टप फाइबमा दाङका सिडियो
टप फाइबमा दाङका सिडियो
दाङ, १८ कार्तिक । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मूल्यांकनमा टप फाइवमा परेका छन् । सबै सुचकको मापनमा उनले ८१ नम्बर ल्याएका थिए । यो नम्बर ल्याउने मुलुकभरीका प्रमुख जिल्ला अधिकारीहरुमध्येका हुन् ।
नेपाल सरकार गृह मन्त्रालयले शान्तिसुरक्षा र सेवा प्रवाह, पारदर्शिता र समन्वय, अपराध नियन्त्रण र सुशासन, उपभोक्तामैत्री बजार व्यवस्थापन, विपत व्यवस्थापन तथा आर्थिक अनुशासनका सवालमा उल्लेख्य भूमिकालाई सूचक बनाएको थियो । साथै राजनीतिक समन्वय र सार्वजनिक जग्गा संरक्षणको अभियानमा पनि उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै उनलाई नेपाल सरकारले सम्मान गर्न लागेको हो ।
प्रमुख जिल्ला अधिकारी रिजाल यसअघि पनि संविधान सुप्रवल सेवाश्री तृतीय पुरस्कारबाट पनि सम्मानित भएका हुन् । साथै उनले जिल्लामा गरेको समन्वयकारी भूमिकाको आम नागरिकहरुले समेत उच्च प्रशंसा गरेका छन् । त्यसो त प्रमुख जिल्ला अधिकारीको सिंगै परिवार निजामती सेवामा समर्पित भएको बताइएको छ । उनको परिवारका १३ जना निजामती सेवामै रहेका छन् ।
पश्चिम नेपालको विकट बस्ती दैलेख जन्मथलो भएका प्रमुख जिल्ला अधिकारी रिजालका परिवार विगतको दुई दशकदेखि निजामती सेवामा तल्लीन रहेका छन् । संविधानको कार्यान्वयन, ऐनकानुनको पालना, सुशासन, भ्रष्टाचारमुक्त समाजको निर्माण, उपभोक्तामैत्री बजार, यात्रुमैत्री यातायात सेवा सहज र सुलभ स्वास्थ्य उपचार सेवालगायतका सामाजिक न्यायका विषयमा प्रमुख जिल्ला अधिकारीको भूमिका उल्लेखनीय रहेको थियो ।
सार्वजनिक जग्गा अतिक्रमणको सवालमा होस् वा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहज स्वास्थ्य उपचार सेवा प्रवाहका विषयमा पनि प्रजिअ रिजालको भूमिका प्रशंसनीय थियो ।