calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

तालाबन्दीका क्रममा अनपेक्षित घटना भयोः गौतम

गोेरक्ष समाचारदाता
दाङ, १८ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक विकिरण गौतमले प्रतिष्ठानमा भएको तालाबन्दीलाई ‘अनपेक्षित घटना’ भएको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा आफूहरुको त्यो उद्देश्य नभएको बताउँदै अब वार्ता र संवादबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अघि बढाउने आन्दोलनमा लाग्ने विज्ञप्तिमा उल्लेख छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्दा दाङ तथा यस आसपासका जिल्ला मात्र नभई समग्र ५ नम्बर प्रदेशकै जनताहरु सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने आशामा रहेको अवस्थामा त्यसैका लागि बचाउ अभियान शुरु गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । तर स्थापनाको दुई वर्ष बितिसक्दा पनि प्रतिष्ठानले आशातित गति लिन नसकेकोमा भने अभियानले असन्तुष्टि जनाएको छ । यस प्रतिष्ठानको स्थापनाकालदेखि नियुक्त उपकुलपतिको कार्यदक्षताको अभावका कारण प्रतिष्ठान जर्जर बन्न पुगेको पनि विज्ञप्तिमा जनाइएको छ । साथै विज्ञप्तिमा तत्काल शैक्षिक कार्यक्रम र अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न पनि माग गरिएको छ ।

त्यसैगरी वार्ता र संवादद्वारा सबै समस्याको समाधान हुने उल्लेख गर्दै आम नागरिकहरुलाई यो अभियानमा सहयोग गर्न समेत अभियानका संयोजक विकिरण गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी प्रतिष्ठान बचाउ अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने संवाद समूहलाई पनि धन्यवाद ज्ञापन गरिएको छ ।

‘हाम्रो अभियानको एउटै उद्देश्य भनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक कार्य अविलम्ब सञ्चालन तथा साबिकको राप्ती उपक्षेत्रीय अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई सर्वसुलभ तथा विशेषज्ञ सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नतर्फ केन्द्रित हुनुपर्ने र नभए उपकुलपति संगीता भण्डारीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने रहेको छ । यही उद्देश्य प्राप्तिका लागि हामी वार्ताबाट समस्या समाधान, र समाधान नभए जनताको आधारभूत निःशुल्क स्वास्थ्य प्राप्त गर्ने अधिकारको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यसैवर्ष नर्सिङ, फार्मेसी

र विशेषज्ञ सेवा विभिन्न आरोह र अवरोहबीच पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनतालाई प्रवाह गर्ने स्वास्थ्य सेवामा प्रतिवद्ध रहेको जनाएको छ । आन्दोलनकै क्रममा केही चिकित्सकहरुलाई बर्खास्त गरिए पनि फेरि प्रतिष्ठानमा थप चिकित्सकहरु आइसकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीले बताएकी छिन् । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनकै लागि कम्तीमा ५ जना मेडिकल अफिसर भर्ना गरिएको पनि उनले बताइन् ।

त्यसैगरी मेडिसिनतर्फ एमडिजिपी तहका अमित लाम्गाँडे, महिला तथा प्रसुतिमा बसन्त लामिछाने र श्रीविया पोखरेल, नाक, कान घाँटीमा डा. बिक्रम बुढाथोकी, छाला रोग विशेषज्ञमा डा. जेम महर्जन, रेडियोलोजीमा बम विसी, एनेस्थेसियामा राजन शाक्यले नियमित स्वास्थ्य उपचारसेवा प्रवाह गरिरहेको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी आँखा उपचार सेवा, सर्जरी सेवा दन्त उपचार सेवा तथा अत्याधुनिक प्रयोगशालासमेत सञ्चालन भइरहेको छ । साथै प्रतिष्ठानमा अतिरिक्त समयमा पेइङ क्लिनिक पनि सञ्चालन भइसकेको छ ।

त्यसैगरी नेपाल सरकारले निःशुल्क गरेको आमा सुरक्षा कार्यक्रम पनि प्रतिष्ठानको मातहतमा रहेको अस्पतालमा उपलव्ध छ । यद्यपि जनशक्तिको अभावमा रातिको समयमा यो सेवा उपलव्ध हुन नसकेको पाइएको छ । उपकुलपति भण्डारी भन्छिन्– ‘त्यो सेवालाई चौबीसै घण्टा बनाउन हामीहरु लागिरहेका छौं, यद्यपि नेपाल सरकारबाट थप बजेटको अपेक्षा हो ।’ त्यसैगरी निःशुल्करुपमा डेगुको उपचार र सिकलसेल एनिमियाको उपचार पनि भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा आन्दोलन भइरहँदा नेपाल सरकारले भने बजेटमा भारी कटौती गरेको छ । अन्य प्रतिष्ठानको तुलनामा यो प्रतिष्ठानलाई नगन्य बजेट आएको छ ।