पुर्पक्षका लागि थुनामा पठाइए महरा
गोरक्ष समाचारदाता
दाङ, १८ कार्तिक । पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको र पीडितले प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोग लागेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
आइतबार र सोमबारको थुनछेक बहस सकिएपछि सोमबार नै जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश गरेको हो । अदालतले उनलाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।
तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको पाण्डेको इजलासले निष्कर्ष निकालेको श्रेस्तेदार श्रेष्ठले बताए । यो आदेशसँगै महरा अब यो मुद्दाले अन्तिम किनारा नपाउँदासम्म थुनामा रहनुपर्ने छ । यद्यपि यो आदेश बिरुद्ध १५ दिनभित्र उनी उच्च अदालत पाटनमा पुनरावेदनका लागि जान सक्नेछन् । महराको बयान गत शुक्रबार सकिएको थियो । बयानमा उनले पीडितको घर नजिकै पुगेको तर पीडितलाई भने नभेटेको बताएका थिए भने रोशनीले गत असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास बताएकी थिइन् ।
महरालाई ‘मुलुकी अपराध संहिता २०७४ को दफा ३८ को देहाय (घ) बमोजिम कसूरको गम्भीरता बढाउने अवस्थाको भएको’ भन्दै जबर्जस्ती करणी उद्योगमा हुने सजायको डेढी सजाय हुने सरकारी वकिलको माग दाबी छ । दाङवाट निर्वाचित महराले योे घटना बाहिर आएपछि सभामुख पदबाट राजीनामा दिएका थिए ।
आलम बिरुद्ध मुद्दा दर्ता
१२ बर्ष अगाडिको रौतहटको बमकाण्डका प्रमुख आरोपी मोहम्मद अफताब आलमसहित १० जनाविरूद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले आलमसहित दशजनालाई विभिन्न तीनवटा कसुरमा अलग–अलग सजाय र एकजनालाई मतियार कायम गरी सोमबार अदालतमा अभियोग–पत्र दर्ता गरेको हो । आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दामा विभिन्न तीन कसुरमा ३२ वर्ष सजाय माग गरिएको छ ।
प्रतिवादीमध्ये कांग्रेस सांसद अफताब पक्राउ छन् भने अन्य फरार रहेका छन् । फरारका नाममा पक्राउ पूर्जी जारी गर्न पनि माग गरिएको छ । यो मुद्दामा मंगलबार अदालत खुलेलगत्तै थुनछेक बहस शुरू हुने बताइएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ ।