प्रकोप बढ्नसक्छ, भनिरहेको छ ।
त्यसैले सबै आफ्नो काममा नखाइ, नलाइ, फोहरमैला नभनी दौडेका छन् । आत्मारामको घरमा पनिआज रोपाइँ छ । केही रोपारा बोलाएको छ । हुमा बिहान ४ बजे उठेर उनीहरूका लागि अरिलो नास्ता, खाना तयारी गर्न डटेकी छन् । आत्माराम गोरुलाई घाँस हाल्न र हलो जुवा तयार गर्नतिर लागेका छन् । बुद्धिरामले पनि बावुको पछि–पछि सघाइरहेको छ ।
ए चुमा ! नुहाइधुवाइ सकिएन? कपडा पनि कति किसिमका बटुल्ल जानेको हो ? दुई घण्टा कपडा धुन लाग्छ । कोठाको कममा एक घण्टा जान्छ । शृङ्गारपटारमा एक घण्टा बित्छ । टिभी हेर्नेमा ३ घण्टा … अनि कहिले हो घरव्यवहारको काम गर्ने ? खेतीपातीको बेला छ । मानो फालेर वर्ष दिन चलाउने मुरी फलाउनु छ । घरकी बुहारीको हाल यस्तो छ । सबैभन्दा बढी समय उत्पादनलाई दिनुपर्छ ।
आर्थिक पक्षलाई ध्यान दिनुपर्दछ । घरको अर्थतन्त्र बलियो भएपछि बल्ल सुखसुविस्ता, यो किन्ने, त्यो किन्ने, यो खाने, त्यो खाने, यो लाउने, त्यो ल्याउने, उन्नति, प्रगतिको कुरा गर्न पाइन्छ । यस्तो ढिलासुस्तीले कसरी कसरी चल्छ, तिमीहरूको गृहस्थी ? हुमाले बुद्धिरामले सुन्ने गरी बोलिन् ।
चुमा छिटो काम सक ! आमा धेरै रिसाउनुभएको छ ।
तपाईँकी आमासँग नसकिने भयो । बुहारी भनेपछि समय परिस्थिति हरेर हुन्छ । सबैले मिलेर काम सम्पन्न गर्ने हो । सधैँ हतारो, चटारो हुँदैन नि !
–०००–
श्रीमान् कार्यालय प्रमुखज्यू
डि.वन कार्यालय मिति ०३८÷०३÷०१ को सरुवापत्रानुसार उपस्थित हुन आएको छु । हाजिर गराई पाउँ । बुद्धिराम ! हाकिमले निवेदनमा तोक लगाउँछन् । निजलाई हाजिर गराई कामकागजमा लगाउनु ।
घरबाटै आउने कि डेरा लिएर बस्नुहुन्छ?
घर अलि टाढै पर्छ, डेरा लिएर बस्नुपर्छ कि सर !
ल पख्नोस् क्वाटरमा एउटा कोठा खाली हुँदैछ । त्यहीँ बस्नुहोला । केही दिन पर्खौँ ।
अबदेखि बुद्धिरामको जागिर पक्का सीमित पारिश्रमिक भए पनि व्यावसायिक पिरलो भयो ।
–०००–
बुद्धिरामको जागिर जिल्लाको सहरमा भएपछि चुमालाई सासुको शासन कैदबाट मुक्त हुने वहाना बन्यो । उ भारी जिउकी पनि भएकी छ ।
मेरो शरीर विसन्चो भइरहन्छ, पटक–पटक स्वास्थ्य जाँच गराइराख्नु पर्दछ । गाउँमा भरपर्दो उपचार छैन । गाउँबाट जागिर भ्याउन टाढा पनि छ । बजारमा डेरा लिएर बस्नुपर्छ । घर सल्लाह गरिहाल्नुस् । चुमाले श्रीमान्सँग प्रस्ताव राखिन् ।
तिम्रो सल्लाह उचित हो । हाकिमले क्वाटरमा बस्नुहोला भनेका छन् । केही दिन पर्ख ।
तपाईँकी बुहारीको स्वास्थ्य जाँच औषधीको लागि सहरमा सजिलो हुन्छ । मलाई पनि लामो बाटो विचार गरेको छु । के गर्दा ठिक होला ? (केहीबेर मनमनै घोरिएर) –यो छोराले पनि टाढिने जुक्ति निकाल्यो । यो बुहारी नै करामत हो भनी जानेर पनि दुवै जनाले छोराको प्रस्तावलाई नाई भन्न सकेनन् । डेरा हो घर जस्तो हुँदैन ।
समस्या धेरै हुन्छन् । यहाँ त अन्न–पानी, तरकारी, तातो–न्यानो सबै आफ्नै छ तर बजारमा सबै किनेर कसरी पु¥याउँछौ । अर्को दिन बुद्धिराम डेराको तारतम्य मिलाउनतिर लाग्छ । सबै बजारमै किन्ने सोचमा पलङ, ब्याग, कार्पेट, ग्यास, भाँडाबर्तन, सबै खरिद गरेर ल्याउँछ । दुई दिनपछि चुमासहित सहरको बसाइँ सुरु गर्छ । गाउँको जस्तो मुक्त, खुल्ला, स्वच्छता नभई, गाह्रो, साँघुरो भए पनि बुद्धिराम र चुमाको जीवनले गाउँले मोडेलबाट सहरी मोडेलमा कोल्टे फेर्छ । गरिखाने सभ्यताबाट किनिखाने सभ्यतामा रूपान्तरित हुन्छ ।